५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
खेल

विश्वकप लिग-२: नेपाल र यूएई भिड्दै

आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा शुक्रबार नेपाल र यूएई भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ।

घरेलु मैदानमा जारी शृङ्खलामा नेपालले यसअघि यूएईलाई पराजित गरिसकेको छ भने ओमानसँग हार बेहोरेको छ। सिरिजको पहिलो खेलमा यूएईलाई ३७ रनले हराएको नेपाल शुक्रबार पनि सोही नतिजा दोहोर्‍याउँदै लगातार दोस्रो जित निकाल्ने दाउमा छ। यद्यपि, अघिल्लो खेलमा नेपालसँग हारेको यूएई भने शुक्रबार घरेलु टोलीलाई स्तब्ध पार्ने योजनामा हुनेछ।

नेपालका लागि यो लिगका बाँकी खेलहरू जित्नु अत्यन्तै जरुरी छ। कुल ८ टोली सहभागी यस लिगमा नेपाल अहिले १४ अंकसहित तालिकाको सातौँ स्थानमा छ। लिग-२ को शीर्ष ६ भित्र रहँदै आफ्नो एक दिवसीय वरियता जोगाउनका लागि नेपाललाई शुक्रबारको खेलमा जित निकाल्नु अनिवार्य छ।

यसअघि बुधबार भएको सिरिजको दोस्रो खेलमा वर्षाले अवरोध गरेपछि नेपाल ओमानसँग डिएलएस विधिमा १ सय २ रनले पराजित भएको थियो। शुक्रबारको खेलमा यूएईलाई हराएर र अन्तिम खेलमा ओमानसँग हारको बदला लिएर थप ४ अंक जोड्ने रणनीतिमा नेपाल रहेको छ।

प्रकाशित: १८ वैशाख २०८३ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App