२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओली–नेपाल नदीका दुई किनारा!

समयले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई तत्कालका लागि नदीका दुई किनाराजस्तो बनाइदिएको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई मंगलबार पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि उनीहरूबीचको सम्बन्धमा थप दरारको स्थिति पैदा भएको छ। राजनीतिमा असम्भव भन्ने कुरा केही नभए पनि डेढ वर्षयता सम्बन्धमा तिक्तता आएपछि अध्यक्ष ओली नेता नेपाललाई पार्टी सदस्यताबाटै निलम्बन गर्ने तहसम्म पुगेका छन्।

पार्टीका तर्फबाट स्पष्टीकरण सोधिएपछि नेता नेपालले ओलीसँगको साढे चार दशकभन्दा लामो सम्बन्ध एकै रातमा नटुट्ने बताएका थिए। तर ओलीले नेपालको त्यो भावुकतालाई बुझेनन्, बरु कारबाही प्रक्रिया नै अघि बढाए। झापा आन्दोलन हुँदै को–अर्डिनेसन केन्द्रमा जोडिन आएका ओली र कोअर्डिनेसन केन्द्रबाटै पार्टी एकीकरण अभियान थालेका नेपालबीच करिब ४७ वर्ष लामो सम्बन्ध भए पनि ओली–नेपाल अब एकै ठाउँ बस्न नसक्ने अवस्था पैदा भएको छ।

मदन भण्डारीको मृत्युपछि कुनै बेला यी दुई नेता देशव्यापी कार्यक्रममा जाँदा एउटै जहाज र एउटै गाडीमा हिँड्दैनथे। उनीहरूमा पार्टीप्रतिको लगाव र माया भने यति धेरै थियो, कहिलेकाहीँ मनमुटाव भइहाले पनि चाँडै मिलिहाल्थे। तर डेढ वर्षअघि भदौदेखि सुरु भएको खटपटले अहिलेसम्म आइपुग्दा उनीहरूलाई करिबकरिब नदीका दुई किनारा बनाएको हो । नेकपा हुँदा ओलीलाई गरिएको कारबाही र एमाले ब्युँतिएपछि नेपालमाथि चलाइएको कारबाहीले ओली–नेपालको सम्बन्ध जटिल बन्न पुगेको हो। ओलीले कारबाही प्रक्रिया अगाडि बढाएपछि नेपालले ओली गुटले मात्रै कारबाही गरेको र त्यसको कुनै अर्थ नभएको प्रतिक्रिया दिइसकेका छन्।

दुई वर्षअघि अर्थात् २०७६ भदौ ५ गते प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर जाने क्रममा नेता नेपालले स्वास्थ्य लाभको कामना गरेका थिए। त्यसक्रममा तत्कालीन नेकपा सचिवालय बैठकमै ओली–नेपाल भनाभन भएको थियो। ओलीले आफू मरोस् भन्ने चाहेको जस्तो गम्भीर आरोप नेपालमाथि लगाएपछि विवादले चर्को रूप लिएको थियो। त्यतिबेला बैठक आरम्भ गर्दा प्रधानमन्त्री ओलीले आफू सिंगापुरमा जान लागेको र आफ्नो अनुपस्थितिमा आफूसँग सहमति लिएर पार्टीले निर्णय लिन सक्ने बताएपछि नेपालले सबै समान तहका नेता भएकाले सहमति लिनुपर्ने आवश्यकता नरहेको प्रतिक्रिया दिएकाले भनाभन भएको थियो। त्यसपछि उत्पन्न विवादले त्यतिखेर अस्तित्वमा रहेको नेकपाभित्र दुई वर्षसम्मै किचलो भइरह्यो। ओली र नेपाल फरकफरक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्।  

राजनीतिमा आउनुअघि केही समय बंैकका जागिरे नेपाल वाणिज्यशास्त्रमा स्नातक हुन्। वरिष्ठ नेता नेपाल पार्टीभित्र कुशल संगठक मानिन्छन्। उनी पार्टीमा तल्ला कमिटीदेखि नै जिम्मेवारी लिँदै सर्वोच्च पदमा आइपुगेका थिए। अध्यक्ष ओली भने २०४४ सालमा १४ वर्षे जेलजीवनपछि सिधै केन्द्रीय कमिटीमा आइपुगेका थिए। भूगोलको जिम्मेवारी लिएर काम गरेको अनुभव ओलीको तुलनामा नेपालमा कैयौं गुणा बढी छ। हाल ओली–नेपाल दुवै राजनीतिको केन्द्रमा रहने र राजनीतिलाई आफूअनुकूल केन्द्रीकरण गर्न चाहने नेताहरू हुन्।

ओली सानैदेखि संगठन गर्नेभन्दा पनि आफूलाई केन्द्रमा राखेर कुरा गर्न सक्ने खुबी भएका नेता हुन्। ओलीमा वाक्पटुता छ। उनी आफ्नो विचार र अडानमा स्पष्ट छन्। नेता–कार्यकर्तालाई उखान–टुक्का मिसिएको भाषण सुनाउन माहिर छन्। तर नेपालमा ओलीमा जस्तो वाक्पटुता छैन। नेपालमा सबैलाई मिलाएर लैजाने क्षमता भने छ। नेपालको राजनीतिमा उनले इमानदार नेताको छवि बनाएका छन्। २०६४ सालमा पार्टीले निर्वाचनमा पराजय भोगेपछि उनले पार्टी महासचिवबाट राजीनामा दिएका थिए। त्यस्तै २०६८ सालमा आफूविरुद्ध केन्द्रीय सदस्यहरूले सरकारबाट फिर्ता गर्न बैठक राख्ने जनाएपछि उनले प्रधानमन्त्रीबाट पनि राजीनामा दिएका थिए।

एमालेको सातौं महाधिवेशनपछि ओलीले आफूलाई पार्टीभित्र चल्नै नदिएपछि नेपालले ओली समूहबाट केन्द्रीय सदस्य हारेका १४ जनालाई एकैपटक केन्द्रीय कमिटीमा प्रवेश दिएर पार्टीभित्रको सन्तुलन मिलाएका थिए। त्यसपछि आठौं महाधिवेशनमा झलनाथ खनाल अध्यक्ष भएपछि ओलीले कैयौंपटक गुट भेला गर्दा नेपाल–खनालले ओलीलाई कुनै प्रतिक्रिया दिएनन्। त्यतिबेला ओलीमाथि देशभरका ‘गुन्डाहरू’ लाई पार्टीमा प्रवेश गराएको आरोप लागेको थियो। तत्कालीन अध्यक्ष खनालविरुद्ध पार्टीको छुट्टै गुट बनाएर भेला गर्दा उनलाई कुनै प्रकारको कारबाही गरिएको थिएन। त्यतिबेला ओलीका क्रियाकलापप्रति नेपालले मौनता साँधेका थिए। यसले गर्दा नेपालले पार्टीभित्र आफूलाई समन्वयकारी नेताका रूपमा चिनाएका छन्। तर ओली मनोगतवादी र एकलकाँटे प्रवृत्ति भएका नेता हुन्। ओली आफ्नो अडान हत्तपत्त छाड्न चाहँदैनन्। तर नेपाल भने आवश्यकताका आधारमा अडानमा लचिला पनि छन्।

ओली–नेपालबीचको विवाद र बेमेलका अनेक प्रसंग छन्। तत्कालीन नेकपाभित्र आफ्नो समूहका नेताहरूलाई पेल्ने रणनीतिमा ओली लागेका, वरीयताका विषयमा झलनाथ र आफ्ना बीचमा नियोजित रूपमा खेल्ने कोसिस गरेको भन्दैै नेपाल ओलीसँग रुष्ट थिए। प्रदेश पदाधिकारी चयनदेखि पछिल्लो सचिवालय बैठकसम्म आइपुग्दा पार्टी निर्णयमा नेपालले दुईपटक आफ्नो लिखित फरक मत राखिसकेको भए पनि त्यसलाई ओलीले रद्दीको टोकरीमा मिल्काइदिएका थिए।

करिब १४ वर्ष महासचिवका रूपमा पार्टीको नेतृत्व गर्दा पनि नेपालको पार्टीभित्रको प्रतिस्पर्धा ओलीसँगै चल्यो। २०५६ सालको संसदीय चुनाव र सातौं महाधिवेशनका बेलामा पनि ओली–नेपालबीच नै अन्तरविरोध देखा परेको थियो। त्यसबेला ओलीले पार्टी महासचिव नेपाल भएकाले दलका नेता आफू बन्न चाहेका थिए तर नेपालले दिएनन्। त्यसपछि नै ओलीले पार्टीभित्र गुट बनाउँदै आफूलाई शक्तिमा ल्याउने प्रयास थालेका हुन्। २०७० सालको संसदीय दलको चुनावपछि पनि यी दुई नेताका बीचमा तिक्तता देखियो। पार्टीको आठौं महाधिवेशनमा ओलीलाई काँध थापेका नेपाल दलको चुनावमा तत्कालीन अध्यक्ष खनालका पक्षमा थिए तर बाजी भने ओलीले नै मारे। ‘नेतृत्व हस्तान्तरण, उमेर पुगेका नेताहरूको अवकाश र नयाँ पुस्तालाई अवसर’ भन्ने नारा लिएर ओली दलको चुनावमा खनालसँग भिड्न पुगेका थिए।

तर २०४८ यता पार्टी नेतृत्वमा रहेका व्यक्ति नै दलको नेता बन्ने परम्परा एमालेमा थियो। त्यो ओलीले भंग गरिदिए। खनाल पार्टी अध्यक्ष हुँदाहुँदै पनि उनले खनाललाई चुनावमा पराजित गरिदिएपछि तत्कालीन एमालेमा तरंग उत्पन्न भएको थियो। ओलीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा सत्ता सहयात्री तत्कालीन माओवादीले समर्थन फिर्ता लिएर अविश्वास प्रस्ताव दर्ता गरायो। त्यसबेला नेपालले ओलीको बचाउ गर्नुको सट्टा संसद्मा कार्यशैलीगत कमजोरीको प्रश्न मात्रै उठाइदिए। त्यसपछि त झन् ओली–नेपाल द्वन्द्व अस्वाभाविक रूपमा चुलियो। त्यसअघि माधव नेपालले ओलीको बचाउमा लागेका धेरै प्रसंग छन्। जस्तो कि २०६३ सालमा नेपालले ओलीका लागि राजनीतिक जोखिम मोलेका छन्। अर्थात्, नेपालले ओलीलाई सहयोग गरेका थिए।

२०६२/६३ सालको जनआन्दोलनपछि १५ वैशाखमा तत्कालीन एमालेको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकमा स्थायी कमिटीको बैठकमा ओलीमाथि गणतन्त्रविरोधी भएको आरोप लागेको थियो। त्यतिबेला धेरै नेताले सरकारमा जाने रहर गरेका थिए। रहर गर्नेमा ओली, झलनाथ खनाल, ईश्वर पोखरेल, अमृत बोहोरालगायत थिए। त्यतिबेला नेपालले ओलीको नाम प्रस्ताव गरे। ओलीको नेतृत्वमा एमाले सरकारमा सहभागी बन्यो। दोस्रोपटक प्रधानमन्त्री बन्ने बेला पनि ओलीलाई नेपालले सहयोग गरेका थिए। नेपालकै प्रस्तावमा ओली प्रधानमन्त्री भएका हुन्। यद्यपि २०७१ सालमा एमालेको नवौं महाधिवेशनमा नेपाल ओलीसँग पराजित भए। करिब ४३ मतले मात्रै पराजित भएका नेपाललाई ओलीले भित्तामै पुग्नेगरी पेलेपछि अहिले एमालेभित्र अलगअलग भेला सम्मेलन र कार्यक्रम गर्नेसम्मको अवस्था आइपुगेको छ। त्यति मात्र होइन, ओलीले नेपाललाई पार्टी सदस्यताबाट ६ महिनाका लागि निलम्बन गरेका छन्।

प्रकाशित: १७ चैत्र २०७७ ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App