७ वैशाख २०८१ शुक्रबार
राजनीति

दरार मेटाउने प्रयासमा दाहाल–भट्टराई

नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगको पुरानो सम्बन्धलाई पुनः दोहोर्‍याउन खोजेको प्रस्ट हुन्छ । अहिले अलगअलग दलमा भए पनि यी दुवै नेता शीर्ष स्थानमा छन् ।

दाहाल–भट्टराई सम्बन्ध निकै पुरानो हो । १० वर्षे माओवादी जनयुद्धभर उनीहरू एकै ठाउँमा रहे । माओवादी शान्ति प्रक्रियामा आएपछि भने उनीहरू लामो समय सँगै रहन सकेनन् । राजनीतिक रूपमा टकराव हुन थालेपछि उनीहरूबीचको सम्बन्धमा दरार आयो । त्यसपछि भट्टराईले तत्कालीन माओवादी पार्टी त्यागेर नयाँ शक्ति नामक अर्को पार्टी खोले । त्यसको केही समयपछि उनले तत्कालीन मधेसी जनअधिकार फोरमसँग आफ्नो पार्टीलाई एकीकृत गराए ।

तत्कालीन माओवादीमा रहँदैखेरि दाहाल–भट्टराईबीच पैदा भएको तिक्तता लामो समय कायम रह्यो । पछिल्लो समय भने भट्टराईसँग विगतमा बिग्रिएको सम्बन्धलाई पुनर्ताजगीकरण गर्ने प्रयासमा दाहालले सक्रियता बढाएका हुन् । भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार एक÷डेढ महिनाका बीचमा दाहाल–भट्टराईबीच तीनपटक एक्लाएक्लै भेटवार्ता भइसकेको छ । उनीहरूबीच अरू संयुक्त भेटघाट भने धेरैपटक भएको हुन सक्ने आँकलन उनले गरे । भेटको उद्देश्य केपी ओली नेतृत्वको वर्तमान सरकार ढाल्ने र अहिलेको संकटलाई निकास दिनेमै केन्द्रित हुने गरेको उनले जानकारी दिए ।

करिब डेढ महिनाअघि तत्कालीन नेकपा (दाहाल–नेपाल पक्ष) ले पहिलोपटक काठमाडौंमा प्रदर्शन गरेको दिन दाहालले भट्टराईलाई भेटेका थिए । उक्त भेटघाटको चाँजोपाँजो उपराष्ट्रपति नन्दकिशोर पुनले मिलाएका थिए । माओवादी जनयुद्धताका दाहाल, भट्टराई र पुनबीच विशेष सम्बन्ध रहेको बताइन्छ । सो भेटघाट उपराष्ट्रपति निवासमै भएको थियो ।  

त्यसको केही समयपछि दाहाल फेरि टोखास्थित भट्टराई निवासमै पुगेका थिए । पछिल्लो भेट अघिल्लो शनिबार भएको थियो । सो दिन पनि दाहाल भट्टराई निवासमै पुगेका थिए ।

पछिल्लो राजनीतिक खिचातानीमा भट्टराईले दाहाललाई साथ दिँदै आएका छन् । दाहाल कुनै पनि अवस्थामा ओली सरकार ढाल्न चाहन्छन् । त्यसका लागि उनले जसपाको साथ खोजेका छन् । कसलाई साथ दिने भन्ने विषयमा जसपा विभाजित छ । भट्टराईलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले साथ दिएका छन् । जसपाभित्रको विवादमा भट्टराई र यादव एकै ठाउँमा उभिएका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो अर्को कित्तामा छन् । भट्टराई र यादवका कारण जसपा प्रधानमन्त्री केपी ओली कित्तामा जान सकेको छैन ।

भट्टराई र यादव कुनै पनि अवस्थामा ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । यी दुई नेता अहिले माओवादी केन्द्रसँग निकट मानिएका छन् । त्यसो त जसपाका अध्यक्ष यादवसँग पनि दाहालको पुरानो सम्बन्ध हो । कुनै बेला यादव पनि तत्कालीन माओवादी पार्टीमै आबद्ध थिए । माओवादी जनयुद्धकै बेला उनी माओवादी पार्टीबाट अलग भएका थिए र मधेसी जनअधिकार फोरम गठन गरेका थिए । विभिन्न राजनीतिक आरोहअवरोरहसँगै अहिले भट्टराई र यादव एकै पार्टीमा आइपुगेका छन् ।

भट्टराईका सहयोगी पोखरलले दाहालले भट्टराईलाई भेट्नुको मुख्य उद्देश्य पुरानो सम्बन्धलाई स्मरण गराउनुभन्दा पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्नु रहेको बताए । ‘उहाँहरूबीच पुरानो सम्बन्ध होला तर त्योभन्दा ठूलो अहिलेको संकटलाई कसरी टार्ने भन्ने विषयमा कुराकानी हुने गरेको छ,’ पोखरेलले भने । नयाँ सरकार निर्माणको विषयमा छलफल गर्न भट्टराई पनि पटकपटक माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । यसबीचमा माओवादी केन्द्र र जसपाका नेताहरूबीच पटकपटक कुराकानी भएको छ । जुन कुराकानीमा भट्टराई सहभागी हुने गरेका छन् ।

प्रकाशित: ८ चैत्र २०७७ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App