४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले विवाद उत्कर्षमा

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेभित्रको विवाद थप उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते केन्द्रीय सदस्यहरूको बैठक राखेर माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला गर्दैछ। फागुन २८ गतेको निर्णय मान्य नहुने भन्दै नेपाल समूहले देशभरका कार्यकर्तालाई काठमाडौं बोलाएर भेला आयोजना गर्न लागेको हो। ओलीले सो भेलामा सहभागी भए कारबाही गर्ने धम्की दिएका छन् तर नेपाल समूहले कारबाही सहन लामबद्ध रहेको जनाएको छ।  

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र पुरानो विवाद झन् बढेको छ। ओली पक्षले नेपाल समूहको जिम्मेवारी खोस्दै लगेपछि विवाद उत्कर्षमा पुगेको हो। हाल नेपाल पक्षले देशव्यापी रूपमा आफ्नो तहबाट एमालेभित्र समानान्तर कमिटी बनाउन लागेको छ। ‘बुधबार सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलामा दुई हजार पाँच सय कार्यकर्ता सहभागी हुँदैछन्। पार्टी एकता जोगाउन र पार्टीलाई अझ बलियो बनाउन भेला आयोजना गरिएको हो’, नेपाल पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भने। उनका अनुसार भेलाको सबै तयारी पूरा भइसकेको छ। नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेपछि सोमबार बिहान एमाले पार्टी कार्यालय धुम्बाराहीमा ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा जुटेका थिए।  

ओलीले फागुन २८ गतेको निर्णयबाट पछि नहट्ने बताएपछि छलफल बिनानिष्कर्ष टुंगिएको थियो। फागुन २८ को निर्णय नसच्याउने हो भने चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने नेपालले जनाएका थिए। मंगलबार बिहान ओलीले बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाल समूहका कोही पनि सहभागी भएनन्। ओलीले चियापान कार्यक्रममा सम्बोधन गर्दै नेपाल समूहको भेलामा गए कारबाही गर्ने चेतावनी दिए। त्यसपछि नेपाल समूहले आयोजना गरेका पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरू कारबाही भोग्न तयार रहेको बताए। उनले प्रधानमन्त्री ओलीलाई भेलामा सहभागी हुन र भेलाको उद्घाटन गर्नसमेत आग्रह गरेका थिए। भेलामा आउने नेता–कार्यकर्ता एमालेकै भएको भन्दै भेलाको उद्घाटन गर्न ओलीलाई आग्रह गरेका हुन्।  

ओलीले भेलामा जानेहरूमाथि नजर लगाइनेछ भनेपछि प्रतिउत्तरमा भट्टराईले भेलामा सहभागी हुनेहरूका लागि नजर लगाउन कसैलाई खटाउन पर्दैन भनेका थिए। ‘तपाईं नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस्, नजर लगाउन कसैलाई खटाउनै पर्दैन। यो भेलामा देशभरबाट कोको आएछन्, तपाईं नै आएर हेर्नुहोस् र आतिथ्य ग्रहण गर्नुहोस्। उद्घाटन गर्नुहोस्। देशभरबाट आएका तपाईंकै कार्यकर्ता हुन्, केन्द्रीय सदस्य हुन्। के भन्नुपर्ने हो, उहाँहरूलाई भन्दा हुन्छ’, ओलीलाई लक्षित गर्दै प्रचार विभाग प्रमुख भट्टराईले भने। उनले कारबाही गर्ने भन्ने ओली अभिव्यक्तिलाई अहंकारको संज्ञा दिए। ‘अहंकारपूर्ण अभिव्यक्ति हो। हामीलाई कुनै दुःख छैन। हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध छौँ। त्यसमा हामीलाई कुनै पश्चात्ताप हुनेछैन। हामी मुलुक, संविधान, जनसमर्थनको रक्षाका निम्ति उभिएका मानिस हौं। हामीलाई त्यसका कुनै हीनताबोध छैन। त्यसैले तपाईंले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौँ’, उनले ओलीलाई लक्षित गर्दै थपे।

ओलीले मंगलबार बिहान सांसद र केन्द्रीय सदस्यहरूलाई चियापानका लागि बोलाएका थिए। त्यस क्रममा उनले नेपाल समूहले पार्टी फुटाएको आरोप लगाएका थिए। नेपाल पक्षले गर्न लागेको राष्ट्रिय भेलाबाट समानान्तर कमिटी मात्रै नभएर छुट्टै पार्टी नै बनाए पनि केही गर्न नसक्ने उनको भनाइ थियो। ‘पार्टी आफ्नोआफ्नो भयो, हिजो ०७५ जेठ ३ गते अघि फर्कियो भनेपछि पनि केही मानिसहरू छुट्टै भेला, छुट्टै बैठक गरिरहेका छन्, निहुँ खोजिरहेका छन्। ७ गते फेरि केन्द्रीय कमिटीको बैठक बालाइएको छ। उहाँहरू भोलि राष्ट्रिय भेला गर्ने, भेला बोलाउने सुन्दैछु, प्रतिवेदन पास गर्ने रे भनिरहेको पनि सुन्छु। राष्ट्रिय भेलाबाट केके समानान्तर कमिटी बनाउने रे। समानान्तर होइन अर्को कमिटी बन्ला। कसैले अर्को पार्टी बनाए के गर्न सकिन्छ र’, प्रधानमन्त्री ओलीले भनेका थिए।

प्रकाशित: ४ चैत्र २०७७ ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App