८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वमन्त्रीको सुरक्षाकर्मी फिर्ता प्रचार मात्रै

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरू फिर्ता गरिएको प्रचारवाजी गरिएपछि त्यो धेरै समय टिकेको छैन। गत मंसिरमा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ पारित गरेर धेरैजसो नेताहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको थियो। तर त्यसको दुई महिना पनि नपुग्दै सरकारले नेपाली कांगेसका ११ जना र अन्य दलका ३ जना गरी १४ जनालाई सुरक्षा थ्रेट भएको भन्दै पुनः सुरक्षाकर्मी खटाएको छ। पूर्वमन्त्री तथा मन्त्रीहरूको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गराए पनि उनीहरूले गृह मन्त्रालयमा निवेदन दिँदै पुनः लगेका छन्।

सरकारले नयाँ कार्यविधि ल्याएर तत्कालीन राजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतका नेताका सुरक्षाकर्मी फिर्ता बोलाए पनि नेपाली कांगेसलगायतका १४ जना पूर्वमन्त्रीहरूले निजी सुरक्षाका लागि गृहमा सुरक्षा थ्रेट भएको निवदेन हालेर पुनः सुरक्षाकर्मी लगेका हुन्। यसअघि कांग्रेस नेताहरू रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्काले ४/४ जना फिर्ता गरेकोमा उनीहरूलाई सरकारले पुनः पठाएको छ। त्यस्तै प्रकाशशरण महत, रामशरण महत, विमलेन्द्र निधिले गोपालमान श्रेष्ठ, गोविन्दराज जोशी र अर्जुननरसिंह केसीलाई पुनः सुरक्षाकर्मी खटाइएको छ। त्यस्तै जनता समाजवादीका नेता राजेन्द्र महतोले पनि सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी माग गरेपछि उनलाई पनि मन्त्रालयले सुरक्षाकर्मी दिइएको छ। अहिले सुरक्षाकर्मी माग गर्ने सबैबाट सुरक्षाकर्मीहरूलाई यसअघि नै सरकारले फिर्ता गरेको थियो।  

सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट खटिएका ५ सयभन्दा बढी सुरक्षाकर्मी फिर्ता भए पनि पूर्वमन्त्रीहरूले मन्त्रालयमा निवेदन दिएरै पुनः लगेका हुन्। ‘केही पूर्वमन्त्री र नेताहरूले मन्त्रालयमा आफूहरू सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षाकर्मी माग्नु भएको थियो त्यही अनुसार उहाँहरूलाई सुरक्षाको व्यवस्था गरिएको छ’, मन्त्रालय स्रोतले भन्यो। पूर्व राजा पूर्व प्रधानमन्त्रीको मात्रै सुरक्षाकर्मी फिर्ता बोलाएकोमा आलोचन भएपछि उनीहरूको मात्र नभई पूर्वमन्त्रीबाट पनि सुरक्षाकर्मी फिर्ता गरिएको जनाएको थियो। पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरू तथा नेताहरूको सुरक्षामा खटिएकालाई समेत फिर्ता बोलाइएको मन्त्रालयले जनाएको थियो। यसअघि गृहको निर्देशनपछि पूर्व प्रहरी प्रमुख तथा अन्य विशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो। नेपाल प्रहरीले पूर्वआइजीपी, पूर्व एआइजी र डिआइजीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाएको थियो। त्यस्तै सशस्त्र प्रहरीले पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका व्यक्तिहरूको सुरक्षाकर्मी फिर्ता बोलाएको थियो।  

नयाँ कार्यविधि लागु भएपछि गृहको निर्णय कार्यान्वयन गर्न सुरक्षाकर्मी फिर्ता बोलाइएको जनाउने नेपाल प्रहरीले अहिले पुनः पठाउदा पनि गृहकै निर्णय कार्यान्वयन गरेको जनाएको छ। विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७७ पास भएपछि पूर्व भिभिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइएको थियो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कार्यविधिअनुसार नै फिर्ता गरिएको र सुरक्षा थ्रेट विश्लेषण भएर आएकाहरूलाई पठाउन सकिने कार्यविधिअनुसार पठाउन सकिने बताए। तर उनले पुनः सुरक्षाकर्मीहरूलाई पूर्वमन्त्रीको सुरक्षाका लागि खटाइएको बारेमा आफूलाई जानकारी नभएको बताए। विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि गत मंसिरमा पास भएपछि गृह मन्त्रालयले पूर्वराजा तथा पूर्वप्रधानमन्त्रीहरू र पूर्वमन्त्रीहरूको सुरक्षाकर्मी फिर्ता गरेको थियो। तर सो कार्यविधिअनुसार पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र देउवा पत्नी आरजु देउवा र छोरा जयविरसिंह देउवाको सुरक्षामा खटिएका सुरक्षाकर्मी भने यथावत रहेका थिए। ‘देउवा परिवारलाई दिइएको सुरक्षाकर्मी भने यसअघि पनि फिर्ता गरिएको थिएन,’ स्रोतले भन्यो।  

पूर्वगृहमन्त्री भीम रावल र जनार्दन शर्माले ८/८ जना सुरक्षाकर्मी फिर्ता गरेका थिए। उनीहरूले भने अहिले सुरक्षाकर्मी लिएका छैनन्। ‘अधिकांश नेताहरूले सुरक्षाकर्मीहरू फिर्ता गरेका थिए तर अहिले भने सुरक्षा थ्रेट भएको भन्दै पूर्वमन्त्रीहरूको निवेदन आइरहेका छन्,’ गृह मन्त्रालय स्रोतले भन्यो। स्रोतका अनुसार सुरक्षाकर्मी माग गर्ने बहानामा उनीहरूले घरमा काम गर्ने र सवारी चालकहरू लैजाने गरेका छन्। ‘सवारी चालकलाई छुट्टै पैसा दिनुपर्ने तर सुरक्षाकर्मी लगेपछि त उनीहरूलाई सरकारी तलब दिए पुग्ने भएकै कारण धेरैजसोले सुरक्षाकर्मीको नाममा चालक र घरेलु कामदारका रूपमा लैजाने गरेका छन्,’ मन्त्रालय स्रोतले भन्यो।

प्रकाशित: २८ फाल्गुन २०७७ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App