३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नयाँ गठबन्धन कसरत

दाहालले भेटे देउवा र भट्टराई, एमाले–जसपा छलफल

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।

यति बेला प्रधानमन्त्री केपी ओली आफ्नो पक्षमा बहुमत जुटाउन सक्रिय छन् तर उनलाई माओवादी केन्द्रले समर्थन गर्ने सम्भावना कमजोर बनेको छ। माओवादीले जुनसुकै बेला समर्थन फिर्ता लिने सम्भावना रहेपछि ओलीले वर्तमान सरकारलाई निरन्तरता दिन जनता समाजवादी पार्टीसँग छलफल अघि बढाएका छन्। प्रतिनिधिसभाको रिक्त उपसभामुखसहित जसपासँग सत्तासाझेदारी गर्नेगरी ओलीले आफू निकटका नेतालाई वार्तामा खटाएका छन्।  

एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ, राजन भट्टराईसहितले जसपाका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग कुरा गरेका छन्। ओली सरकारको विपक्षमा रहेका बाबुराम भट्टराई, उपेन्द्र यादव पक्षसँगको सहमतिबिनै महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले छलफल अघि बढाएको हो।  

यसबाट जसपाभित्र पनि सत्तासाझेदारीका विषयमा विवाद बढ्ने देखिएको छ। यद्यपि सो पार्टीको साँझ बसेको संसदीय दलको बैठकले अन्य राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ताटोली गठन गरेको छ। राजनीतिक मुद्दाको आधारमा राजनीतिक दलसँग सहकार्य गर्ने जानकारी दिँदै जसपा नेता शरद्सिंह भण्डारीले भने, ‘हामीले सरकार बनाउने अवस्था छैन। अहिलेसम्म कुनै पार्टीले सत्ता साझेदारीका लागि प्रस्ताव गरेको पनि छैन।’ प्रतिनिधि सभामा १ सय २१ सिट रहेको एमालेलाई जसपाको समर्थन भए अहिलेको सरकारले निरन्तरता पाउनेछ। जसपासँग प्रतिनिधिसभामा ३४ सांसद् छन्।  

उता माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जसपासँग सहकार्यको हात बढाएको छ। दुवै दलसँग छलफल अघि बढाउने निर्णय भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा नेता बाबुराम भट्टराईसँग कुरा गरेका छन्। देउवालाई भेट्न दाहाल बुढानीलकण्ठ पुगेका थिए। सत्ता सहकार्यसहित मिलेर अघि बढ्न दाहालले देउवालाई प्रस्ताव गरेका छन्। देउवाले पार्टीभित्र छलफल गरेर छिटै जानकारी गराउने आश्वासन दाहाललाई दिएका छन्। दाहालले मिलेर अघि बढ्न प्रस्ताव राखेको जानकारी दिँदै कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘विकसित राजनीतिक घटनाक्रमका विषयमा दुई नेताबीच कुरा भएको छ। माओवादी केन्द्रका अध्यक्षले मिलेर जाऊँ भन्ने प्रस्ताव गर्नुभएको छ। सभापतिले पार्टीमा छलफल गरेर छिटै खबर गर्ने बताउनुभएको छ।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मुखमा २०७४ असोजमा सत्तासाझेदारी तोड्दै एमालेसँग मिल्न गएपछि देउवा दाहालसँग रुष्ट छन्। मंगलबारको भेटका क्रममा सरकारको नेतृत्व लिन आफू हतारिने पक्षमा नरहेको सन्देश देउवाले दाहाललाई दिएको स्रोतको दाबी छ। एमाले र माओवादीभित्रको विवाद कसरी अघि बढ्छ भन्ने निश्चित भइनसकेको ठहर गर्दै कांग्रेस केही समय ‘पर्ख र हेर’ को नीतिमा रहेको स्रोतको दाबी छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले अहिले नै सरकार वा सरकारबाहिर भन्ने बहसमा प्रवेश गर्ने बेला नभएको बताएका छन्। भरखर त नयाँ खेला सुरु भएको छ भन्दै महामन्त्री खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले फेरि काग्रेसको काँधमा धैर्य, संयय र समयअनुसार उपयुक्त निर्णय गर्ने ऐतिहासिक दायित्व आएको छ। अहिले नै सरकार वा सरकारबाहिरको बहसमा प्रवेश गर्ने बेला भएको छैन। भरखर त नयाँ खेला सुरु भएको छ, परिपक्वता र साहसिक निर्णय कांग्रेसबाट देशले फेरि माग गर्दै छ, धैर्यवान बनौं।’  

६३ सांसद भएको कांग्रेस, ५३ सांसद भएको माओवादी केन्द्र र ३४ सांसद भएको जसपाले ओलीको विकल्पमा नयाँ सरकार दिन सक्छन्। तर कांग्रेसले अग्रसरता नलिएसम्म नयाँ सरकार गठनको सम्भावना हुँदैन। ओली नेतृत्व सरकारलाई कांग्रेसले समर्थन गर्ने अवस्था पनि नरहेको कांग्रेस नेताहरू बताउँछन्। ‘ओलीको विकल्प दिन कांग्रेसले माओवादी र जसपालाई साथ लिएर अघि बढ्नुपर्ने हो,’ कांग्रेसका एक नेताले भने, ‘सभापतिजी किन त्यसका लागि तयार देखिनुभएको छैन, मैले बुझिरहेको छैन ?’

कांग्रेस अघि नबढ्दा ओली नेतृत्वकै सरकारले निरन्तरता पाउने सम्भावना रहेको विश्लेषण सुनाउँदै ती नेताले अस्तिसम्म विश्वासको मत नलिने, अविश्वास प्रस्तावको सामना गर्ने बताउँदै आएका प्रधानमन्त्री अहिले विश्वासको मत लिने भन्नेमा पुगेको सुनाए। कांग्रेसले ओलीलाई समर्थन गर्न नसक्ने र जनता समाजवादी पनि विभाजित हुनसक्ने आशंका व्यक्त गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले विश्वासको मत पनि गुमाउने, संसद्ले नयाँ सरकार पनि दिन नसक्ने अवस्था आउन सक्छ।’ त्यस्तो अवस्थामा मुलुक ढिलोचाँडो निर्वाचनमा प्रवेश गर्नसक्ने जनाउँदै स्रोतले भन्यो, ‘प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम ठीक रहेको साबित गर्न अहिले पनि लागि परेका छन्।’

प्रकाशित: २६ फाल्गुन २०७७ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App