प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एसिड आक्रण गर्नेलाई कानुन संशोधन गरेर सार्वजनिक कडा सजाय दिने व्यवस्था गर्नुपर्ने बताएका छन्। एसिड आक्राण गर्नेविरुद्ध कठोर कानुनको खाँचो औल्याउँदै मुख्यमन्त्री राउतले सार्वजनिकस्थलमा नै दण्डित गर्ने कानुन ल्याउनुपर्ने जिकिर गरेका हुन्।
एसिड आक्रमण पीडित धनुषाकी आरती साहलाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्मान गर्दै मुख्यमन्त्री राउतले भने, ‘महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानुनलाई सशक्त रूपमा कार्यान्वयन गर्नुपर्छ। महिला सशक्त र सुरक्षित भए मात्र प्रदेशको विकास सम्भव छ।’ उनले शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि रहेको महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। प्रदेशका छोरीहरूलाई शिक्षित सबल र सशक्त बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई अगाडि बढाएको बताउँदै मुख्यमन्त्री राउतले महिला हिंसा, दाइजो प्रथा, बालविवाह जस्ता कुरीतिविरुद्धको कानुन सशक्त रूपमा पालना गरेर अघि बढनुपर्ने बताए।
प्रदेश सरकारले ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत कक्षा ८ का १५ सय २० छात्रालाई मुख्यमन्त्री राउतले साइकल प्रदान गरे। धनुषाको २७ विद्यालयका १ हजार ५ सय २० छात्रालाई साइकल वितरण गरेको हो। छात्रालाई साइकल दिँदै मुख्यमान्त्री राउतले प्रदेश सम्पूर्ण सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई साइकल उपलब्ध गराउने तयारी गरेको बताए।
‘सरकारले उपलब्ध गराएको साइकलले मात्रै महिला सशक्त हुँदैन,’ मुख्यमन्त्री राउतले भने, ‘छात्रालाई साइकल वितरणले समाजिक रूपान्तरणका लागि सहयोग मिल्ने छ। साइकलले समाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, गर्नेछ। साइकलले समाजिक रूपान्तरणमा महरूवपूर्ण भूमिका निर्वाह गरेको जिकिर गर्दै मुख्यमन्त्री राउतले यसलाई रूपान्तरणको पहिलो खुड्किला भएको बताए।
प्रदेश सरकारले यसअघि २०७५/०७६ मा २ सय ६१ विद्यालयका १४ हजार छात्राहरूलाई साइकल वितरण गरिसकेको छ। ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत यसवर्ष कक्षा ८ मा अध्ययनरत २० हजार छात्राहरूलाई साइकल वितरण गर्ने प्रदेश सरकारको तयारी छ।
प्रकाशित: २५ फाल्गुन २०७७ ०२:०३ मंगलबार