१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अन्यौलपूर्ण स्थितिको अन्त्य गर्न केपी ओलीले राजीनामा दिनुपर्छ : चित्रबहादुर केसी

फाइल तस्बिरः नागरिक

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिएर राजनीतिक निकास दिन आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गरेर जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। ‘जटिल समस्या र अन्यौलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

उनले नेकपाभित्रको अन्तरविरोधको मुख्य कारण ओलीको व्यक्तिवादी र अराजक कार्यशैली नै जिम्मेवार रहेको आरोप समेत लगाएका छन्।

साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई घटक (एमाले र माओवादी) बीच कार्यगत एकता गरेर सरकार गठन गर्नु नै अहिलेको उपयुक्त विकल्प हुने केसीको ठहर छ।  

नेकपाको एकीकरण भएर वा त्यसका दुई घटक बीचमा कार्यगत एकता गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो,’ अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नुपर्छ।’

नेकपा विभाजनबाट गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि खतरा पैदा हुने उनको भनाई छ।

आइतबार सर्वोच्च अदालतले सत्तारूढ नेकपाको नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएको थियो।  

प्रकाशित: २४ फाल्गुन २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App