coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीलाई पार्टी सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल समूहको अन्तिम तयारी

स्पष्टीकरण प्रक्रिया वहानमात्र

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले ओलीलाई पार्टी सदस्यबाट हटाउने अन्तिम तयारी थालेको छ। गत शुक्रबार (माघ २ गते) बसेको प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी बैठकले पार्टीको विधान, उद्देश्य र लक्ष्य विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई ‘पार्टी सदस्यबाट किन नहटाउने’ भनेर स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सोमबार स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेर पत्र बुझाएका छन्।  

तर, पार्टी अनुशासनको उलङ्घन गरेको आरोपमा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको प्रचण्ड–नेपाल समूहले उनलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी गरेको छ।  

स्रोतका अनुसार पार्टीको विधानमा भएको प्रक्रिया पुर्‍याउनको लागि मात्र ओलीलाई स्पष्टिकरण सोध्ने पत्र पठाइएको हो। ओलीले कुनै हालतमा प्रचण्ड–नेपाल समूहलाई स्पष्टीकरण नदिने र त्यही बहानामा उनलाई पार्टीको साधारण सदस्यबाटै हटाउने तयारी गरिएको स्रोतको दाबी छ।

‘पार्टीको विधानमा कुनैपनि सदस्यलाई अन्तिम कारबाही गर्नुभन्दा अगाडि एकपटक स्पष्टीकरणको मौका दिइनेछ भन्ने व्यवस्था छ। त्यही बाध्यताका कारण ओलीजीलाई प्रक्रिया पुर्‍याउनको लागि मात्र स्पष्टीकरण सोध्न लागिएको हो,’ एक जना स्थायी कमिटी सदस्यले नागरिकलाई भने,‘विधानअनुसार पत्र बुझाएको ३ दिनभित्र ओलीले स्पष्टीकरण दिनुपर्ने हुन्छ। तर, ओलीजीले स्पष्टीकरण दिनुहुन्न भन्ने थाहा छँदै छ। त्यसपछि स्पष्टीकरण नदिएको बहानामा उहाँलाई पार्टी सदस्यबाटै हटाउने प्रक्रिया स्वभाविक रुपमा अघि बढ्छ।

तर, प्रचण्ड–नेपाल पक्षीय स्थायी कमिटी सदस्य बेदुराम भुसाल ओलीले गल्ती स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्‍याउने बाचा गरेमा पार्टीले क्षमा दिनसक्ने बताउँछन्। ‘पार्टीले आज (सोमबार) प्रधानमन्त्रीज्यूलाई स्पष्टीकरण पत्र पठाएको छ। उहाँले गल्ती स्वीकार गर्नुभयो भने पार्टीले क्षमा दिनसक्छ,’ भुसालले भने।  

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि आक्रोशित बनेको प्रचण्ड–नेपाल समूहले पुस ७ गतेको केन्द्रीय सदस्यहरुको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाएर उनको ठाउँमा वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाएको थियो। 

प्रकाशित: ५ माघ २०७७ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App