नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन्। ओली पक्षीय नेकपाको प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङले विधानअनुसार पार्टीको प्रथम अध्यक्ष ओली र महासचिव भएको आफूहरुको पार्टी ने आधिकारिक पार्टी भएको बताएका हुन्।
‘हाम्रा प्रत्यक निर्णयहरुमा केपी ओलीको हस्ताक्षरले मात्रै सबै काम कारबाही भएका कुराहरु हामीले निर्वाचन आयोगमा पठाएका छौं। उहाँहरुले निर्वाचन आयोगमा बुझाएको पत्रमा महासचिव त छँदै रहनेछ। त्यो अचम्म होइन। त्यसैले हाम्रो भनाई छ। प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल जहाँ छ त्यहीनिर पार्टी छ,’ सम्बोधनका क्रममा उनले भने,‘हाम्रो पार्टीको विधानअनुसार पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा महासचिवले बैठक बोलाउँछ। महासचिव नै नभएको बैठक बोलाएर हाम्रा कमरेड केपी ओलीलाई कारबाही गर्नुभएछ? हुँदा हुँदा आज त महासचिव नै निकालिदिनुभएछ। कसरी?’
उनले अहिलेको सरकार काम चलाउन नभएको पनि दाबी गरे। उनले अहिलेको सरकारले सम्पूर्ण कामहरु गर्नसक्ने जिकिर समेत गरे। ‘अहिलेको सरकार काम चलाउन होइन। यो सरकारले एउटा सरकारले काम गर्ने सबै काम गर्न पाउँछ,’ उनले भने, ‘निर्वाचन आयोगले आचारसहिंता लागू नगरेसम्म यो सरकारले ‘फुल फ्लेज’ रुपमा काम गर्न पाउँछ।’
पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा लगभग विभाजित भइसकेको छ। संसद् विघटनपछि ओली र प्रचण्ड–नेपाल एक–अर्को समूहलाई आरोप प्रत्यारोप लगाइरहेका छन्।
प्रकाशित: ३ माघ २०७७ ०९:३८ शनिबार