५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्डलाई पोखरेलको आग्रह: प्रस्ताव फिर्ता लिनुस्, दीपशिखाको जवाफः धम्की नदिऊँ

फाइल तस्बिर : दीपशिखा र पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

शनिबार बिहान ट्विटरमार्फत उनले प्रचण्डले पेस गरेको प्रस्ताव पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरीत भएको आरोप लगाउँदै फिर्ता गर्न अनुरोध गरेका हुन्।  

साथै नेता पोखरेलले प्रचण्डको प्रस्तावमा ‘प्रथम अध्यक्ष’ केपी शर्मा ओलीलाई संगीन आरोप लगाइएको पनि उल्लेख गरेको छन्।  

‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भावविपरित सचिवालय बैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ,’ पोखरेलले लेखेका छन्, ‘ म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्मअनुरूप छलफललाई अघि बढाउन हार्दिक अनुरोध गर्दछु।’

यसमा जवाफ दिँदै नेकपाका अर्का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पोखरेललाई धम्की नदिन चेतावनी दिएका छन्।

पोखरेलले ट्विट गरेलगत्तै नेकपा केन्द्रीय सदस्य दीपशिखाले फेसबुकमार्फत पहिले अध्यक्ष ओलीले चाहिँ प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिनुपर्ने टिप्पणी गरेका हुन्। अनि मात्र प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन भनेर भन्न मिल्ने उनको भनाइ छ।  

‘पार्टी एकतापश्चात् पार्टी अध्यक्ष कमरेड ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका सबै एकल निर्णय र मनोमानी फिर्ता लिने हो र आत्मआलोचित भएर पार्टी निर्णय र सामूहिकतालाई स्वीकार्ने सार्वजनिक स्वीकारोक्ति गर्ने हो भने प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता लिनुस् भन्न मिल्छ होला, नत्र बैठकमा प्रवृत्तिगत विषयहरूमा छलफलका लागि गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गर्नु मात्रै पनि अराजनीतिक र असांगठानिक कुरा हो,’ दीपशिखाले लेखेका छन्, ‘अर्को विषय, पार्टी र सरकारले बैठकका निर्णयहरू मान्नुपर्छ भन्दा, बैठक राखौं भन्दा, छलफल गरौं भन्दा र छलफलका लागि विषयहरू प्रस्तुत हुँदा पार्टी एकता संकटमा पर्छ भन्नु र भ्रममा पार्नु- धम्क्याउनु हो।’ भ्रममा पार्न र इमान्दार अनि एकताका पक्षपातिहरुमाथि धम्क्याउने कार्य तुरुन्त बन्द गरियोस्। पार्टी कमिटीमा प्रस्तुत विषय कमिटीमै छलफल हुनदिऊँ। जिम्मेवारहरूले फुटको धम्की नदिऊँ।’

प्रकाशित: २९ कार्तिक २०७७ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App