१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनमतको सरकारले घोर अपमान गर्‍यो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारी, मृल्य वृद्धि, अभाव र बेरोजगारीका कारण आम जनताको जीवन थप कष्टकर हुँदा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सत्ताको छिनाझपटीम व्यस्त रहेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले कम्युनिष्ट नेतृत्व वर्तमान सरकार जनताको पिरमर्कामा संवेदनशील रहेको आरोप लगाएको हो। ‘ यस्तो विषम परिस्थितिमा पनि कम्युनिष्ट पार्टीको सरकार जनताको पीरमर्का प्रति संवेदनशील हुनुको सट्टा सत्ताको छिनाझपटीमै व्यस्त छ,’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘महामारीको रोकथाम र नियन्त्रण लगायत सबै काममा सरकार असफल भएको छ। जनताले सरकार भएको अनुभूति गर्न सकेका छैनन्।’  

कोभिड-१९ को प्रकोप दिनानुदिन बढिरहेको जनाउँदै कांग्रेसले कोभिड-१९ को परिक्षण र उपचार समेत गर्न सक्दिन भनेर सरकार आफ्नो न्यूनतम जिम्मेवारीबाट समेत पन्छिन खोजेको उल्लेख गरेको छ। चौतर्फी दवाव तथा सर्वोच्च अदालतको निर्णयपछि सरकार कोरोना परिक्षण र उपचार सरकारी खर्चमा गर्ने निर्णय गर्न वाध्य भएको उल्लेख गर्दै भनिएको छ,‘ तथापि उक्त निर्णय कार्यान्वयन गर्ने मानसिकतामा सरकार अहिले पनि छैन।’  

जनताबाट प्राप्त मतको सत्तारुढ दलले घोर अपमान र अवमूल्यन गरेको जनाउँदै कांग्रेसले भनेको छ,‘नेपाल कम्युनिष्ट पार्टी नियन्त्रित केन्द्रदेखि स्थानीय तहसम्मको सरकारहरुमा सर्वत्र वेथिती, अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार छाएको छ।’ कोभिड–१९ संक्रमणको रोकथाम, समुचित उपचार र राहतको सुनिश्चित गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ।  

कांग्रेसको आपत्ती  

चीन सरकारको आधिकारिक दृष्टिकोणलाई प्रतिनिधित्व गर्ने ग्लोबल टाइम्सको नोभेम्बर १० मा प्रकाशित लेखप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। उक्त लेखमा नेपाली कांग्रेसलाई भारत परस्त पार्टीको रुपमा चित्रित गर्नुको साथै हुम्लामा नेपाली भूमिमाथि चीनले अतिक्रमणको अफवाह फैलाएको आरोप समेत लगाएको जनाउँदै कांग्रेसले ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको निन्दा गरेको छ। नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ भएको जनाउँदै भनिएको छ,‘नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता माथि कुनैपनि देशबाट हुने र हुन सक्ने अतिक्रमण र उल्लंघनको विपक्षमा नेपाली कांग्रेस सधैं अडिग छ र अडिग रहनेछ।’

कांग्रेस दुबै देशको संयुक्त सीमा सम्बन्धी कार्यदलले यस सम्बन्धमा यथार्थ के भएको हो स्थानीय सरोकारवालाहरुको भनाई, सीमा क्षेत्रको भूमिको ऐतिहासिक भोगचलन र त्यस सम्बन्धी तथ्याङ्क र जीवनबहादुर शाहीको टोलीले उठाएका मुद्दाहरुलाई समेत ध्यानमा राखी छानविन गरी यथार्थ बाहिर ल्याउन पनि माग गरेको छ। ‘यसले सीमा सम्बन्धमा पैदा भएको अन्यौललाई चिर्न मद्दत पुग्ने मात्रै नभएर नेपाली जनतालाई नेपालको भूमिको सुरक्षा सम्बन्धमा सिर्जित अन्यौलको अन्त्य हुनेछ,’ कांग्रेसले भनेको छ, ‘यसबाट दुई देशको जनता बीच आउन सक्ने अनावश्यक तिक्ततालाई पनि समाप्त पार्न मद्दत पुग्नेछ।’  

तोकिएन महाधिवेशनको नयाँ मिति  

असन्तुष्ट पक्षीय नेताहरूले १४औं महाधिवेशनको अन्तिम मिति अहिले नै परिवर्तन गर्न नहुने अडान राखेपछि केन्द्रीय समितिको बैठकले नयाँ मिति तय गर्न सकेन। फागुन ७ देखि १० गतेका लागि तोकिएको मितिमा महाधिवेशन हुँदैन भन्नेमा सबै नेताहरू सहमत देखिएपनि असन्तुष्ट पक्षले क्रियाशील सदस्यता वितरणको कार्यतालिका मात्र संशेधन गर्नुपर्ने अडानपछि बैठकले मंसिर मसान्ताभित्र सदस्यता वितरणको समय थप गर्ने निर्णय गरेको छ। मंसिर मसान्ताभित्र सदस्यता नविकरण र नयाँ वितरणको फारम केन्द्रमा पठाउन भनिएको छ।  

सदस्यता वितरणपछि बस्ने बैठकले महाधिवेशनका लागि आवश्यक पर्ने समय हेरेर मात्र तल्लो तहको अधिवेशनसहित महाधिवेशनको मिति तोकिने बैठकमा सहभागी नेताहरूले जनाएका छन्। यद्यपी पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जेठमा महाधिवेशन गर्नेगरी सबै कार्यतालिका पारित गर्नुपर्ने अडान राखेका थिए। कार्यतालिका तय नगर्नु भनेको महाधिवेशन नगर्ने नियत रहेको भन्दै सिटौलाले संशोधित कार्यतालिका तयगर्नुपर्ने अडान राखेका थिए।  

नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षले उठाएको १६ बुँदे मागमा सहमति निर्माण हुन नसक्दा केन्द्रीय समितिको बैठकमा उक्त विषयले प्रवेस पाउन सकेन। नेता पौडेल, महामन्त्री शशांक कोइरालासहित २७ केन्द्रीय सदस्यले उठाएका माग सम्बोधन नभएसम्म केन्द्रीय समिति बैठकमा सहभागि नहुने अडान राखेपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी, पूर्वपदाधिकारीसहितका नेताहरूसँग एक साता लामो छलफल गरेका थिए। गठन भएका विभागहरूलाई कायमै राख्दै थप गठन नगर्ने र विधि र विधान बाहिरबाट क्रियाशील सदस्यता वितरण भएको भए त्यसलाई सच्याउने सहितको समझदारी बनेको थियो। त्यसलाई अन्तिमरुप दिएर महामन्त्रीद्वय शशांक कोइरालार पूर्णबहादुर खड्काले केन्द्रीय समितिको बैठकमा सहमतिको प्रस्ताव ल्याउने भनिएपनि अनौपचारीकरुपमा गठन भएको कार्यदलले समझदारी निर्माण गर्न सकेन। जसले गर्दा केन्द्रीय समितिको बैठकमा उक्त प्रस्ताव पेस हुन सकेन।

थापा सहमहामन्त्री

बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर कांग्रेस प्रवेस गरेका सुनिल थापालाई सहमहामन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ। साउन १३ गते अन्य नेतासहित थापा कांग्रेस प्रवेस गरेका  थिए। त्यस्तै, थापासँगै कांग्रेस प्रवेस गरेको छ नेतालाई केन्द्रीय सदस्य र तीनलाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ। पार्टी धारा (४) (१०) (ङ) अनुसार रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), वावुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं) र टि.एन. योगी (ललितपुर)लाई केन्द्रीय सदस्य बनाइएको छ । त्यस्तै, दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई आमन्त्रित केन्द्रीय सदस्य बनाएको कांग्रेसले जनाएको छ।  

केसीको ठाउँमा पाण्डे  

कांग्रेसले प्रतिनिधि सभा सदस्यमा पार्टीकोतर्फबाट रिक्त समानुपातिक एक सांसदमा मोहन माण्डेको नाम सिफारीस गरेको छ। प्रतिनिधि सभा सदस्य एबं पार्टीको आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर के.सी. को निधन भई रिक्त स्थानमा कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सामानुपातिकको वन्दसूचीको क्र.स. १२ मा नाम रहेका मोहनप्रसाद पाण्डेको नाम सिफारिस गरेको हो।  

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव प्रस्तुत गरेका थिएभने नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, कमला पन्त, धनराज गुरुङ, गगनकुमार थापा, देवेन्द्रराज कँडेल र कर्णबहादुर बुढाले आआफ्नो धारणा राखेका थिए।

प्रकाशित: २८ कार्तिक २०७७ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App