१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाली सेनाले भारतीय सेनालाई दियो बुद्धको प्रतिमा र मास्क

नेपाली सेनाले भारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ। उक्त मास्क प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई हस्तान्तरण गरे।

प्रधानसेनापति थापाले भारतीय सेनाध्यक्ष नरवणेलाई समारोहमा उपहारस्वरुप शान्तिका प्रतीक गौतमबुद्धको प्रतिमासमेत प्रदान गरे। यसअघि स्थलसेनाध्यक्ष नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहारसहित श्रद्धाञ्जलि अर्पण गर्नाका साथै जङ्गीअड्डा परिसरमा ओखरको बिरुवा रोपे।

त्यसलगत्तै प्रधानसेनापति थापा र स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता भएको थियो। उक्त भेटमा दुवै सेनापतिबीच आपसी हित र पारस्परिक सम्बन्धका विविध पक्षमा छलफल भएको सेनाले जनाएको छ। उक्त छलफलपछि भारतीय सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा प्रस्तुतीकरण गरिएको थियो।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परानुरुप उनी नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नेपाल आएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई आजै सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन्।

प्रकाशित: २० कार्तिक २०७७ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App