coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्ने प्रतिवद्धता

जोगबनीमा नेपाल–भारत सुरक्षा अधिकारीको बैठक

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बुधबारभारतको जोगबनीमा बैठक सम्पन्न भएको छ। बैठकमा विहार हुन लागेको निर्वाचन र दुवै देशमा हुने आपराधिक क्रियाकलापका विषयमा विशेष छलफल भएको बताइएको छ।  

जोगबनीमा भएको बैठकमा नेपालका तर्फबाट प्रहरी प्रमुखहरु मोरङका एसपी सन्तोष खड्का, सुनसरीका कमल थापा, सशस्त्र प्रहरी बल मोरङका प्रमुख तीर्थ पौडेल र भारतकातर्फबाट विहारको पूर्णियाका डिआइजी विनोदकुमार, सीमा सुरक्षा बल (एसएसबी)का सञ्जयकुमार सारंगी, अररिया जिल्लाका एसपी हृदयकान्तलगायतको सहभागिता रहेको थियो।  

दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलमा कोरोना संक्रमण नियन्त्रण गर्न सीमा नाका सिल रहेको र आवतजावतमा पूर्णरुपमा रोक लगाइएको, सीमा स्तम्भ, सीमा अपराध, तस्करी, अवैध मुद्रा, लागुऔषध, मानव बेचबिखन, हतियार कारोबार र मदिराको अवैध ओसारपसार मुख्य मुद्दामा केन्द्रित भए पनि केही अन्य विषयमा समेत छलफल भएको मोरङ प्रहरीले जनाएको छ।

‘सहकार्य गरेर अघि बढे महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण सम्भव हुने र सीमाको रेखदेख तथा सीमा स्तम्भको संरक्षणमा एकजुट भएर लाग्ने प्रतिबद्धता जनाइएको छ,’ मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले भने, ‘भारतीय पक्षले पनि सीमा स्तम्भको रेखदेख र संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सीमा अपराध र सबै खाले अपराध नियन्त्रण गर्न एकअर्कामा समन्वय सहकार्य गर्ने सहमति भएको छ।’ सीमा क्षेत्रबाट हुने अपराध नियन्त्रण चुनौतीपूर्ण रहेकाले दुई देशका सुरक्षा निकायबीचको सहमति र सहकार्य आवश्यक रहेको बताए।  

‘भारतबाट नेपालमा हुने विभिन्न सामानको तस्करी, साना हतियार, लागुऔषधको ओसारपसार, चौपायको तस्करीलगायत नेपालमा अपराध गरेर भारतमा लुक्नलाई आश्रयस्थल बनाउने गरेको जानकारी गराउँदै सहयोग गर्न भनेका छौं,’ एसपी खड्काले भने, ‘विहारमा मदिरा प्रतिबन्ध गरिएकाले सेवन गर्न नेपाल छिर्ने र भारततर्फ हुने अवैध मदिरा ओसारपसार नियन्त्रणमा सहयोग गर्न आग्रह गर्दै विहारमा हुने निर्वाचनमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोगको आग्रह गरेका छन्।’

प्रकाशित: ८ आश्विन २०७७ ०४:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App