coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवका कार्यकर्ता पक्राउ गर्दै प्रहरी

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दुई, दैलेखबाट एक, सल्यानबाट दुई, रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन र डोल्पाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ। सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेबाट दुईजना पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। सोही वडाका ४८ वर्षीय कर्णबहादुर विसी र ४२ वर्षीय सहवीर महरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए।  

उनकाअनुसार विसी र महर जिल्ला कमिटी सदस्यहुन्। उनीहरूको साथबाट विभिन्न किसिमका दस्ताबेज, निर्माण व्यवसायी तथा कन्ट्रक्सनलाई आर्थिक सहयोगको लागि लेखिएक ापत्र र रकम असुल गरेका अर्ध कट्टिसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै रुकुम पश्चिमका जिल्ला सेक्रेटरी सहित विप्लवका चारजना कार्यकर्ता आठबीसकोट नगरपालिका–९, राडी बजारबाट पक्राउ परेका छन्। मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी हिरामणि रावल, नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, पार्टीका जिल्ला कमिटी सदस्य घमण्ड महर र कार्यकर्ता तुलबहादुर घर्ती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीले जानकारी दिए।

दैलेखबाट आठवीस नगरपालिका–६, का ३० वर्षीय उदय विक पक्राउ परेका छन्। मुगु सोरु गाउँपालिका–६, घर भएका जिल्ला सेक्रेटरी ३७वर्षीय उदय भनिने रामबहादुर भाम, जुम्ला हिमा गाउँपालिका–७, घर भएका जिल्ला सदस्य २९ वर्षीय नन्दतिवारी र सोही गाउँपालिकाकी १६ वर्षीया सपना बुढा जुम्लास्थित तिला गाउँपालिका–७, गोडेगाउँबाट पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी बास्तोलाले जानकारी दिए। उनकाअनुसार जुम्ला गोठीचौर गाउँपालिका–१, का २९ वर्षीय सूर्य महतारा डोल्पास्थित जगदुल्ला गाउँपालिका–१, हुरिकोटबाट पक्राउ परेका छन्।

सल्यान बागचौर नगरपालिका–४, का २३ वर्षीय मोहन केसी र सोही नगरपालिका–२, का २३ वर्षीय सेजन चन्द सल्यानबाट पक्राउ परेको प्रहरीले जनाएको छ। त्यस्तै गरी प्रहरीकाअनुसार पक्राउ परेका मध्ये सल्यानबाट एकजनालाई छाडिएको छ, भने दैलेखका एक, सल्यानका एक, रुकुम पश्चिमका चार र डोल्पाका एकजनालाई मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई सार्वजनिकहित स्वास्थ्य सुविधा र नैतिकविरुद्ध (अभद्र व्यवहार) सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। विभिन्न व्यक्ति र संघ संस्थासँग चन्दा मागेको, राज्यविरुद्धका क्रियाकलाप गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विप्लव समूहले भने बिनाकारण प्रहरीले आफ्ना कार्यकर्तालाई पक्राउ गरेको बताएको छ। राज्यले पक्राउ गरेकालाई बिना सर्त रिहागर्नुपर्ने राप्ती ब्युरो सदस्य नरेन्द्र विकले जनाए। ‘हामीले राज्यविरुद्ध कुनै क्रियाकलाप गरेका छैनौं,’ उनले भने, ‘दलाल र भ्रष्टाचारीहरूका विरुद्ध आवाज उठाएका छौं।’ जनताको घरदैलोमा राजनीतिक मुद्दामा सहभागी भएका नेता तथा कार्यकर्तालाई पक्राउ गर्नु राज्यको गल्ती भएको उनको आरोप छ। यता प्रहरीले भने विप्लव समूहले राज्यविरुद्ध विभिन्न क्रियाकलाप गर्दै आएको बताएको छ। कोभिड–१९ अर्थात् कोरोना भाइरसको त्रासका बेला विप्लवका नेता तथा कार्यकर्ता घर र गाउँमा खुलमखुला हिँड्दै आएका थिए।

प्रकाशित: ३० श्रावण २०७७ ०४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App