नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फागुन २१ को निर्वाचनमा मत हाल्नुपर्ने ३० वटा कारण अघि सार्दै झापा नं ५ को क्षेत्रीय कमिटीले अपिल सार्वजनिक गरेको छ। उक्त सार्वजनिक गरेको ३० बुँदे कारणमा मतदातालाई अध्यक्ष ओलीको पक्षमा मतदान गर्न आग्रह गरेको हो ।
नेकपा एमाले पार्टीको झापा क्षेत्र नम्बर ५ क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ भन्दै अपिल प्रकाशन गरी राष्ट्रिय स्वाधीनताको रक्षा देखि शिक्षक दरबन्दी मिलानसम्मका विषय समेटिएको बताएको छ ।
उक्त अपिलमा जनताको मनोबल उठाउन ओलीलाई जिताउन आवश्यक रहेको बताउँदै पछिल्ले समय देशमा देखीएको डरलाग्दो अवस्थाको अन्त्य गरी सबै नेपालीलाई शान्ति सुरक्षाको ग्यारेन्टी गर्नका लागि ओलीलाई मत दिनुपर्ने उल्लेख छ ।
साथै पछिल्ले समय झापा ५ मा सुरु गरिएका विकासका अधुरा योजनाहरू सम्पन्न गर्न पनि ओलीको जित आवश्यक रहेको बताउँदै नवयुवालाई प्राविधिक शिक्षा उपलब्ध गराई सीपमूलक विकासमार्फत स्वरोजगार अभिवृद्धि गर्ने लक्ष्यसहित ओलीलाई मतदान गर्न आह्वान गरिएको छ।
पछिल्ले समय खस्किएको अर्थतन्त्रलाई चलायमान बनाउने, कृषि क्षेत्रको विकास गरी खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने तथा विभिन्न संरचनागत सुधारका कामलाई निरन्तरता दिन ओलीको नेतृत्व आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रकाशित: २ फाल्गुन २०८२ १६:३९ शनिबार





