१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली–दाहाल बोली बाराबार

नेकपा विवाद

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ।  प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो। ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले ओलीसँग संवाद गर्ने जिम्मेवारी दाहाललाई दिए पनि शनिबार साँझसम्म दुवै नेताबीच संवाद हुन सकेको छैन।  

दुई अध्यक्षको सहमतिमा सचिवालय बैठक राखेर विवाद सुल्झाउने पक्षमा केही नेता लागिपरेका छन्। ‘दुई अध्यक्षबीच संवाद हुन्छ। त्यसपछि मात्रै सचिवालय बैठक बसेर सबै विषय टुंगो लगाउनुपर्छ’, सचिवालयका एक सदस्यले भने। उपाध्यक्ष वामदेव गौतम पनि विवाद सचिवालय बैठकबाटै टुंग्याउने पक्षमा पुगेको स्रोतले बतायो।  

महासचिव विष्णु पौडेलले बिहीबार र शुक्रबार दाहाल निवास खुमलटार पुगेर दुई अध्यक्षबीच संवाद गराउन गरेको प्रयास  सफल भएन। दाहाल निकट स्रोतका अनुसार महासचिव पौडेलले शुक्रबार दिउँसो  कार्यकारी अध्यक्ष दाहाल निवास गएर उनीसँग कुराकानी गरेका थिए। स्थायी कमिटी बैठक रोकेर सबै विषय सचिवालयमा छलफल गर्नुपर्ने ओलीको सन्देश लिएर पौडेल दाहाल निवास गएका थिए। पौडेलसँग दाहालले ओलीले साथीभाइको कुरा नसुन्ने, स्थायी कमिटी बैठकमा उपस्थित नहुने, सरकारले गरेका कामको जवाफ नदिने, पार्टीको विधि र प्रक्रिया नमान्ने जस्ता अहं प्रदर्शन गरेकाले समस्या उतै रहेको बताएका थिए। त्यसपछि बालुवाटार पुगेका पौडेलले दाहालको सन्देश ओलीलाई सुनाएका थिए।  

‘उहाँ (महासचिव पौडेल) खुमलटार आउनुभएको थियो, कार्यकारी अध्यक्षलाई भेटेर जानुभयो। अहिले खुमलटार र बालुवाटारबीच संवादहीन अवस्था छ’, दाहालको सचिवालय स्रोतले भन्यो। स्रोतका अनुसार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसँग भने दाहाल निरन्तर सम्पर्कमा छन्। दाहालले आफू निकट अन्य नेतासँग पनि संवाद गरिरहेका छन्। उनले जनार्दन शर्मा, देवेन्द्र पौडेल, मणि थापा, हरिबोल गजुरेल, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई बोलाएर कुराकानी  गरिरहेका छन्। उनीहरुले दाहाललाई पार्टी एकता कायम राख्न र संवादहीनताको अवस्था चिरेर अघि बढ्न सुझाव दिएका छन्।  

महासचिव पौडेलले दुई अध्यक्षवीच संवाद हुने अवस्था रहेको र त्यसमा आफू लागिपरेको बताए। ‘संवाद हुन्छ, छलफलमा छौं, संवादहीनताको अवस्था होइन’, उनले भने।  

स्थायी कमिटी बैठक रोकेर सबै विषय सचिवालयमा छलफल गर्नुपर्ने ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेलसँग दाहालले समस्या उतै रहेको बताएका छन्। मंगलबार यता ओली र दाहालबीच संवाद भएको छैन।

ओलीले पनि बालुवाटारमा आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्। ‘चलिरहेको स्थायी कमिटी बैठक रोकेर सचिवालय बैठकबाट समस्या समाधान गर्ने पक्षमा ओली छन्’, स्थायी कमिटीमा उनी निकट एक सदस्यले भने। ती सदस्यका अनुसार विवादलाई  स्थायी कमिटी बैठकले निकास दिन नसक्ने भएकाले सचिवालय बैठकमै छलफल गरेर निकास दिनुपर्छ। ‘मूलतः माधव नेपाल विधिको कुरा गरिरहनुभएको छ तर दाहालले ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग उठाउनुभएको छ। त्यसकारण यो पदीय लडाइँजस्तो देखिन्छ। सचिवालय बैठकमा यसको  सहजै समाधान निस्केला भन्ने हाम्रो बुझाइ हो,’ ती सदस्यले भने।  

दुवै अध्यक्ष निकट स्रोतले भने स्थायी कमिटी बैठक केही समय पर धकेलेर सचिवालय बैठकमा छलफल गरेपछि मात्रै स्थायी कमिटी बैठक बस्नुपर्ने बतायो। ‘नेताहरुबीच शक्ति संघर्ष, आपसी इगो तथा केही व्यक्तिगत कमजोरीले विवाद भएको हो। अब सचिवालय बैठकमै यस्ता विषय टुंगाए सबैलाई राम्रो हुने थियो। पार्टीको कुरा मान्दै मान्दिनँ भन्ने र मान्नैपर्छ भन्नेबीचमा सहमति खोज्नुपर्छ। मान्दिनँ भन्नु अंहकार हो। मान्दिनँ भन्नेलाई मान्ने अवस्थामा पु¥याउन नसक्नु नेताहरुको कमजोरी हो। समाधान खोज्ने थलो सचिवालय बैठक नै हो।’

नौ सदस्यीय सचिवालयमा दाहाल–नेपालसहित खनाल र नारायणकाजी श्रेष्ठ एकातिर र अर्कोतिर ओलीसहित गौतम, ईश्वर पोखरेल, महासचिव पौडेल देखिएका छन्। गृहमन्त्रीसमेत रहेका अर्का सदस्य थापा अरू नेताझैं खुलेर कतैतिर नलागे पनि यो सरकारलाई निरन्तरता दिने पक्षमा छन्।  

दाहालले शनिबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको स्मृति दिवस कार्यक्रममा एक–दुई दिनयता ओलीसँग कुनै संवाद नभएको संकेत गर्दै पार्टी एकता कायम गर्ने नाममा गलत विचारलाई ढाछोप गर्न नमिल्ने बताए। उनले पार्टी फूटाउने सबैखाले प्रवृत्तिलाई परास्त गरिने पनि बताए।  

उपाध्यक्ष गौतमले पार्टीमा उत्पन्न विवाद समाधान गर्न भन्दै मंगलबार ६बुँदे प्रस्ताव अघि सारेपछि त्यसले ओलीलाई केही सहज भएको छ। ओली विरोधी खेमामा रहेका गौतमले एकाएक ६ बुँदे प्रस्ताव ल्याएर पार्टीभित्र सहजीकरण गर्न खोजेका छन्। तर विवाद समाधानका लागि पार्टी विधान प्रयोग गर्दै एक सय ५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गरेपछि ओली थप समस्यामा परेका छन्। स्थायी कमिटी बैठक स्थगित भैरहेका बेला केन्द्रीय कमिटी बैठक माग भएको हो।

प्रकाशित: १८ श्रावण २०७७ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App