coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हजुरबा र नाती पुस्ता सँगसँगै सडकमा

माइतीघर मण्डलामा सरकारविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरु। तस्बिरः दिपेश/नागरिक

काठमाडौंको अनामनगरका समिप श्रेष्ठ शनिबार बिहान हिँडेरै साढे ९ बजे माइतीघर नजिकै पुगे। १६ वर्षीय समिपसँगै पाँच जना साथीहरु पनि थिए। उनी माइतीघर नजिकै पुग्दा केहि सञ्चारकर्मी र बाक्लो संख्यामा प्रहरी तैनाथ थिए।  

सरकारका कामदेखि असन्तुष्ट युवाहरुको समूहले गर्ने भनिएको प्रदर्शनमा सहभागी हुन पुगेका उनलाई माइतीघर जानै नदिई प्रहरीले फिर्ता पठायो। त्यसपछि उनी आफ्नो समूहसहित पछाडिको गल्लीबाट माइतीघरपछिको एउटा क्याफेमा पुगे। त्यहाँ उनीजस्तै युवाहरुको समूह थियो। जसमा २१ वर्षीया रूजु राउतसहितका १२/१५ जना युवा युवती थिए।

उनीहरु सबैका हातमा विभिन्न नाराहरु लेखिएका प्ले कार्डहरु थिए। ‘हामी सरकार परिवर्तन गर्न आएका होइनौं, ब्यूँझाउन आएका हौं। नयाँ नक्सा जारी गरेकोमा धन्यवाद तर १० अर्ब खैं? तिम्रो बेसार पानीको गफले आज म आको, ६ महिना जेल बसौला तर १० अर्बको हिसाब चाहियो।’ लगायत।  

तपाइँहरु किन आउनु भएको? नागरिकको प्रश्न नसकिदै रूजुले जवाफ दिइन्, ‘सरकार गैरजिम्मेवार भयो। महामारीको बेला पनि गफ दिएर बस्यो। परीक्षणमा ध्यान दिएन। पिसिआर गर्नुपर्नेमा आरडिटी चेक गरेर टार्न खोज्दै छ। हामी बाध्य भएर यहाँ आयौं।’

उनले कुरा सक्न नपाउँदै सँगै रहेका दिपेश कार्की बोले, हामीलाई सडकमा आउन रहर थिएन। सरकारको यो गैरजिम्मेवारीपनको हद कटेपछि आएका हौं। अब खप्न सकिएन।’

दिपेश प्रदर्शनको सुरुवाती दिनदेखि सहभागी छन्। यो आन्दोलन नागरिकस्तरबाट भएको गैरराजनीतिक प्रदर्शन रहेको उनी बताउँछन्। दिपेशले नागरिकसँग भने, ‘देशभरका युवाहरू सामाजिक सञ्जाल फेसबुक, इस्टाग्राम ट्वीटरमार्फत जोडिएर विभिन्न सहरमा प्रदर्शन गरिरहेका छन्। हामी पनि यसरी नै समाजिक सञ्जालबाट साथीहरुको समूह बनाएर आन्दोलन सहाभगी भएका हौं।’

रूजु थप्छिन्, ‘हामीलाई पनि सरकारलाई सडकमा आएर गाली गर्न मन थिएन। घरमै बसेर मिठो मिठो परिकार बनाएर खाइन्थ्यो होला। कोरोना संक्रमण हुन्छ कि भन्दै किन जोखिम मोलेर आउनु पथ्र्याे र।’ जब सरकारले जनताको स्वास्थ्य क्षेत्रमा परितवर्तन ल्याउँदै तबसम्म आफूहरु प्रदर्शनमा आउने उनको भनाइ छ।  

काठमाडौं बत्तिसपुतलीका अमिर सिंह प्रदर्शनको पहिलो दिनदेखि नै सहभागी छन्। सरकारले कोभिड–१९ विरुद्ध काम गर्न नसकेको भन्दै आफू प्रदर्शनमा आएको उनले बताए।

सरकार अन्य कुरामा मात्रै भुलिरहेको छ। मानिसको जीवनसंग जोडिएको स्वास्थ्य जस्तो कुरामा वेवास्था गरेको छ।  

जबसम्म सरकारले आफ्नो कामको प्रकृति परिवर्तन गर्दैन। तबसम्म आफूहरु आन्दोलमा निरन्तर लागि रहने उनले सुनाए।  

‘यस्तो महामारीको बेला हामीलाई पनि सरकारको विरुद्धमा सडकमा आएर प्रदर्शन गर्न कुनै रहर छैन। घरमा बसेर आनन्दले बस्न सक्छौं। किन जोखिम मोलेर आउनु पथ्र्यो?’ जब सरकारले जनताको स्वास्थ्य क्षेत्रमा परितवर्तन ल्याउँदैन तबसम्म आफूहरु प्रदर्शनमा आउने उनको भनाई छ।  

‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रैसडकमा निस्कँदा मान्छेहरू हाँस्थे। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ।’

‘कुनै राजनीतिक दलको दबावबाट हामी आएका  होइनौं। स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुको लागि पनि कुनै सुरक्षा व्यवस्था गरेको छैन्। सरकारले यो विषयमा नबुझेकोले हामी सरकारलाई ब्यूझाउँन आएका हौं। समूहमै रहेकी कृष्टिले भनिन्।  

बिस्तारै उनीहरुको समूह बढ्दै गयो। सो क्याफेमा मात्रै होइन माइती घर वरिपरिका विभिन्न ठाउँबाट युवाहरु आउँदै थिए। माइती घरमा प्रहरीको संख्या पनि बढ्दै थियो। ‘प्रहरीले भिड्भाड गर्न निषेध गरिरहेको थियो। महामारीका बेला भिडभाड नगरौं।’ भन्दै माइकिङ गर्दा गर्दै माइतीघरमा सयौंको संख्यामा युवाहरु जम्मा भए। विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका समूहमा युवा युवती मात्रै होइन पाका उमेरका मानिसहरु पनि थिए।  

सधैं राजनीतिक नारा र राजनीतिक भाषण गरेर सरकारको विरोध जनाउन गरिने आन्दोलनभन्दा विल्कुल भिन्न। न कुनै आयोजक न कुनै पार्टीको झण्डा।

सँधैंमा आफ्नो पढाई र भविष्यको चिन्ता गर्ने युवाको जमात प्ले कार्ड बोकेर बसेका थिए। बिगतमा कयौं आन्दोलन गरेका हजुरबुवा उमेरका पाका मान्छेहरु पनि त्यस्तै प्ले कार्ड बोकेर बसेका थिए। तर अधिकांश युवायुवती नै थिए।  

अघिपछि राजनीतिप्रति खासै चासो नराख्ने युवाहरुको समूह आन्दोलनमा उत्रियो।  

आफूहरु कुनै पार्टी वा समूहबाट नभइ राष्ट्रिय हितको लागि सडकमा निस्किएको उनीहरुको भनाइ थियो। बिस्तारै सो समूह माइतीघरतिर  हानियो। दुई चार जना गर्दै सयौंको संख्यामा ब्यानर बोकेकाहरु निस्किए। उनीहरु भौतिक दुरी कायम गर्दै माइतीघर मण्डलाको सडकमा बसे।  

सोहि समूहमा बसेका प्रकट राईले भने, ‘हामी सरकार परिवर्तन गर्न आएका होइनौं। कसैलाई सत्तामा पुर्याउन पनि होइन। सरकार सच्यिोस् भन्ने हाम्रो चाहना हो। सरकारले गरेको कामकारबाहीप्रतिको काट्क्ष मात्रै हो।’  

धेरैजना आन्दोलनकारीमा राजनीतिप्रति घृणा देखिन्थ्यो। नेपालमा हुर्किरहेको राजनीतिक विकृतिले आफ्नो भविष्य बर्बाद पार्ने डर उनीहरुमा देखिन्थ्यो।

ललितपुरकी सिता थापाले क्वारेन्टिनमा नेपाल सरकार र डब्लुएचओको मापदण्ड अनुसारका सुविधा नभएको र कोरोना संक्रमणको पिसिआर परिक्षण बढाउनु पर्ने बताउछिन्। ‘हाम्रो प्रदर्शनको उद्देश्य कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएरअघि बढोस भनेर हो’ उनले नागरिकसंग भनिन्’, सरकारले गरेको खर्च पारदर्शी हुनुर्पयो, क्वारेन्टिन मापदण्डअनुसारको हुनुपर्याे। यहि होस् भनेर हामीले आन्दोलन गर्नु पर्यो।  

त्यस्तै प्रदर्शमा आएका मुकेश गुरुङको माग अलि भिन्न थियो। सरकारको प्रभावकारी कदम नदेखिएपछि प्रदर्शन गर्नुपर्ने बाध्यतात्मक अवस्था सिर्जना हुँदै गएको बताए।‘कोरोना परीक्षण सतप्रतिशत नै पिसिआर विधिबाट हुनुपर्छ। जनताका भोटबाट चुनाव जितेका सांसदलाई पिसिआरबाट परीक्षण अनि भोट दिने जनतालाई विश्व स्वास्थ्य संगठनले पनि विश्वसनीय हुँदैन भनेको आरडिटीबाट परीक्षण, किन?’ उनी सरकारलाई प्रश्न गर्दै भन्छन्, जनता भोकभोकै मरिहरको छन्। ‘जनतामाथि विभेद हुनुहुन्न, सरकारले यो विषयमा किन चासो नदेखाएको हो ?  

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिले पनि नागरिकहरूलाई सडकमा उत्रिनु बाध्य पारेको उनले बताए।

नाती उमेरकासँगै आन्दोलनमा

आन्दोलनमा भरखरका युवा युवती मात्रै होइन पाका उमेरकाहरु पनि थिए। २०६२/०६३को जनआन्दोलनमा समेत सहभागी भएका ६२ वर्षीय प्रेम खत्री पनि यहि प्रर्दशनमा भेटिए। यसअघिका आन्दोलन स्मरण गर्दै उनले भने, ‘नेपालमा थुप्रै आन्दोलन र परिवर्तनहरु भए। पहिलेको अन्दोलनको माग फरक हुन्थ्यो। अहिलेको अन्दोलन विल्कुलै फरक छ। अहिलेको अन्दोलनमा सहभागी हुने पनि अधिकाशं युवाहरु छन्। मेरो छोराहरुको उमेर भन्दा पनि कमका छन्। कोही नातीको उमेरका पनि छन्।’ छोरा नातीको उमेरकासँग उनीहरुकै मुद्धामा आन्दोलनमा सहभागी हुँदा आफmूलाई खुसी लागेको उनले बताए। साथै युवापुस्तामा पनि राजनीतिक चेतना बृद्धि भएको उनले सुनाए।  

आफू २०४६ सालदेखि जनताको जायज मागको लागि सडक आन्दोलनमा आएको उनले बताए। अहिले पनि युवाहरु अन्दोलनमा आउँदा उनीहरुलाई सहयोगको लागि आफू पनि आएको उनको भनाइ थियो।  

यस्तै ५७ वर्षीय पूर्ण  श्रेष्ठ पनि सोहि आन्दोलनमा थिए। कुनै राजनीतिक पार्टीमा कहिल्यै नलागेको बताउँने उनले पनि वितगमा थुप्रै आन्दोलन गरेका अनुभव सुनाए।  ‘पहिले व्यवस्था र सत्ता परिवर्तनका लागि आन्दोलनहरु भए। राजतन्त्र हट्यो। जनताका छोरा छोरी राष्ट्रिपति बने। तर उनीहरुको पनि नियत राम्रो देखिएन। जनता रैतिनै रहे।  मानिसको स्वास्थ्य शिक्षा जस्ता विषयमा ध्यान दिएको छैन।’ उनले भने। सरकारलाई ब्यूँझाउन आफू पनि छोरा नातीका उमेरका युवाहरुलाई साथ दिन सडकमा आएको उनले बताए।  

सरकारको गैरजिम्मेवारीपनले आफूलाई आन्दोलनमा आउन बाध्य पारेको उनले बताए। ‘नेपालमा सडकबाटै धेरै परिवर्तन भएका छन्। परिवर्तन गर्न सकिन्छ। २०६२/०६३ को आन्दोलनमा पनि ४०/५० जना मात्रै प्रदर्शनमा सडकमा निस्कँदा मान्छेहरू हाँसेका थिए। यो आन्दोलनमा पनि मान्छेहरु हाँसिरहेका छन्। तर २०६२/०६३ को आन्दोलनको परिणाम सबैलाई थाहा छ। यहाँ पनि त्यस्तै हो।  

‘सधैं राजनीतिलाई घृणा गर्ने युवाहरु नारा बनाएर हिडेका छन्। बोर्डिङ स्कुलमा अध्ययन गरेर हिडेको उनीहरु अहिले आफ्नो राष्ट्रिय र देशको हितको लागि निस्किएका छन्। यो अत्यान्तै खुशीको कुरा हो’, उनले भने।  

शान्तिपूर्ण विरोध, आन्दोलनकारीलाई प्रहरीको ‘सोल्युट’

शान्तिपूर्ण रुपमा सम्पन्न आन्दोलनको अन्तिममा राष्ट्रिय गान गाइएको थियो। त्यसले आन्दोलनमा सहभागीमा देशप्रेम झल्काउँथ्यो।  

यसअघिका विरोध प्रदर्शनमा जस्तो नाराजुलुस भएन करिब दुई घण्टाको अवधीसम्म प्रदर्शनमा समाजिक दुरी कायम गरे। प्रहरी प्रसाशनबाट कुनै पनि दुरव्यवार गरिएन। बरु अन्तिममा राष्ट्रिय गान गाउँदा प्रहरीले विरोधमा सहभागीलाई सेल्यूट गरेको थियो। 

प्रशर्दशनमा आएकाहरुलाई पानी सेनिटाइजरको व्यवस्था समेत आफैले गरेका थिए। भैपरिआउने समस्याका लागि मेडिकल टिम पनि तयारी अवस्थामा थियो। तर कुनै धरपकड भएन। आन्दोल पश्चात निकै सभ्य भएर सडकमा छरिएका फोहोहरु आफै संकलन गरेर व्यवस्थापन गरेका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७७ १३:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App