coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अतिक्रमणबारे विभिन्न भाषामा भिडियो

नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतले अतिक्रमण गरेको विषयमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउने उद्देश्यले विभिन्न भाषामा भिडियो सन्देश निर्माणको अभियान सुरु भएको छ। विवेकशील नेपाली दलको पहलमा सुरु भएको उक्त अभियानअन्तर्गत हालसम्म हिन्दी, चिनियाँ, अंग्रेजी, फ्रेन्च, रसियन र जर्मन भाषामा भिडियो तयार भइसकेका छन्। उक्त दलका नेता मिलन पाण्डेका अनुसारअतिक्रमणबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच सदस्यसहित प्रभावशाली एक दर्जन मुलुकको भाषामा उक्त सन्देशमूलक भिडियो निर्माण गरिनेछ।  

भारतबाट नेपालमाथि भइरहेको अतिक्रमणबारे अन्तर्राष्ट्रिय समुदायलाई पनि जानकारी मिलोस् भन्ने उद्देश्यले भिडियो निर्माण अभियान सुरु गरेको पाण्डे बताउँछन्। उनले विभिन्न भाषामा दुईदेखि पाँच मिनेटको भिडियो तयार पारेको बताए। यसबारे आधारभूत जानकारी दिनेगरी र नेपालको दाबी किन भन्ने कुरा उल्लेख गरेर भिडियो सन्देश निर्माण गरिएको उनले जानकारी दिए।  नेपालले २०१५ देखि भारतलाई तीनवटा कूटनीतिक नोट पठाइसकेको र चीनलाई पनि पठाएको तर उनीहरू यस विषयमा संवेदनशील नभएपछि नेपालले नयाँ नक्सा जारी गर्नुपरेको तथ्यलाई समेटेर सुरुमा अग्रेजी भाषामा भिडियो निर्माण गरेको उनले जानकारी दिए। त्यसपछि हिन्दी र चिनियाँ भाषामा भिडियो बनाएर त्यहाँका कूटनीतिज्ञ र मुख्यमुख्य समाचारपत्रका आधिकारिक इमेलमा पठाउने काम गरिसकेको उनले बताए।  

उनले हाल निर्माण भइरहेका विभिन्न भाषाका भिडियो सन्देशलाई युटुबमार्फत सार्वजनिक गरिरहेको जानकारी दिए। यसले आवश्यक पर्दा त्यहाँका कूटनीतिज्ञ र आमनागरिकलाई बुझाउन सहज हुने विश्वासका साथ अभियान सुरु गरेको विवेकशील नेपाली दलले जनाएको छ। ‘यसबारे संसारले थाहा पाओस् भनेर अभियान थालिएको हो, यसको उद्देश्य नेपाल–भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्नु नै हो,’ उनले भने। सरकारले मन्त्रिपरिषद्बाट पास गरेर नेपालको नयाँ नक्सा सार्वजनिक गरेसँगै उक्त दलले यो अभियान सुरु गरेको हो। विवेकशील नेपाली दलको छाया सरकार विभागले यो अभियानलाई अघि बढाइरहेको र यो अभियानमा उत्साहजनक प्रतिक्रियाहरू पाइरहेको पाण्डेले जानकारी दिए।  

फरकफरक भाषामा भिडियो बनाउन विदेशमा रहेका नेपालीले सहयोग गरिरहेको उनले जानकारी दिए। हालै मात्र रसियन भाषामा तयार भएको भिडियो निर्माणमा सघाएका जुगल भुर्तेलले विवेकशील नेपालीको यो प्रयासलाई प्रशंसनीय भन्दै आफूले सानो योगदान गर्न पाएकोमा खुसी व्यक्त गरे। फ्रेन्च भाषामा तयार भएको भिडियो निर्माणमा शशीविक्रम कार्की तथा जर्मन भाषाको भिडियोमा विवेकशीलकै केन्द्रीय सदस्य कर्माले सघाएका छन्। 

प्रकाशित: १८ जेष्ठ २०७७ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App