७ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
राजनीति

अलमलमा कांग्रेस, आज बैठक बस्दै

आन्तरिक विवादका कारण अलमलमा परेको नेपाली कांग्रेसले आज सोमबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने छ। बैठकमा सहभागी हुन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध गरिएको दुलाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्तरिक विवादका कारण कांग्रेसले अहिलेसम्म प्रतिनिधिसभा संसदीय दलको नेतासमेत चयन गर्न सकेको छैन। अनुशासन समितिले नेताहरूलाई सोधेको स्पष्टीकरण, नियमित महाधिवेशन प्रक्रिया र सक्रिय सदस्यका बारेमा पनि कांग्रेसमा विवाद छ। मुलुकको पुरानो लोकतान्त्रिक पार्टी अलमलमा पर्दा पार्टीमात्र होइन सिंगो मुलुक नै प्रभावित हुने देखिएको छ। विशेष महाधिवेशन विवादमा सर्वोच्च अदालतले फैसला सुनाए पनि कांग्रेस नेताहरू भावनात्मक रुपमा एकजुट हुन सकेका छैन।

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक पनि सोमबार बस्दै छ। केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरले सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा अनुशासन समितिको बैठक बोलाइएको जानकारी विज्ञप्तिमार्फत दिएका हुन्। यसैबिच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुक र कांग्रेसको पछिल्लो अवस्थाबारे बुद्धिजीवीसँग छलफल गरेका छन्।

कोइरालाले आइतबार आफ्नो सम्पर्क कार्यालय विशालनगरमा पार्टीको पछिल्लो अवस्था र मुलुकको बारेमा छलफल गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। थपलियका अनुसार छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. बिनिता कार्की, जगदिश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, जेनजी युवा अभिजित अधिकारी, करिना पुरीलगायत सहभागी थिए।

छलफलमा कांग्रेस नेताहरु डा. शशांक कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मीनेन्द्र रिजाल, डा. गोविन्दराज पोखरेललगायत उपस्थित थिए।  

प्रकाशित: १४ वैशाख २०८३ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App