१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रमुख दलहरुको आपत्ति

काठमाडौं – सरकारले बिनाकारण सातै प्रदेशका प्रमुख हटाएको भन्दै प्रमुख राजनीतिक दलले असन्तुष्टि जनाएका छन्। दलहरुले प्रदेश प्रमुखलाई हटाएर सरकार सर्वसत्तावाद लाद्न उद्यत भएको आरोप लगाएका छन्। सरकारलाई प्रदेश प्रमुख हटाउने अधिकार भए पनि बिनाआधार सबै प्रदेश प्रमुख हटाएर उक्त पदको गरिमालाई हल्का बनाएको आरोप उनीहरुको छ।

‘प्रदेश प्रमुखजस्तो गरिमामय पदलाई सरकारले एकलौटी र मनपरी ढंगले हटाएर केही बाँकी नराख्ने नीति लिग्यो,’ कांग्रेस नेता रामचन्द्र पौडेलले नागरिकसँग भने, ‘सरकारको यो कदम सर्वसत्तावाद लाद्न उद्यत भएको देखिन्छ।’ सातवटै प्रदेश प्रमुखलाई हटाउने मन्त्रिपरिषद् निर्णय भत्र्सनायोग्य रहेको बताउँदै पौडेलले जथाभावी निर्णय नलिन सरकारलाई सचेत गराए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनतासँग सम्बन्धित कामलाई अलपत्र छाडेर सरकारले असम्बन्धित विषयमा प्रवेश गरेको आरोप लगाए। पूर्वाग्रही माानसिकताबाट ग्रसित भएर सरकारले प्रदेश प्रमुख हटाएको आरोप लगाउँदै शर्माले भने, ‘राम्रो काम गर्नेलाई राखेर नराम्रो गर्नेलाई बर्खास्त गर्न सकिन्थ्यो। तर कुनै मूल्यांकनबिनै हटाइयो।’

कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाएर सरकारले प्रमुख प्रतिपक्षीसँग द्वन्द्व निम्त्याएको उनले बताए। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहित जारी भइसकेको अवस्थामा सरकारको निर्णय आचार संहिताविपरीत भएको कांग्रेसले जनाएको छ। शर्माले भने, ‘निर्वाचन आचारसंहिताको नैतिक हेक्का पनि राखिएन।’

त्यस्तै सत्तारुढ दल समाजवादी पार्टीका साथै राष्ट्रिय जनता पार्टीले पनि प्रदेश प्रमुख हटाइएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश प्रमुखलाई पदमुक्त गर्नुअघि प्रधानमन्त्रीले यस विषयमा आफूहरुसँग छलफलसमेत नगरेको समाजवादी पार्टीका नेताहरूले बताएका छन्। समाजवादी पार्टी कार्यकारिणी समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयबारे आफूसँग सरकारले छलफल नगरेको प्रस्ट पारेका छन्।

उनले भने, ‘यस विषयमा मलाई कुनै जानकारी थिएन। छलफल पनि गरिएको थिएन।’ यसबारेमा अब पार्टीमा छलफल हुने उनको भनाइ थियो। ‘यसबारेमा मन्त्रिपरिषद्ले निर्णय गर्दा तपाईं बैठकमा हुनुहुन्थ्यो’ भनी सोधिएको जिज्ञासामा यादवले भने, ‘म काठमाडौंमै छु। तर यस विषयमा निर्णय गर्दा मलाई जानकारी थिएन।’

समाजवादी पार्टीका महासचिव राम साह यादवले पनि प्रदेश प्रमुखलाई पदमुक्त गरेको विषयमा पार्टीको आगामी बैठकमा छलफल हुने बताए। उनले भने, ‘यस विषयमा मलाई जानकारी भएन। अबको पार्टी बैठकमा छलफल हुन्छ।’

राजपाका महासचिव केशव झाले सरकारले एक्कासि प्रदेश प्रमुख हटाएर ठीक निर्णय नगरेको बताए। उनले भने, ‘प्रदेश प्रमुख हटाउनुपर्ने परिस्थिति अहिले थिएन। यो भनेको पूर्वाग्रहमात्र हो,’। सरकारको निरंकुश कार्यशैलीविरुद्ध राजपाले सशक्त आन्दोलन गर्ने तयारी गरेको झाले बताए। सरकारले प्रदेश प्रमुख हटाउनुअघि यस विषयमा सत्तारूढ दलका नेताहरूले राजपासँग सरसल्लाह नगरेको उनले प्रस्ट पारे।

आइतबार पदमुक्त गरिएका प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ समाजवादी पार्टीसँग निकट मानिन्छन्। उनी तत्कालीन संघीय समाजवादी फोरम नेपालका प्रवक्ता थिए। उनी पार्टी अध्यक्ष यादवसँग निकट मानिन्थे। यादवकै सिफारिसमा उनी प्रदेश प्रमुख नियुक्त भएका हुन्। यसैगरी प्रदेश ५ का प्रदेश प्रमुख उमाकान्त झा राजपा निकट मानिन्छन्। प्रदेश प्रमुख हुनुअघि उनी राजपाका महामन्त्री थिए। झा राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी पनि हुन्।

प्रकाशित: १८ कार्तिक २०७६ ०१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App