३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस : राष्ट्रपतिद्वारा शुभकामना सन्देश

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

उनले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ (२०७६ साल असोज १४) का अवसरमा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गरेकी हुन्। साथै भोली असोज १४ गते प्रचारप्रसार समेत गरिने भएको छ।
     
'दिवसका अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्तालाई उच्च सम्मान र आदर व्यक्त गर्दछु', राष्ट्रपति कार्यालयद्वारा आज जारी सन्देशमा भनिएको छ।

राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको सो सन्देशमा उल्लेख छ।     
     
सन्देशमा भनिएको छ, 'नेपालको संविधान, कानून र नीतिले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको छ, जसलाई व्यवहारिक कार्यान्वयन गर्नुपर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु, संविधानको भावनाअनुरुप राज्यले सीमित स्रोतका बाबजुद पनि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधा प्रदान गर्दै आएको कुरा निश्चय नै खुशीको कुरा हो।'   
     
राष्ट्रपति भण्डारीले दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र विभिन्न सङ्घसंस्थाको संयोजनमा देशव्यापी रुपमा ज्येष्ठ नागरिकको संरक्षण र प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागेको प्रति खुशी व्यक्त गरिन्।    
     
उनले माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग आह्वानसमेत गरेकी छन्। रासस

प्रकाशित: १३ आश्विन २०७६ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App