नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक निर्वाचनअघि एमाले सिद्धियो भनेर विरोधीहरूले हल्ला चलाउने गरे पनि निर्वाचनको परिणामपछि एमाले नै निर्णायक शक्ति र सरकार बनाउने हैसियतमा पुग्ने गरेको बताएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेलाई घेराबन्दी र समाप्त पार्ने प्रयासहरू इतिहासदेखि नै हुँदै आए पनि एमाले त्यसलाई चिरेर माथि उठ्ने गरेको दाबी गरे।
उनले भने, ‘विरोधीहरूले सधैं एमालेलाई समाप्त पार्ने सपना देख्छन्। चुनावअघि एमाले सिद्धियो, अब छैन भन्छन्। तर जब परिणाम आउँछ, सरकार बनाउने र देश हाँक्ने ठाउँमा एमाले नै हुन्छ। चुनाव अघि एमाले सिद्धिन्छ, चुनावपछि सरकार बनाउँछ।’
अध्यक्ष ओलीले एमालेको संघर्षलाई पौराणिक पात्रहरूसँग तुलना गरे।
उनले भने, ‘राम्रो काम गर्नेलाई सधैं खेदो खनिन्छ। रामलाई १४ वर्ष वनवास पठाइयो, पाण्डवलाई लाखागृहमा जलाउन खोजियो र वनवास लखेटियो। एमालेलाई पनि इतिहासदेखि नै सिध्याउन खोजिएको छ, तर हामी खरानी टक्टक्याएर उठ्छौँ र देश बनाउने अभियानमा लाग्छौँ।’
झापा विद्रोहका सहिदहरू र नख्खु जेलको प्रसंग कोट्याउँदै उनले एमाले जस्तोसुकै कठिन परिस्थितिमा पनि नडगमगाउने पार्टी भएको बताए।
ओलीले अन्य दलहरूसँग कुनै गन्तव्य नभएको तर एमालेसँग समृद्ध नेपाल, सुखी नेपालीको स्पष्ट मार्गचित्र रहेको बताए।
‘अरू पार्टीहरू ट्रेडमिलमा दौडिएजस्तो मात्र हुन्, जति कुदे पनि पुग्ने कतै होइन। तर एमाले गन्तव्य तोकेर हिँडेको यात्री हो, त्यसैले हामी सरकारमा हुँदा वा नहुँदा सधैं देशकै पक्षमा हुन्छौँ,’ ओलीले जिकिर गरे।
प्रकाशित: १० माघ २०८२ १५:५० शनिबार





