नेपाली कांग्रेसका नेता बद्री पाण्डेले कांग्रेस अहिले नेपालका लागि राष्ट्रिय एकताको प्रतीक रहेको दाबी गरेका छन्। नागरिक न्युजको निर्वाचन विशेष संवाद कार्यक्रममा कुराकानी गर्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन्।
‘कांग्रेस नेपाली एकताको प्रतीक पनि हो। राजतन्त्र भएका बेला राजालाई एकताको प्रतीक मानिन्थ्यो,’ पाण्डेले भने, ‘तर, अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा एकताको प्रतीक कोही छ भने त्यो नेपाली कांग्रेस हो।’
कांग्रेस सबै क्षेत्र, भूगोल र भेषभूषा बोक्ने जनतासम्म जोडिएको पार्टी भएकाले एकताको प्रतीक रहेको पाण्डेले बताए। उनले अगाडि भने, ‘६ हजार ७४३ वडा कतै त्यस्तो छैन जहाँ कांग्रेस नहोस्। त्यस्तो कुनै जाति, भाषि, भूगोल छैन त्यहाँ नेपाली कांग्रेस नहोस्। नेपाली कांग्रेसले लोकतन्त्र, राष्ट्रियता र एकताको आवाज दिँदा जुरुक्क देश उठ्छ।’
यही कारण देश अहिले अस्थिरता र अनिश्चयतिर जान्छ कि भन्ने चिन्ता रहेका बेला कांग्रेस जित्नुपर्ने उनले बताए। ‘यस्तो अवस्थामा देश, संविधान र लोकतन्त्र बलियो बनाउनका लागि पनि नेपाली कांग्रेस बलियो हुन जरुरी छ,’ उनले भने। त्यसका लागि कांग्रेस एक ढिक्का हुनुपर्नेमा उनको जोड छ।
प्रकाशित: १० माघ २०८२ १६:०१ शनिबार





