काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेन्द्र शाहको जितलाई मधेशका वरिष्ठ नेता राजेन्द्र महतोले त्यतिबेलै ‘परिवर्तनको संकेत’ भनेका थिए। राजनीतिक दलहरूले जनताको अपेक्षा पूरा गर्न नसक्दा वैकल्पिक शक्तिहरू जन्मिने उनको तर्क थियो।
नेपालको राजनीतिमा बालेन्द्र शाहको फरक ढंगको उदयले महतोको त्यतिबेलाको टिप्पणीलाई झन् बलियो बनाइदिएको छ। राजनीतिक दलहरूले जनताको माग पूरा गर्न नसक्दा परिवर्तनको एउटा ठूलो लहर जन्मिएको छ र त्यो लहरको प्रतीकका रूपमा बालेन्द्र शाह उभिएका छन्। त्यसैले महतो पहिलेको तुलना झनै खुसी देखिन्छन्।
‘२ सय ७५ वर्षको इतिहासमा पहिलो पटक मधेशी सपुत प्रधानमन्त्री बन्दैछ,’ राजेन्द्र महतो भन्छन्, ‘हामीले ३५ वर्षदेखि देखेको सपना पूरा हुने अवस्थामा पुगेको छ। मधेशको छोरा देशको नेतृत्वमा पुग्दैछ।’
उनले यो कुनै एक व्यक्तिको मात्र उपलब्धि नभएर दशकौँदेखि चलिरहेको सामाजिक–राजनीतिक संघर्षको परिणाम भएको बताए। महतोका लागि यो क्षण व्यक्तिगत खुसीभन्दा बढी ऐतिहासिक उपलब्धि हो।
‘हामीले देखाएको सपना जनताले पूरा गरिदिएका छन्,’ उनी भन्छन्, ‘मधेशी सपुत देशको प्रधानमन्त्री बन्ने दिन आएको छ भने त्यो पनि परिवर्तनकै अर्को अध्याय हो।’
रोचक कुरा के छ भने मधेश केन्द्रित राजनीतिक दलहरूले पछिल्ला वर्षहरूमा अपेक्षाकृत कमजोर चुनावी परिणाम भोगेका छन्। तर त्यही समयमा मधेशी पहिचान बोकेको एउटा नयाँ नेतृत्व राष्ट्रिय स्तरमा उदाउँदै गएको छ। यही विरोधाभासले नेपालको राजनीतिलाई झन् रोचक बनाएको छ।
‘देशको कार्यकारी पदमा दलित, उत्पीडित र विभिन्न समुदायबाट नेतृत्व आउनुपर्छ भन्ने हाम्रो माग थियो,’ सिके राउत भन्छन्, ‘बालेन्द्रको आगमनले त्यो मागलाई नयाँ अर्थ दिएको छ।’
नेपालको संघीय संरचना र समावेशीताको मुद्दा मधेश आन्दोलनपछि राष्ट्रिय राजनीतिको केन्द्रमा आएको हो। मधेश आन्दोलनले राज्य संरचनामा समान प्रतिनिधित्वको बहसलाई तीव्र बनाएको थियो।
जनमत पार्टीका अध्यक्ष सिके राउत बालेन्द्रको उदयले समावेशी नेतृत्वको अवधारणालाई अझ बलियो बनाएको बताउँछन्। ‘देशको कार्यकारी पदमा दलित, उत्पीडित र विभिन्न समुदायबाट नेतृत्व आउनुपर्छ भन्ने हाम्रो माग थियो,’ राउत भन्छन्, ‘बालेन्द्रको आगमनले त्यो मागलाई नयाँ अर्थ दिएको छ।’
उनका अनुसार संघीयताको सुदृढीकरण र प्रदेशलाई अधिकार सम्पन्न बनाउने बहस अझै अधूरो छ। तर नयाँ नेतृत्वले त्यसलाई अघि बढाउने संकेत दिएको छ।
‘अधिकार माग्न होइन, घुम्नका लागि मात्र काठमाडौं जानुपर्ने अवस्था हुनुपर्छ,‘ राउतले बालेनले जनकपुरमा दिएको एउटा अभिव्यक्ति सम्झिन्छन्, ‘यसले प्रदेश सशक्तीकरणको संकेत गर्छ।’
नेपालको राजनीतिमा मधेश केन्द्रित दलहरूको उदय र उतारचढाव निकै रोचक छ। पहिलो संविधानसभा निर्वाचनपछि मधेशी दलहरू राष्ट्रिय राजनीतिमा शक्तिशाली बनेका थिए। मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्री पार्टी लगायतका दलहरूले उल्लेख्य सिट जितेका थिए।
त्यसपछि मधेशी राजनीति विभिन्न समूहमा विभाजित हुँदै गयो। पछिल्ला निर्वाचनहरूमा मधेशी दलहरूले अपेक्षाकृत कम सिट पाए। बालेन्द्रको पार्टीले मधेश प्रदेशमा रहेका ३२ सिटमध्ये ३० मा विजय हासिल गरेको छ। यो निर्वाचनमा त उनीहरूले थ्रेस होल्ड समेत कटाउन नसकेर शून्य सिटको अवस्थामा पुगेका छन्। तर यही शून्यताा उनीहरू सफलता देखेका छन्।
२ सय ७५ वर्षको इतिहासमा पहिलो पटक मधेशी सपुत प्रधानमन्त्री बन्दैछ। हामीले ३५ वर्षदेखि देखेको सपना पूरा हुने अवस्थामा पुगेको छ। मधेशको छोरा देशको नेतृत्वमा पुग्दैछ। – राजेन्द्र महतो वरिष्ठ नेता
बालेन्द्र शाहको उदयमा उनीहरूले आफ्नो एजेण्डाको जित देखेका छन्। त्यसैले मधेश केन्द्रित दलहरूको साझा गठबन्धन संघिय लोकतान्त्रिक मोर्चाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रक्रियामा सघाउने निर्णय गरेको छ।
महन्थ ठाकुरको अध्यक्षतामा बसेको मोर्चाको बैठकले बालेन्द्रलाई अग्रीम बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएको छ।
मधेशको सपूत प्रधानमन्त्री बन्ने अवस्था आउनु मधेशी, थारु, आदिवासी जनजाति लगायत उत्पीडित समुदायका लागि ऐतिहासिक खुशीको क्षण हो,’ मोर्चाले आफ्नो विज्ञप्तिमा भनेको छ।
मोर्चाले नयाँ नेतृत्वबाट केही महत्त्वपूर्ण अपेक्षाहरू पनि व्यक्त गरेको छ। ती अपेक्षामा संविधान संशोधन, सीमा व्यवस्थापन, जनसंख्याको आधारमा प्रतिनिधित्व, लाल आयोगको प्रतिवेदन सार्वजनिक, संघीयतालाई अझ बलियो बनाउने लगायतका रहेका छन्। यी मुद्दाहरू मधेश आन्दोलनको मूल मागसँग सम्बन्धित छन्।
मधेशवादी दलको परजाय देखिए पनि यद्यपि मधेशी पहिचानको राजनीति भने कमजोर नभएको उनीहरूको बुझाइ छ। भएको छैन। बरु त्यो नयाँ रूप र नयाँ नेतृत्वमार्फत पुनः देखा परिरहेको उनीहरू मान्यता रहेको छ।
‘हामीले १० लाख रोजगारी दिने कुरा गरेका थियौँ,’ सिके राउत भन्छन्, ‘तर अहिले १२ लाख रोजगारीको लक्ष्य राख्ने दललाई जनताले बहुमत दिएका छन्। यसलाई पनि हामी परिवर्तनकै रूपमा हेर्छौं।’
उनीहरूको कुराबाट के बुझिन्छ भने बालेन्द्र शाहको उदय केवल एउटा चुनावी परिणाम होइन। यो नेपाली समाजमा भइरहेका गहिरा परिवर्तनहरूको संकेत पनि हो। काठमाडौंको मेयरमा जितेर राष्ट्रिय राजनीतिमा प्रवेश गरेका बालेन्द्र अहिले परिवर्तनको प्रतीक बनेका छन्। ‘उनको उदयमा मधेशले मात्र हैन पाहाडले पनि आफ्नो जित देखेको छ,’ समाजशास्त्री विदूर लामिछाने भन्छन्, ‘समग्रमा बालेन्द्र शाह एकताको प्रतिक बनेका छन्।’
बालेन्द्र शाहमाथि धेरैले आशा गरे पनि उनको यात्रा त्यति सहज देखिन्न। राजनीतिक संरचना, प्रशासनिक प्रणाली र पुराना शक्ति सन्तुलनलाई बदल्न समय लाग्छ। मधेश आन्दोलनका धेरै मागहरू अझै पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्। संघीयता व्यवहारमा अझै कमजोर देखिन्छ। प्रदेश सरकारहरूको अधिकार सीमित छन्।
‘हामी मधेशका मागहरू पूरा भए नभएको चनाखो भएर हेर्ने छौँ,’ सिके राउत भन्छन्, ‘पूरा नभएमा फेरी हामी जनताका माझ पुग्ने छौँ।’
प्रकाशित: १ चैत्र २०८२ ०९:३६ आइतबार





