८ वैशाख २०८१ शनिबार
राजनीति

कूटनीतिक सन्देश आदानप्रदानमा किन दोहोरिन्छ त्रुटि

काठमाडौ - प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डलबाट बिहीबार बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सनलाई बधाई दिने क्रममा एकैपटक दुईवटा गल्ती भएका छन्। प्रधानमन्त्री ओलीको ट्विटर ह्यान्डलमा मेन्सन गरिएको ट्विटर अकाउन्ट बेलायती प्रधानमन्त्री जोन्सनको थिएन।

यतिमात्र होइन, ट्विटरमा प्रयोग गरिएको भाषामा पनि अशुद्धता देखिएको छ। ट्विटरमा प्रयोग गरेको अंग्रेजी शब्द अजुम्सनको हिज्जे गलत लेखिएको थियो। पहिलो ट्विटमा गल्ती देखिएपछि तत्काल त्यसलाई मेटेर दोस्रो ट्विटमार्फत बेलायती प्रधानमन्त्रीलाई बधाई व्यक्त गरिएको छ। तर दोस्रो ट्विटमा पनि हिज्जे गलत लेखेपछि तेस्रो ट्विटमार्फत सच्याइएको छ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल तथा मिडिया हेर्न आधा दर्जन व्यक्तिलाई विज्ञका रुपमा नियुक्ति दिएर राखेका छन्। यिनै विज्ञका कारण यस्ता गल्ती दोहोरिने गरेका छन्। यसै कारण विदेशी सरकार प्रमुखलाई दिइएको बधाईसमेत खल्लो बन्न पुगेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल यसलाई मानवीय त्रुटी भन्छन्। ‘मैले हतारमा टाइप गर्दा गल्ती भयो, कहिलेकाहीं मानवीय त्रुटि हुन्छ,’ उनले भने। अर्यालका अनुसार यो घटनाले उनलाई आगामी दिनका लागि पाठ सिकाएको छ।

सरकारका विभिन्न निकायमा हुने व्यक्तिको हेलचक्र्याइँ र कतिपय अवस्थामा उनीहरुको अक्षमताका कारण गल्ती दोहोरिने गरेका छन्।

कूटनीतिक क्षेत्रमा भाषाको निकै ठूलो महत्व हुन्छ। तर नेपालमा सरकारी तहबाट हुने यस्तो गल्ती नौलो होइन। यसअघि डिसेम्बर २६ मा राष्ट्रपतिले इन्डोनेसियामा सुनामीमा परी ज्यान गुमाएकाप्रति सम्बोधन गर्दै समकक्षी जोको विड्डोलाई समवेदना पत्र पठाएको भन्नुपर्नेमा परराष्ट्र मन्त्रालयले मिडियालाई पठाएको पत्रमा बधाई सन्देश पठाएको उल्लेख गरिएको थियो। पछि मन्त्रालयले विज्ञप्ति निकालेर गल्ती भएको भन्दै माफीसमेत मागेको थियो। उक्त विषयमा छानबिन गरी गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउने मन्त्रालयले जनाएको थियो।

गत मार्चमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको प्रमाणपत्र बुझाएपछि दूतावासले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति र प्रधानमन्त्री दुवैजनालाई सम्माननीय राष्ट्रपति भनेर उल्लेख गरिएको थियो। दूतावासको विज्ञप्तिमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी र सम्माननीय राष्ट्रपति केपी शर्मा ओली लेखिएको थियो।

२०७५ माघ १० गते स्पेनको मेड्रिडस्थित नेपाली दूतावासको लेटरहेडमै नेपालको हिज्जे गलत भएको दस्तावेज एकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा राखे। उनले नेपालको स्पेलिङ कुन ठीक हो भनेर स्पेनिसले सोधेको भन्दै उक्त लेटरहेडसहितको स्टाटस फेसबुकमा राखेका थिए। सामाजिक सञ्जालमा नेपालको गलत स्पेलसहितको लेटरप्याड सार्वजनिक भएपछि मेड्रिडस्थित दूतावासले छापाखानाका कारण गल्ती भएको भन्दै विज्ञप्ति जारी गरेको थियो।

माथि उल्लेख गरिएका विषय प्रतिनिधि घटना हुन्। सरकारका विभिन्न निकायमा हुने व्यक्तिको हेलचक्र्याइँ र कतिपय अवस्थामा उनीहरुको अक्षमताका कारण यस्ता गल्ती दोहोरिने गरेका छन्। कूटनीतिक मामिलाका जानकार एवं तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र शेरबहादुर देउवाको विदेश मामिला सल्लाहकारका रुपमा काम गरिसकेका डा. दिनेश भट्टराई प्रधानमन्त्रीसँग सम्पूर्ण राज्य संयन्त्र र विज्ञको टोली हुने भए पनि उनीहरु संवेदनशील नहुँदा यस्ता गल्ती हुने गरेको बताउँछन्। ‘यस्ता विषयले एकातिर हाम्रो विश्वसनीयतामाथि प्रश्न उठाउँछ, अर्काेतर्फ हाम्रो संयन्त्र कति कमजोर छ भन्ने कुरा पनि देखाउँछ,’ उनले भने।

भट्टराईले यस्ता विषय साना भए पनि कूटनीतिक क्षेत्रमा ठूलो अर्थ राख्ने बताए। ‘यस्ता घटनाले हाम्रा संस्थाहरु कसरी क्षयीकरण हुँदै गएका छन् भन्ने देखाउँछन्, यो राम्रो संकेत होइन,’ भट्टराईले भने। यस्ता विषयमा धेरै हतार गर्नुभन्दा दोहो¥याएर जाँच गर्ने हो भने गल्ती हुने सम्भावना कम हुने उनले बताए।

प्रकाशित: १० श्रावण २०७६ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App