काठमाडौं, साउन १ (नागरिक)– लोकसेवा आयोगले आर्थिक वर्ष २०७६/०७७ मा निजामती सेवा, सुरक्षा निकाय र सरकारी स्वामित्वका संगठित संस्थाहरुमा पदपूर्तिको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले निजामती सेवातर्फ खरिदारदेखि सचिवसम्म, सुरक्षा निकाय र सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएका संगठित संस्थामा पदपूर्तिको कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिकाअनुसार पदपूर्तिका लागि प्रतिशत निर्धारण, विज्ञापन प्रकाशन, परीक्षा सञ्चालन (लिखित र अन्तर्वार्ता) पछि उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस गरिनेछ। निजामती सेवातर्फ विशिष्ट श्रेणी (सचिव) मा आवश्यकताअनुसार बढुवा प्रक्रियाबाट पदपूर्ति गरिनेछ। राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) प्राविधिक र अप्राविधिकको भदौ÷असोजमा प्रतिशत निर्धारण, असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस÷माघमा परीक्षा सञ्चालन र वैशाखसम्ममा अन्तर्वार्ता र सिफारिस गरिने उल्लेख छ।
राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को हकमा पनि भदौ/असोजमा प्रतिशत निर्धारण गरी असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने र पुस÷माघमा परीक्षा सञ्चालन गरी चैत/वैशाखसम्म अन्तर्वार्ता र सिफारिस गरिने उल्लेख छ।
राजपत्रांकित तृतीय श्रेणी (अधिकृत स्तर) प्राविधिकतर्फ कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन, माघ÷फागुनमा लिखित परीक्षा सञ्चालन गर्ने र अन्तर्वार्तापछि जेठ÷असारसम्म नियुक्तिका लागि सिफारिस गर्ने कार्यतालिका छ। यस्तै अप्राविधिकतर्फ माघमा पहिलो चरण र फागुनमा दोस्रो चरणको परीक्षा सञ्चालन गरी साउन÷भदौसम्म लिखित अन्तर्वार्ता र उम्मेदवार छनोट गर्ने कार्यक्रम छ।
स्वास्थ्य सेवाको एघारौं र नवौं तहमा असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन, पुस÷माघमा लिखित परीक्षा, चैत÷वैशाखसम्ममा अन्तर्वार्ता र नियुक्तिका लागि सिफारिस हुनेछ। स्वास्थ्य सेवातर्फ सातौं र आठौं तहका पदहरुमा भने कात्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन भएपछि माघ/फागुनमा लिखित परीक्षा सञ्चालन गरेर जेठ÷असारसम्ममा अन्तर्वार्ता र नियुक्तिका लागि सिफारिस हुनेछ।
नायबसुब्बा (राजपत्र अनंकित प्रथम श्रेणी) तर्फ अप्राविधिकको पुस अन्तिम बुधबार विज्ञापन हुने र प्राविधिकको माघ अन्तिम बुधबार विज्ञापन हुनेछ। यस्तै लिखित परीक्षा वैशाखमा र भदौसम्ममा अन्तर्वार्तापछि नियुक्तिका लागि सिफारिस हुनेछ।
स्वास्थ्य सेवा पाँचौं तहका पदहरुमा माघ अन्तिम बुधबार विज्ञापन, वैशाखमा परीक्षा सञ्चालन र साउन÷भदौसम्ममा अन्तर्वार्तापछि उम्मेदवार छनोट गरी नियुक्तिका लागि सिफारिस हुनेछ। राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) प्राविधिकतर्फ चैत अन्तिम बुधबार र अप्राविधिकतर्फ फागुन अन्तिम बुधबार विज्ञापन हुनेछ। त्यसैगरी स्वास्थ्य सेवाका चौंथो तहका पदमा चैत अन्तिम बुधबार विज्ञापन हुनेछ। अप्राविधिकको पहिलो चरणको वैशाख र दोस्रो चरणको असारमा परीक्षा हुनेछ। प्राविधिक र स्वास्थ्य सेवाका पदमा जेठमा लिखित परीक्ष, साउनसम्ममा अन्तर्वार्ता र उम्मेदवार सिफारिस गर्ने आयोगको कार्यक्रम छ।
त्यसैगरी सरकार मातहतका संगठित संस्थाहरुको हकमा कात्तिकदेखि फागुनसम्म विभिन्न संस्थाको विज्ञापन प्रकाशन र असारसम्ममा उम्मेदवार सिफारिस गर्ने आयोगको कार्यक्रम छ। आयोगले सरकारबाट पदपूर्तिका लागि माग प्राप्त नभएको खण्डमा पदपूर्तिको कार्यक्रम तालिकाबमोजिम नहुने जनाएको छ। कर्मचारी समायोजनका लागि पदपूर्तिमा अन्योल भएपछि आयोगले गत वर्ष दुईपटकसम्म कार्यतालिका संशोधन गरेको थियो।
प्रकाशित: २ श्रावण २०७६ ०८:३१ बिहीबार