४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कर्मचारी नियुक्तिमा स्थानीय तहको हस्तक्षेप

रोल्पा – कर्मचारी नियुक्तिमा जनप्रतिनिधिले हस्तक्षेप गर्न थालेका छन्। रोल्पा थबाङ गाउँपालिका अध्यक्षले ओभरसियर नियुक्तिको नतिजा बदर गराएका छन्। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका लागि गाउँपालिकाले विज्ञापन गरेको उक्त पदको प्रकाशन गरिएको नतिजा नै बदर गरिएको छ। गत पुष ५ गते ३ जनाले लिखित परीक्षा दिएकोमा ६ गते मौखिक जाँचमा पवन पुन सफल भएको थिए। उक्त सुचना जारी गरेको गाउँपालिका आफ्नै निर्णयबाट पछि सरेपछि विवाद आएको हो।

‘प्रक्रियागत ढंगले फेयर जाँच गराएका हौं। हामी बाहिरका कर्मचारी न हाम्रा कोही थिए न आफ्ना कोही छन्। कसैका आफन्त परेनन् भनेर नतिजा प्रकाशन गरिसकिएको परीक्षा नै बदर गराइएको छ।’ पदपूर्ति समितिका संयोजक तथा गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विकले बताए। ‘मलाईसमेत एक पटक पनि नसोधेर गाउँकार्यपालिकाले पुनः परीक्षा गराउने निर्णय गरेको छ। तर त्यसमा म सहमत छैन।’

अन्तर्वार्तामा असफल भएका उम्मेवार मेहन्द्र केसीले परीक्षामा प्राविधिक प्रश्नसँगै अन्य सामान्यज्ञानका प्रश्न पनि सोधिएको भन्दै परीक्षा बदर गराई पाऊँ भन्दै उनले गाउँपालिकामा निवेदन दिएका थिए। ‘सहभागीले परीक्षामा गडबड भएको भन्दै उजुरी गर्नु भएको रहेछ। त्यसैलाई आधार मानेर बदर गरेका हौ।’

थबाङ गाउँपालिकाका प्रमुख वीरबहादुर घर्तीले भने, ‘अब हामीले परीक्षा गराउन सक्दैनौं। प्रमुख प्रशासकीय अधिकृतले म यो विषयमा कुनै काम नै गर्दिनँ भन्नुभएको छ। बदरको निर्णय पनि फिर्ता हुँदैन बरु कर्मचारी चाहिँदैन।’ आफूहरुलाई परीक्षामा इन्जिनियरिङबाहेक बाहिरबाट पनि प्रश्न सोधिएकाले उजुरी गरेको महेन्द्र केसीले बताए। ‘अरू त केही थाहा भएन। परीक्षामा प्राविधिक प्रश्न मात्र नराखेर सामान्ज्ञानका प्रश्न पनि राखिएकाले उजुरी दिएको हुँ। फिल्डभन्दा बाहिरको प्रश्न सोधिएकोमा आपत्ति हो।’

उता परीक्षामा सफल भएका पुन आफूले नियुक्ति नपाएपछि दिक्क छन्। ‘गाउँपालिकाले पनि केही भनेको छैन। अस्ति नै फोन गरेर सोधेको नियुक्ति हुन्छ भन्नुभएको थियो, अहिले उजुरी परेको भन्ने सुनेको छु।’ आफ्ना मान्छेलाई जागिर खुवाउने थलो बनेको आरोप लाग्ने गरेका स्थानीय तहमा यतिबेला कर्मचारी र जनप्रतिनिधिबीच असहज सम्बन्ध स्थापना हुन थालेको छ। जनप्रतिनिधिहरू आफन्त, चिनजान, कार्यकर्ता र भनसुनमा चल्ने तर कर्मचारीले योग्य जनशक्तिलाई स्थान दिन खोज्ने भएपछि उनीहरुबीचमा दूरी बढ्ने गरेको हो।

प्रकाशित: ४ फाल्गुन २०७५ ०६:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App