बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईद्वारा प्रस्तावित राजनीतिक प्रतिवेदनले उठाएका मुद्दा-विवाद जारी बैठकले टुंग्याउन नसक्ने पार्टी नेताहरूले बताएका छन्।
'तीनवटै प्रस्तावमा बहस/छलफल गर्छौँ। राज्यसमितिका भेला हुन्छन्, त्यसपछि विस्तारित बैठकमा लगिन्छ,' पार्टी सचिव सिपी गजुरेलले भने, 'यी विवादलाई केन्द्रीय समितिको बैठकले टुंग्याउन सक्दैन।'
पार्टीको भावी कार्यदिशाबारे केन्द्रीय समितिमा अध्यक्ष र दुई उपाध्यक्षको फरक दस्तावेज पहिलोपटक आएको हो।
बुधबारबाट जारी बैठकमा प्रस्तावित तीनवटै प्रतिवेदन केन्द्रीय सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइएको छ। बिहीबार अनौपचारिक बैठककै क्रममा पार्टी मुख्यालय पेरिसडाँडा परिसरमै अध्ययन गरेर पार्टी कार्यालयमा फिर्ता गर्न निर्देशनसहित प्रतिवदेन बाँडिएको थियो।
दस्तावेज अध्ययनपछि छलफलबाट टुंगो लगाउने नेतृत्वले केन्द्रीय सदस्यलाई जानकारी गराएका छन्। पार्टीमा पहिलोपटक यसरी फरक-फरक दस्तावेज आएकाले यसलाई तल्लो तहसम्मै छलफलमा लाने तयारी भएको छ। ' तीनवटै राजनीतिक प्रस्तावमा एक अर्काबीच नजानिँदो ढंगले आरोप-प्रत्यारोप लगाएको भेटियो, एक केन्द्रीय सदस्यले नागरिकसँग भने, 'तीनै प्रतिवेदन पार्टी बिग्रिन्छ कि भन्नेमा केन्द्रित देखिन्छ।'
मुलुक संक्रमणकालीन अवस्थामा रहेकाले राजनीतिक कार्यदिशामा विवाद भएको गजुरेलले बताए। त्यसलाई छलफल/बहसका लागि तल्लो निकायसम्म लगेर टुंगो लगाउने तयारी भएको उनले जानकारी दिए।
उपाध्यक्ष वैद्यको दस्तावेज बढी गहकिलो रहेको र सैद्धान्तिक पक्षलाई केलाइएको प्रायः केन्द्रीय सदस्यले बताएका छन्। 'फुन्टिवाङ, चुनवाङ बैठकयताको समीक्षा गर्नुपर्छ भन्नेमा जोड छ। शान्तिसम्झौतामा स्थानीय सत्ता भंग गर्नु, जनयुद्ध अन्त्य भएको घोषणा गर्नु गलत भएको वैद्य प्रतिवेदनमा छ,' एक केन्द्रीय सदस्यले भने।
उनले चुनवाङ बैठकले तय गरेको कार्यनीति संघीय लोकतान्त्रिक गणतन्त्र ठीक भए पनि यसैले रणनीतिक रूप ग्रहण गर्ने सम्भावना देखिएको आशंका गरेका छन्। 'संघीय लोकतान्त्रिक गणतन्त्र कार्यनीतिक रूपमा ठीक हो। तर, यसैले रणनीतिक रूप ग्रहण गर्नु गलत हो। यसमा हामीले समीक्षा गर्नुपर्छ,' वैद्यको प्रस्तावमा छ।
अध्यक्ष दाहालले उपाध्यक्षद्वयप्रति इंगित गर्दै भनेका छन्, 'एकथरी साथीहरू सधैँ क्रान्तिको कुरा मात्रै गरेर वामपन्थी दुस्साहसवादी बनेका छन्, अर्काथरीबाट सृजनात्मकको नाममा यथास्थितिकै वरपर रहेर दक्षिणपन्थीको सेवा गर्ने काम भएको छ। यसको मूल्याकंन हुनुपर्छ।'
वैद्यले पार्टी एकताका क्रममा नटुंगिएका विषय 'माओवाद वा विचारधारा' बारेमा समेत बहस खुला गरेका छन्। पूर्व एकताकेन्द्र-मसाललगायत साना समूह माओवादीमा प्रवेश गर्दा माओवाद र विचारधारालाई महाधिवेशनबाट टुंगो लगाउने सहमति भएको थियो। वैद्यले भने पार्टीलाई माओवाद भनेरै अघि बढ्नुपर्ने दस्तावेजमा उल्लेख गरेका छन्।
प्रकाशित: १० भाद्र २०६७ २१:३२ बिहीबार





