२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
समाज

लमजुङमा अटो दुर्घटना, चालकसहित पाँच जना घाइते

लमजुङको दोर्दी गाउँपालिका–७ दारिमबोटमा अटो दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

उदिपुरबाट दारिमबोटतर्फ जाँदै गरेको ग.प्र.०३–००१ ह ००३७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको हो।

जिल्ला प्रहरी कार्यलयका अनुसार बुधबार दिउँसो करिब १:५० बजेको समयमा उक्त दुर्घटना भएको हो। उकालो सडकमा गुडिरहेको अटो अचानक ‘ब्रेक फेल’ भएर पछाडि हटेपछि सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा परी घाइते हुनेहरू सबै दोर्दी गाउँपालिका-७ का स्थानीय बासिन्दा रहेका छन्। घाइते हुनेहरूमा ३० वर्षीय अटो चालक नबिन गुरुङ, ५१ वर्षीया गम माया गुरुङ, २८ वर्षीय कुशल गुरुङ, २६ वर्षीया हिना लामा गुरुङ र ७० वर्षीय हर्क बहादुर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार चालक नबिन गुरुङको टाउको र घाँटीमा चोट लागेको छ भने गम माया गुरुङको दायाँ आँखामाथि र शरीरका विभिन्न भागमा चोट लागेको छ।

त्यस्तै, कुशल गुरुङको बायाँ खुट्टा र ढाडमा चोट लागेको छ भने हिना लामा गुरुङको टाउकोमा चोट लागेको छ। वृद्ध हर्क बहादुर गुरुङको टाउको र छातिमा चोट लागेको जानकारी दिइएको छ।

घाइते सबैको अवस्था हाल मध्यम रहेको र उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि लमजुङ प्रदेश अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २० जेष्ठ २०८३ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App