सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
बुधबार सिंहदरबारमा बसेको बैठकपछि नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरीलगायत विभिन्न स्थानमा देखिएको तनाव साम्य पार्न सबै राजनीतिक दलको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको बताए।
उनले बैठकमा सहभागी नेताहरूले यस्ता संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप अन्योल सिर्जना गरेको भन्दै सरकारलाई जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्।
आङ्देम्बेले प्रधानमन्त्रीले राष्ट्रपतिसँग समेत छलफल गरी सबै राजनीतिक दललाई विश्वासमा लिएर परिस्थितिको समाधानतर्फ पहल गर्नुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको धारणा बैठकमा व्यक्त भएको बताए।
यसैबीच, नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बैठकमा सुनसरीलगायतका क्षेत्रमा देखिएको तनावपूर्ण अवस्थालाई कसरी सामान्य बनाउने भन्ने विषयमा विस्तृत छलफल भएको जानकारी दिए।
उनले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने विषयमा सरकार किन प्रभावकारी हुन नसकेको भन्नेबारे विभिन्न राजनीतिक दलका नेताहरूले चासो व्यक्त गरेको बताए।
प्रकाशित: १३ श्रावण २०८३ १०:१९ बुधबार





