अमेरिकी सङ्गीत जगत्का चर्चित गायक तथा दुई पटकका ग्रामी अवार्ड विजेता पिबो ब्रायसनको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको परिवारले निधनको पुष्टि गर्दै सङ्गीत क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण गरेको छ।
ब्रायसन विशेषगरी डिज्नीका लोकप्रिय चलचित्रका गीतमार्फत विश्वभर परिचित थिए। उनले गाएका ‘ब्युटी एन्ड द बिस्ट’ र ‘अ होल न्यू वर्ल्ड’ गीतले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता हासिल गरेका थिए।
उनको पाँच दशकभन्दा लामो सङ्गीत यात्रामा आर एन्ड बी, सोल र पप विधाका थुप्रै चर्चित गीत समावेश छन्। उत्कृष्ट गायनका लागि उनले सन् १९९२ र १९९३ मा लगातार दुई वर्ष ग्रामी अवार्ड प्राप्त गरेका थिए।
परिवारद्वारा जारी वक्तव्यमा ब्रायसनको स्वरले लाखौँ श्रोताको जीवनका विशेष क्षणहरूलाई अविस्मरणीय बनाएको उल्लेख गरिएको छ। प्रेम, खुसी र सम्झनासँग जोडिएका धेरै भावनात्मक पलहरूमा उनको सङ्गीतले साथ दिएको परिवारको भनाइ छ।
मिडिया रिपोर्टहरूका अनुसार उनी केही समयदेखि स्वास्थ्य समस्याका कारण उपचाररत थिए। उनलाई स्ट्रोक भएको जानकारी सार्वजनिक भए पनि निधनको आधिकारिक कारण भने खुलाइएको छैन।
यसै वर्ष अप्रिलमा उनले आफ्नो ७५औँ जन्मदिन मनाएका थिए। निधनअघि उनी सक्रिय सङ्गीत यात्रामै थिए र मे महिनामा गायक जेफ्री ओसबोर्नसँग संयुक्त प्रस्तुति दिएका थिए। साथै ‘गोल्डन टच टूर’ अन्तर्गत थप सांगीतिक कार्यक्रम गर्ने तयारीसमेत रहेको बताइएको थियो।ब्रायसनको निधनसँगै अन्तर्राष्ट्रिय सङ्गीत क्षेत्रमा एक प्रभावशाली स्वरको युग अन्त्य भएको प्रतिक्रिया व्यक्त गरिएको छ।
प्रकाशित: २० जेष्ठ २०८३ १५:३२ बुधबार





