१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्लाही रामनगर घटना : त्रासले दुई गाउँ पुरुषविहिन

घटनापछि सुनसान देखिएको रामनगर बोहर्वा गाउँ ।

सर्लाही– जिल्लाको दक्षिण पश्चिम क्षेत्र स्थित रामनगर गाउँपालिका अन्तर्गत बोहर्वा गाउँमा केही दिनअघि वडाध्यक्ष माथि कुटपीट एवं गोली लागि एकजनाको मृत्यु र ७ जना घाइते भएपछि आक्रमण संलग्न भएको भन्दै प्रहरीबाट पक्राउ पर्ने वा विपक्षी समूहको आक्रमणमा पर्ने डरले दुई गाउँ पुरुष विहिन भएको छ।

घटना पश्चात दुई गाउँका पुरुषहरु डरले भागेको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए। ‘डरत्रासले अनावश्यक रुपमा खैर्वा र बोहर्वा दुई गाउँ पुरुषविहिन भएको छ’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘पक्राउ पर्ने डरले सबै पुरुष भाग्नु भएको होला, हामी गम्भीर ढंगले अनुसन्धान पश्चात घटनामा संलग्नलाई मात्र पक्राउ गर्छौंं, दोषि नउम्किउन् र निर्दोष नफसुन् भन्नेमा हामी सचेत छौं।’

पोखरेलले घटना पश्चात खैर्वा र बोहर्वा गाउँमा २४ सै घण्टा नेपाल प्रहरी एवं सशस्त्र प्रहरीको टोली नै खटाइएको बताए। ‘गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ, अब पुनः आक्रमण हुने वा अन्य डर त्रासबाट कसैले भाग्नुपर्ने अवस्था छैन’, प्रहरी उपरीक्षक पोखरेलले भने, ‘बदलावको भावनाले पुनः झडप लगायत घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत पारिएको छ।’

शुक्रबार दिउँसो संचारकर्मीहरुको समूह घटनास्थल भएको बोहर्वा गाउँ पुग्दा उक्त गाउँ आसपासमा महिला र बालबालिका बाहेक पुरुष सदस्य कमै भेटिएका थिए। मंगलबारको आक्रमणमा गोली लागि मृत्यु भएका रामनगर बोहर्वा–४ निवासी कांग्रेस कार्यकर्ता रामविलास महतो तथा बन्दुकको छर्रा लागेर घाइते भएका ७ जना तथा सोमबार कुटपीटबाट गम्भीर घाइते रामनगर गाउँपालिका ४ का वडाध्यक्ष रामनरेश महतोका आफन्त एवं स्थानीय कांग्रेस नेता कार्यकर्ता बाहेक गाउँमा पुरुष सदस्य भागेका हुन्। कोही विर्ता टोला स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्व सभासद् शिवपुजन रायको घरमा बसिरहेका छन् भने अधिकांश भारत तथा अन्य जिल्ला स्थित आफन्तकोमा पुगेको बताइएको छ। 

नेकपा नेता रायले बोहर्वा टोलाका ५÷६ जना वृद्ध पुरुषहरु आप्mनो घरमा शरण लिएर बसिरहेको बताए। ‘घटना भएको बोहर्वा गाउँमै घर भएका ५÷६ जना पुरुष बुढापाकाहरु त्यसै दिन दिउँसो देखि मेरो घरमा आएर बसिरहनु भएको छ’, रायले भने, ‘घटना भएको टोलामै मेरो पार्टी सम्बद्ध ५÷६ घर रहेको छ, मृतक एवं घाइतेहरुको समूहबाट आक्रमण हुने हो कि भन्ने त्रासले यता आएर बसिरहनु भएको हो।’

शिवपुजनको घरमा आश्रय लिएर बसिरहेका ६५ वर्षीय ठाकुर रायले त्रासका कारण आफू घर छाडेर हिँडेको बताए। ‘अघिल्लो दिन वडाध्यक्षलाई कुटेको विषयलाई लिएर मंगलबार बिहानै दुई पक्षका महिलाहरुबीच झगडा सूरु भयो र उनीहरु पक्षबाट हामी माथि आक्रमणको प्रयास भयो, अनि पछि अर्को टोलाबाट हाम्रा पक्षका मान्छेहरु आएपछि दोहोरो झडप भएको र गोली समेत चलेको थियो’, ठाकुर रायले नागरिकसँग भने, ‘त्यसपछि डरले घर छाडेर हिँडेको हुँ, अहिले घरमा आईमाई केटाकेटी मात्र छन्, अब घटना नमिलेसम्म घर जाँनै डर लागिरहेको छ।’

नेता शिवपुजन रायले नेपाली कांग्रेसका नेताहरुले आप्mनो नाम घटनामा मुछेको देख्दा अचम्म लागेको समेत बताए। ‘अघिल्लो दिन वडाअध्यक्ष माथि आक्रमण हुने वितिकै मैले ती गाउँका मान्छेहरुलाई किन त्यस्तो गरेको भनेर गाली समेत गरेँ र लगतै मलंगवा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा व्यवस्था कडा पार्न समेत आग्रह गरें’, उनले भने, ‘भोलिपल्ट बिहान मर्निङ्ग वाकमा गएर घर फर्किएपछि मोबाइल अन गर्दा मात्र मान्छे मरिसक्यो रे भन्ने खबर सुनेँ।’ आक्रमणमा संलग्नहरु आफ्नो पार्टीका भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने र विपक्षी पार्टीको भन्दैमा कांग्रेसका साथिहरुले निर्दोषलाई फसाउने मनसाय राख्न नहुने समेत उनको धारणा थियो।  

यता नेपाली कांग्रेसका नेता एवं उक्त गाउँ पर्ने क्षेत्र नं. ४ बाट निर्वाचित संघीय सांसद् डा. अमरेश कुमार सिंहले पनि घटनामा संलग्न बाहेक अन्य कसैलाई पनि किटानी जाहेरीमा नाम नराख्न आफूले पीडित पक्षलाई आग्रह गरेको बताए। ‘अर्को पार्टीको भन्दैमा घटनामा संलग्न नभएकालाई किटानी जाहेरीमा नाम राखेर नफसाउन मैले मृतकका आफन्त, घाइते एवं कुटाई खाने वडाअध्यक्षज्यूलाई भनेको छु’, उनले भने, ‘घटनामा संलग्न नहुने निर्दोषले गाउँ छाडेर भाग्नुपर्ने आवश्यकता नै छैन र घटनाबारे कानूनी कारबाही प्रक्रिया अगाडि बढिसकेकाले बदलावको भावनाले अर्को आक्रमणको घटना नदोहो-याउन समेत स्थानीय हाम्रा नेता कार्यकर्तालाई मैले निर्देशन दिइसकेको छुँ।’

गत सोमबार घरबाट कार्यालय जाँदै गर्दा बाटोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुको समूहले मरणासन्न हुनेगरी कुटपीटबाट रामनगर गाउँपालिका–४ का वडाअध्यक्ष रामनरेश महतो गम्भिर घाइते भएको कांग्रेसले दाबी गर्दै आएको छ। त्यसको भोलिपल्ट मंगलबार नेकपाकै कार्यकर्ताहरुको समूहले गाउँमै आक्रमण गरी वडाअध्यक्ष रामनरेशका काका रामविलास महतोको गोली हानी हत्या गरेको एवं बन्दुकको छर्रा लागेर ७ जना घाईते भएको कांग्रेसको दाबी छ। नेकपा सर्लाही कार्यदल संयोजन समिति सदस्य रेवती पन्तले गत विहिबार एक विज्ञप्ति प्रकाशित गरी आक्रमणमा नेकपाका कुनै नेता कार्यकर्ताको संलग्नता नरहेको दाबी गरेका छन्।

कांग्रेसले मृतकलाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहत प्रदान गर्नुपर्ने, आक्रमणमा संलग्न दोषिलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने र अवैध हतियार नियन्त्रण गर्नुपर्ने लगायत माग सहित गत बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई ज्ञापत्र पत्र पठाएको थियो। आप्mनो मागप्रति सरकारले कुनै सुनुवाई नगरेको भन्दै कांग्रेस सर्लाहीले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम, जिल्ला बन्द लगायत आन्दोलनको कार्यक्रम शुक्रबार घोषणा गरिसकेको छ।

घाइतेहरु उपचारका लागि काठमाडौंतर्फ

वडाध्यक्ष रामनरेश महतो सहित ७ जना घाइतेहरु थप उपचारका लागि काठमाडौंतर्फ गएका छन्। घटना भएको दिनदेखि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार गराईरहेका उनीहरु शनिबार थप उपचारका लागि काठमाडौंतर्फ लागेका हुन्। ‘अहिले म सहित ६ जना काठमाडौंं वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराईरहेका छौं’, वडाअध्यक्ष महतोले आइतबार साँझ नागरिकसँग टेलिफोनमा भने, ‘घटनामा गोलीको छर्रा लागि घाइते भएका एकजना मलंगवामै उपचार पश्चात घर फर्किएको र एकजनाको आँखामा चोट लागेकाले आँखा अस्पतालमा उपचार गराइरहेका छन्।’ आठै जना घाईतेहरुलाई गत बुधबार कांग्रेस उपसभापति एवं पूर्व गृह मन्त्री विमलेन्द्र निधी, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य आनन्द ढुंगाना, २ नं. प्रदेश भित्रका ८ वटै जिल्लाका सभापतिहरु सहित केन्द्रीय टोलीले जिल्ला अस्पतालमै भेट गरेको थियो।

६ दिनदेखि शव अस्पतालमै

गोली लागि मृत्यु भएका ५५ वर्षीय रामविलास महतोको शव पाँच दिनदेखि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको शव गृहमै रहेको छ। पार्टीले अघी सारेका माग पूरा नभएसम्म शव अस्पतालबाट नउठाइने कांग्रेस सर्लाहीले जनाएको छ। मृतकका भतिजा एवं कुटपीटबाट घाइते वडाअध्यक्ष रामनरेश महतोले घटनाका दोषि पक्राउ पर्नुपर्ने लगायत सम्पूर्ण मागहरु पूरा नभएसम्म आफन्तले शव नबुभ्mने बताए। निकै दिनदेखि शव नउठाइँदा अस्पतालका कर्मचारी, उपचार गराउन आउने विरामी एवं कुरुवा र आसपासका बासिन्दा दुर्गन्ध फैलन सक्ने त्रासमा छन्। 

किटानी जाहेरी दर्ता

घटनामा पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएको छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र अंगभंग गरी ३ वटा मुद्धा दर्ता गरिएको घटनामा घाईते समेत भएका वडाअध्यक्ष रामनरेश महतोले जानकारी दिए। मृतक रामविलास महतोका छोरा रमोद महतोले कर्तव्य ज्यान, वडाअध्यक्ष रामनरेश महतोले अंगभंग र गोली लागि घाइते भएका ७ जनाले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन्। जाहेरीमा पीडित पक्षबाट २२ जनाको नाम किटानी गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी उपरीक्षक पोषराज पोखरेलले किटानी जाहेरी दर्ता भएको उल्लेख गर्दै अनुसन्धान जारी रहेकाले किटानी भएको नाम र संख्या भन्न नमिल्ने बताए। 

घटनाबारे जिल्ला स्थित स्थानीय प्रहरी प्रशासनले वडाअध्यक्षमाथि आक्रमण भएको ६ दिन र गोली प्रहार गरी मृत्यु भएको ५ दिन वित्दा समेत घटनामा दोषी को थिए र कसरी भएको थियो भन्ने एकिन कुरा बाहिर ल्याउन सकेको छैन भने एकजनालाई पनि पक्राउ गर्न सकेको छैन। घटनामा संलग्न भएको आशंकामा केहीछिन नियन्त्रणमा लिएर सोधपुछ गर्ने बाहेक आरोपमै अहिलेसम्म कोही पनि पक्राउ नगरिएको प्रहरी उपरीक्षक पोखरेलले बताए।

प्रकाशित: १८ कार्तिक २०७५ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App