४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दृष्टिका प्रधानसम्पादक श्रेष्ठसँग पनि बयान

काठमाडौं – समाचार छापेकै कारण महानगरीय प्रहरी परिसर, ललितपुरले दृष्टि साप्ताहिकका प्रधानसम्पादक शम्भु श्रेष्ठसँग बुधबार बयान लिएको छ। साइवर अपराध गरेको आरोपमा प्रहरीले हिरासतमा राखेका ‘खोजतलास साप्ताहिक’ तथा खोजतलास न्युज डटकम अनलाइनका प्रधानसम्पादक राजु बस्नेतको बयानपछि बुधबारै श्रेष्ठका नाममा पक्राउ आदेश जारी भएको थियो। प्रहरीको पत्र पाएपछि परिसर पुगेका श्रेष्ठलाई बयान लिएर छाडिएको छ। प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत बस्नेतलाई पक्राउ गरेको हो।

खोजतलास न्युज डटकम अनलाइनमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ शीर्षकमा समाचार छापिएको थियो । सोही समाचार छापिएपछि बस्नेतलाई महानगरीय प्रहरी परिसर, ललितपुरले सोमबार पक्राउ गरी हिरासतमा राखेको हो।

बस्नेतले उक्त शीर्षकको समाचार दृष्टि न्युज डटकम अनलाइनबाट साभार गरी आफूले प्रकाशित गरेको बताएपछि प्रहरीले श्रेष्ठलाई केही बुझ्नु छ भन्दै पत्र काटेको थियो। श्रेष्ठले दृष्टि अनलाइनमा प्रकाशित भएजस्तै हुबहु समाचार खोजतलास अनलाइनमा नभएकाले आफूलाई त्यसबारे जानकारी नभएको बयान दिएका छन् । ‘समाचार साभार गर्दा मलाई सोधिएको पनि छैन, दृष्टि अनलाइनमा छापिएजस्तो हुबहु समाचार खोजतलासमा छैन, स्रोत प्रयोग गरिएको हुनसक्छ’, उनको बयान छ, ‘कस–कसले समाचार साभार गरेर छाप्छन् त्यसका जबाफ दिने काम मेरो होइन।’

उनले बयानपछि प्रहरीले कसैको दबाबमा पत्रकारको स्वतन्त्र अभिव्यक्ति रोक्न खोजेको आभास आफूलाई भएको नागरिकसँग बताए। उनले खोजतलास अनलाइनलाई देखाएर सबै पत्रकार र पत्रपत्रिकामाथि सरकारले घोषित–अघोषित दबाब दिन खोजेको र प्रहरीको यसप्रकारको गतिविधि सामान्य मात्र नभएको बताए।

बस्नेतले ‘हरिसिद्धिको जग्गा गैरकानुनी रूपमा बिक्री गर्न सांसदहरूकै दबाब’ शीर्षकमा दृष्टि अनलाइनमा प्रकाशित समाचार साभार गरी यही भदौ २१ खोजतलास साप्ताहिक पत्रिका र अनलाइनमा प्रकाशन गरेका थिए। बस्नेतलाई पक्राउ आदेश जारी गर्न सांसद पम्फा भुसाल (प्रतिनिधिसभा) र राजकाजी महर्जन (प्रदेशसभा) पक्षबाट ललितपुर जिल्ला अदालतमा निवेदन परेपछि प्रहरीले बस्नेतलाई गोदावरी नगरपालिका–१२, ठेचोबाट पक्राउ गरेको थियो। ललितपुर महानगरपालिका–२७ स्थित हरिसिद्धि इँटा टायल कारखानाको जग्गा भूमाफिया र जनप्रतिनिधि मिलेर बिक्री गर्न लागेको विषयमा दृष्टि र खोजतलासमा समाचार प्रकाशित भएको थियो। सो समाचारले आफ्नो बदनाम भएको भन्दै बस्नेतलाई पक्राउ आदेश जारी गर्न सांसद भुसालका प्रेस सल्लाहकार शुशील खनालले ललितपुर जिल्ला अदालतमा जाहेरी दिएका थिए। अदालतले पक्राउ पूर्जी जारी गरेलगत्तै उनलाई पक्राउ गरी बयानका लागि सरकारी वकिलको कार्यालयमा पु-याइएको थियो। उनलाई अहिले महानगरीय प्रहरी परिसर, ललितपुरको हिरासतमा राखिएको छ। बस्नेतमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ‘खोजतलास साप्ताहीक’ को कार्यालयमा रहेका सामग्री सांसद भुसालका समर्थकले जफत गर्न खोजेको बस्नेतकी पत्नी रमिलाले बताइन्।

दृष्टि साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पनि पक्राउ आदेश जारी गर्न सांसद भुसालका प्रेस सल्लाहकार खनालले जिल्ला अदालत काठमाडौंमा जाहेरी दिएका थिए। प्रतिनिधिसभा सदस्य भुसाल सत्तासीन नेकपाकी केन्द्रीय सदस्य हुन्। खनालले दृष्टि साप्ताहिकले गलत र भ्रामक समाचार प्रकाशन गरेकोले त्यसका सम्पादकलाई पक्राउ आदेश जारी गर्न जाहेरी दिएको बताए। नेकपा निकट दृष्टि साप्ताहिकले केही समययता सरकारका गतिविधिलाई लिएर आलोचनात्मक समाचार छाप्दै आएको छ। खनालले सांंसद भुसालविरुद्ध समाचार लेख्ने जोकोहीलाई पनि कारबाही गरिने बताए।

केही सांसद र नेपाल पत्रकार महासंघले पत्रकार पक्राउको विरोध गर्दै तुरुन्त रिहा गर्न माग गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार प्रेस विज्ञप्ति जारी गरी लेखेकै भरमा पत्रकारलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाको निन्दा गरेको छ। पत्रकार पक्राउको विरोध गर्दै प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ पनि बुधबार महानगरीय प्रहरी परिसर ललितपुर पुगेका थिए। उनले पत्रकारलाई कारबाही गर्ने निकाय हुँदाहुँदै पनि शक्तिको आडमा ‘अन्तै’ बाट कारबाही सिफारिस गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए।

प्रकाशित: २८ भाद्र २०७५ ०१:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App