८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसी समर्थनमा नागरिक अगुवा सडकमा

काठमाडौं - स्थान : माइतीघर
समय : शनिबार मध्याह्न १२ बजे

प्राध्यापक, बुद्धिजीवी, चिकित्सक तथा नागरिक अगुवाहरूले -यालीको अगुवाइ गरेका थिए। अधिकांश प्रदर्शनकारीले हातमा बेलुन बोकेका थिए। प्रदर्शनकारीले बेलुनलाई मेडिकल माफियाको उक्साहटमा हावामा उडिरहेको दुईतिहाई सरकारको संकेतका रूपमा व्याख्या गरेका थिए।
००

स्थान : बानेश्वर
समय : दिउँसो १ बजे

ऐक्यबद्धता जनाउने नारा लेखिएको सेतो कपडा पहिरिएका एक दर्जन युवा निषेधित क्षेत्रको तारबार नजिकै उभिएका थिए। सहभागीले संयमता गुमाए वा तनावको अवस्था पैदा नहोस् भन्ने हेतुले नागरिककै हाते साङ्लोले निषेधित क्षेत्रलाई सुरक्षा दिएका हुन्। औपचारिक मञ्च थिएन, माइक राख्न प्रयोग गरिएको गाडीसँगै उभिएका थिए– पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारवादी कृष्ण पहाडी, लेखक खगेन्द्र संग्रौला, नायिकाद्वय मनीषा कोइराला र करिस्मा मानन्धर, कांग्रेस नेता गगन थापा, श्याम श्रेष्ठ, डा. केदारनरसिंह केसी, रवीन्द्र मिश्रलगायत।
००

स्थान : बानेश्वर
समय : दिउँसो १ः४५ बजे

नागरिक अगुवा कृष्ण पहाडी सभालाई सम्बोधन गर्दै थिए। सयौंका संख्यामा रहेका नेपाल तरुण दलका कार्यकर्ता नागरिक सभा भइरहेको भन्दा फरक ट्र्याकबाट बानेश्वरतिर नाराजुलुस गर्दै निषेधित क्षेत्र तोडे। प्रहरीले कुनै चेतावनीबिना लाठी र अश्रुग्याँस प्रहार गर्न थाल्यो।

तनावपूर्ण बनेको स्थितिले शान्त नागरिक सभालाई केही तरंगित पा-यो। उद्घोषक अधिवक्ता ओम अर्याल संयमित बन्न बारम्बार आग्रह गरिरहेका थिए। ‘साथीहरू मुख थुन्नुस्, आँखा छोप्नुस्, जहाँ हुनुहुन्छ त्यहीं बस्नोस्, जनआन्दोलनमा भोगेको टियर ग्याँस बिर्सिएका छैनौं। सत्याग्रहीहरू गोलीसँग डराउँदैनन्,’ उनी भन्दै थिए। सभाका सहभागी एकत्रित भए, सभा निरन्तर अगाडि बढ्यो।
००

२२ दिनदेखि भोकै लडिरहेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै सोलिडाइरेटी फर गोविन्द केसी अभियानले राजधानीमा शनिबार आयोजना गरेको कार्यक्रम ०६२/०६३ दोस्रो जनआन्दोलनको झल्को दिने खालको देखिएको छ। दोस्रो जनआन्दोलन उत्कर्षमा पु-याउन महत्वपूर्ण भूमिका खेलेका नागरिक अगुवाले -यालीको नेतृत्व गरेका थिए। -यालीका सहभागीले ‘तानाशाही ओली – अस्पतालमा गोली, अस्पतालमा आक्रमण – सरकारलाई संक्रमण, कान खोली सुन – ओली र प्रचण्ड, तिम्रो मार्सी मोहले समाजवाद आउँदैन, नेकपाको सत्ता – चिकित्सा ऐन बेपत्ता’ जस्ता नारा लगाएका थिए।

-यालीपछि बानेश्वरमा आयोजित कोणसभामा सम्बोधन गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. केसीका पक्षमा नबोली नहुने अवस्था आएपछि बाध्य भएर सडकमा आउनुपरेको बताइन्। ‘सरकारको मानो खाएर सरकारविरुद्ध बोल्यो भन्लान्, तर डा. केसीको चिन्ता लाग्छ,’ उनले भनिन्, ‘राति सुुत्नुअघि पनि उहाँलाई के भयो होला भन्ने लाग्छ, बिहानै उठ्नासाथ सिरानमा भएको फोन खोलेर उहाँकै बारेमा सोध्छु।’ कार्कीले डा. केसीलाई कुनै दल समर्थक भनेर राजनीतिक रङ नलगाउन आग्रह गरिन्।

उनले सरकार डा. केसीको जीवनरक्षामा नलागेको आरोप लगाइन्। ‘म नेताहरूलाई माफिया पनि भन्दिनँ, डन पनि भन्दिनँ, बिल गेट्सले त कमाएको सम्पत्ति जनताकहाँ लगेर बाँडे, यहाँका व्यापारीहरुले कहाँ के गरे त?’ उनले सरकारले त्यस्ता व्यक्ति (व्यापारी) पोसिरहेको बताइन्। सरकारबाट कर उठाएको पैसाले चार जना ठेकेदार मोटाइरहेको आरोप कार्कीको थियो । ‘एकजना व्यापारी, कहिले केपीजीलाई हजुर बा हो भन्छ, कहिले काका भन्छ, कहिले मार्सी चामलको भात खुवाएकै हो भन्छ’, कार्कीले भनिन्, ‘हुने–नहुने कुरा बोलिरहेको छ, ओलीजी लाज मान्नुस्।’ उनले सरकार अलोकप्रिय भइरहेको भन्दै डा. केसीको आन्दोलनलाई बेवास्ता गरे देशमा आगो बल्ने र त्यो थाम्न नसक्ने बताइन्।

मानवअधिकारवादी कृष्ण पहाडीले सरकार इतिहासमै बदनाम भएको बताए। ‘सरकारले वैधानिक रुपमा दुईतिहाई त ग्रहण गरेको छ। तर, जनताको मनमा हेर्ने हो भने सबैभन्दा बदनाम सरकार यही हो,’ उनले भने। सरकार विधिको शासन, स्वाभिमानविरोधी भएको आरोप उनले लगाए। ‘ओली र प्रचण्ड सत्ताको भुलभुलैयामा अल्मलिएका छन्,’ उनले भने, ‘यो आन्दोलन बढ्दै गएर सामूहिक सत्याग्रहमा पनि पुग्न सक्छ।’

लेखक खगेन्द्र संग्रौलाले समाजकल्याणका लागि अगाडि बढेका डा. केसीमाथि सरकारले अपराधीलाई जस्तै व्यवहार गरेको बताए। ‘डा. केसीले अगाडि सारेका माग सबै नेपाली जनतालाई समाजवादतर्फ अगाडि बढाउने खालका छन्। आफूलाई जनवादी र समाजवादी भन्नेहरूबाट भने डा. केसीमाथि अपराधीलाई जस्तै व्यवहार गरिएको छ,’ संग्रौलाले भने।

कोणसभामा डा. केसीसँग जुम्लामा रहेका मेडिकल विद्यार्थी विशद दाहालले जुम्लामा राज्यले गरेको ज्यादतीको वर्णन सुनाएका थिए। उनले डा. केसीमाथि प्रहरी लगाएर सरकारले अमानवीय व्यवहार गरेको र अस्पतालका चिकित्सक र नर्समाथि दमन गरेको जानकारी दिए। कार्यक्रममा नेकपाका संगठित सदस्य गौतम राईले संविधानमा लेखिएको शिक्षा र स्वास्थ्यको अधिकार माग्नु जायज भएको बताए। ‘१० वर्ष जनयुद्ध लडेका प्रचण्ड र १४ वर्ष जेल बसेका केपी ओली त्यतिबेला दुःखान्त कथा भए पनि अहिले प्रहसन गरिरहेका छन्,’ राईले भने, ‘म डा.केसीको पक्षमा छु, त्यसका लागि मलाई कसैले रोक्न सक्दैन।’

डा.केसीद्वारा उपचार अस्वीकार
जुम्लाका चिकित्सक र अस्पतालकै उपचारमा सन्तुष्ट रहेको अवस्थामा उपचारको बहानामा अपहरणशैलीमा काठमाडौं ल्याइएको भन्दै डा. केसीले काठमाडौंमा उपलब्ध कुनै पनि जाँच र सेवा लिन अस्वीकार गरेका छन्। कर्णालीमा रहँदा डा. केसीको मुटुको चालमा गम्भीर गडबडी देखिएको थियो। उनलाई बिहीबार साँझ काठमाडौं ल्याइएको थियो। रगतको पोटासियम, म्यागनेजियम, क्यालसियमलगायतका इलेक्ट्रोलाइट्सको पछिल्लो अवस्था के छ भन्ने थाहा नभएकाले स्वास्थ्य अवस्था झन् जोखिमपूर्ण बन्दै गएको चिकित्सकहरुले बताएका छन्। डा. केसीलाई शनिबारदेखि बोल्न कठिन भएको छ। भेट्न आएका शुभेच्छुकसँग उनले इसारामा कुरा गरिरहेका छन्।

विधेयक फिर्ता गरेमात्रै वार्तामा
अनशनरत डा. केसी पक्षले संसद्मा विचाराधीन विधेयक फिर्ता गरेर परिणामुखी वार्ताको म्यान्डेटसहित आएमात्रै सरकारसँग वार्ता गर्ने अडान राखेको छ। डा. केसीको स्वास्थ्य जटिल बनेको अवस्थामा परिणाममुखी वार्ताको मात्रै औचित्य हुने उनी पक्षले स्पष्ट पारेको छ। केसीका पक्षबाट डा. जीवन क्षेत्रीले शनिबार जारी गरेको विज्ञप्तिमा जुम्लामा बल प्रयोग गरेर भौतिक संरचनामा क्षतिसहित थुपै समर्थकमाथि आक्रमणपछि डा. केसीले सामान्य जाँच पनि गर्न नदिएको उल्लेख छ। सरकारका तर्फबाट गठित वार्ताटोलीका संयोजक शिक्षासचिव खगराज बरालले शनिबार नै निःसर्त वार्तामा आउन केसी पक्षलाई विज्ञप्तिमार्फत आग्रह गरेका थिए।

वसन्तपुरमा सामूहिक सत्याग्रह
डा. केसीको जीवनरक्षाका लागि दबाब दिन सोलिडाइरेटी फर जिकेसी अभियानको आह्वानमा आइतबार वसन्तपुरमा सामूहिक सत्याग्रह गरिने भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने सत्याग्रहका लागि दुई सयभन्दा बढिले नाम टिपाइसकेको नागरिक अभियान्त प्रितम सुवेदीले जानकारी दिए। शनिबारको सभापछि आयोजकहरुले निरन्तर नागरिक दबाबका लागि देशभर सत्याग्रह र भद्र अवज्ञाको कार्यक्रम सञ्चालन गर्न लागेका छन्।

प्रकाशित: ६ श्रावण २०७५ ००:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App