२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

डडेल्धुरामा देउवाको विकल्प खोजी

चुनावी चर्चा

प्रजातन्त्र पुनर्स्थापनायताका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या फेरबदल नभइ एउटै मात्र छ। एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट निरन्तर रुपमा शेरबहादुर देउवा निर्वाचित हुँदै आएका छन्। २०६२/६३ सालको जनआन्दोलनपछि नेकपा माओवादी शान्तिप्रक्रियामा आयो। नेकपा माओवादीको रापताप भएका बेला २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पनि देउवा नै निर्वाचित भए। तीन दशकसम्म डडेल्धुराले देउवाको विकल्प खोजेन । २०४८ सालदेखि डडेल्धुराबाट लगातार निर्वाचित देउवा पाँच पटकसम्म प्रधानमन्त्री बन्न सफल भएका छन्।

सुशासन, भ्रष्टाचार अन्त्य र समाजिक सञ्जालमा लगाइएको बन्देज खुला हुनुपर्ने मुख्य नारा लिएर जेनजीले गत भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा दोस्रो दिन देउवामाथि काठमाडौं बुढानीलकन्ठस्थित निवासमा आक्रमण र कुटपिट भयो। पार्टी सभापति देउवाको घर जलाइयो, उनकी पत्नी आरजुमाथि पनि हातपात भयो। त्यसको झन्डै एक महिनापछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाह सभापतिको जिम्मेवारी दिएर सक्रिय राजनीतिबाट विश्राम लिएका छन्।

देउवा फेरि निर्वाचन लड्ने वा नलड्ने भन्ने यकिन भैसकेको छैन। बदलिँदो परिस्थितिमा देउवाले निर्वाचन नलडे अब डडेल्धुराबाट को निर्वाचित होला? देउवा नै निर्वाचन लड्न तयार भए विगतमा जस्तै उनलाई निर्वाचित हुन सहज होला कि नहोला? भन्ने चर्चा र चासो जिल्लामा सुरु भएको छ।

जेनजी आन्दोलनपछि डडेल्धुराबाट प्रतिनिधिसभामा नयाँ नेता चुनिने आशामा युवा पुस्ता छ। ‘अहिले अवस्था बदलिएको छ, युवा पुस्ताको पुराना दलप्रति विश्वास छैन, अबको निर्वाचनमा डडेल्धुराबाट नयाँ नेता चुनिने सम्भावना देखिन्छ’, नागरिक समाजका अगुवा तथा अधिवक्ता विष्णु भट्ट भन्छन्।

जेनजी आन्दोलनपछि जनताको सोच र दृष्टिकोणमा आएको बदलावका कारण देउवा नै चुनावी मैदानमा उत्रिए पनि विगतको जस्तो जित सहज नहुने युवा पुस्ताको विश्लेषण छ र चुनाव लडेमा अझै पनि उनले जित्न सक्ने आकलन गर्नेको पनि कमी छैन। अबको निर्वाचनबाट नतिजा जे आए पनि विगतको भन्दा अवस्था फरक भएकोमा सबैको एकमत छन। ‘डडेल्धुराका ग्रामीण बस्तीमा अझै पनि सचेतनाको कमी छ, देउवा चुनावमा सबै उपाय अपनाउन सक्ने खेलाडी हुन्’, डडेल्धुराका शिक्षक मोहन भट्टराई भन्छन्, ‘देउवा नै चुनाव लडेमा विगतको जस्तो सहज नहोला तर उनले जित्न पनि सक्छन्।’

लामो समयदेखि एकैजना निर्वाचित भएकाले अब युवा पुस्ता मत बदल्ने मनस्थितिमा रहेको कतिपय बताउँछन्। ‘पुराना दलले नीति, व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ’, महेन्द्र मावि डडेल्धुराका प्रधानाध्यापक सुरेन्द्र ऐर भन्छन्, ‘पुरानै दलका पुरानै नेता निर्वाचित हुन अब गाह्रो हुन सक्छ, पुराना दल भए पनि अब नयाँ अनुहारलाई जनताले रुचाउने अवस्था छ।’

डडेल्धुरामा नयाँ दल पनि स्थापित हुने सम्भावना नरहेको उनको विश्लेषण छ। जनताको अपेक्षा दुई छाक खाना, श्वास्थ्य, शिक्षालगायत आधारभूत कुरामा पहुँच होस् भन्ने मात्र रहेको उनले बताए।

चुनाव हुनेमा आंशका

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार फागुन २१ गते तोकिएको समयमै निर्वाचन गराउने तयारीमा छ तर मतदाता भने सोही मितिमा निर्वाचन हुनेमा विश्वस्त देखिँदैनन्। ‘फागुन २१ गते निर्वाचन होला भनेर विश्वास गर्ने अवस्था देखिँदैन’, प्राध्यापक युवराज जोशी भन्छन्। ढिलोचाँडो भए पनि निर्वाचन हुनैपर्ने भएकाले सरकारले राजनीतिक दलसँग संवाद बढाएर वातावरण बनाउनुपर्ने उनको भनाइ छ।

देउवाको बहिर्गमन सम्मानजनक होस्

२०४८ सालदेखि निरन्तर प्रतिनिधिसभा/संविधानसभा सदस्य बनेका देउवाकै गृहजिल्लामा पनि जेनजी आन्दोलन भयो। पुराना नेता राजनीतिबाट बहिर्गमन हुनुपर्ने पक्षमा डडेल्धुराका युवा पनि छन्। सम्मानपूर्वक सक्रिय राजनीतिबाट अलग भएर देउवाले नै नयाँ व्यक्तिलाई डडेल्धुराबाट उम्मेदवार बनाउनुपर्ने मत जिल्लामा बलियो छ।

‘आगामी निर्वाचनमा देउवाले नयाँ उम्मेदवार अघि सार्नुपर्छ र उहाँ सम्मानजनक रुपमा सक्रिय राजनीतिबाट बाहिरिनुपर्छ’, प्रधानाध्यापक ऐर भन्छन्। राजनीतिक दलका पुराना नेताहरुले लोकतन्त्र स्थापनाका लागी योगदान गरेको भए पनि जनताको अपेक्षाबमोजिम काम गर्न नसकेकाले युवा पुस्ता मत बदल्ने मनस्थितिमा देखिएको उनी बताउँछन्।

गत प्रतिनिधिसभा निर्वाचनमा गुल्मीबाट आएर डडेल्धुरमा उम्मेदवार बनेका युवा पुस्ताका सागर ढकालले करिब १३ हजार ४२ मत ल्याउनुले पनि पुराना नेताप्रतिको आकर्षण कम हुँदै गएको विश्लेषण ऐरको छ। गत निर्वाचनमा २५ हजार ५ सय ३४ मत ल्याएर देउवा निर्वाचित भएका थिए।

पुराना राजनीतिक दलहरुको संगठन र जग बलियो भए पनि कार्यशैलीमा सुधार आवश्यक रहेको ऐरको भनाइ छ। ‘पुराना राजनीतिक दलका नेताले जुन प्रकारकाले काम गर्नुपथ्र्यो त्यो गर्न नसक्दा उनीहरूप्रति युवा पुस्ताको भरोसा घटेको देखिन्छ’, उनले भने।

जेनजी आन्दोलनमा घुसपैठ भएर निजी तथा सरकारी सम्पतिमा आगो लगाउन गलत भए पनि माग जायज भएको उनले बताए। ‘दलीय सरकारले कामै नगरेको भन्ने होइन् तर जनताको अपेक्षाबमोजिम हुन सकेन’, उनले भने, ‘आगामी निर्वाचनमा शेरबहादुर देउवाले नयाँ प्रतिनिधिअघि सारेर सम्मानजनक रुपमा बहिर्गमन हुनुपर्छ।’

चुनावको विकल्प नरहेको र सरकारले राजनीतिक दललाई विश्वासमा लिएर अघि बढ्नुपर्ने उनी बताउँछन्।

पुराना नेताप्रति छैन विश्वास

पाँचपटक प्रधानमन्त्री भएका देउवाको गृहजिल्ला डडेल्धुरामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठुलो संख्यामा युवा प्रदर्शनमा उत्रिएका थिए। ‘राजधानीकै हाराहारीमा यहाँ प्रदर्शन भयो, यो जनविद्रोह नै थियो’, नागरिक समाजका अगुवा एवं अधिवक्ता भट्ट भन्छन्, ‘डडेल्धुरामा यो विद्रोह लामो समयदेखि एउटै जनप्रतिनिधिविरुद्ध पनि हो।’

पुराना दलका पुराना नेताप्रति जनताको विश्वास गुमेको उनको भनाइ छ। ‘चोक, चौतारामा पुराना दलप्रतिको वितृष्णा सुनिन्छ’, उनले भने।

युवा उत्साहित

जेनजी आन्दोलनपछि वैकल्पिक नयाँ शक्तिमा आबद्ध तथा स्वतन्त्र युवा उत्साहित देखिएका छन्। जेनजी अभियन्ता दिनेश बाहुन डडेल्धुराले अबर देउवाको विकल्प सक्षम र नयाँ युवालाई जिताउने बताउँछन्। ‘अब देउवा निर्वाचन लड्न आउँछन जस्तो लाग्दैन। उहाँले अब नयाँ युवालाई छोडिदिनुपर्छ’, उनले भने।

डडेल्धुरामा देउवाको विकल्पमा सक्षम युवा रहेको उनको भनाइ छ। डडेल्धुराबाट २०४६, ५१, ५६, ६४, ७०, ७४ र ७९ मा देउवा निर्वाचित भएका थिए।

दलीय गतिविधि शून्य

फागुन २१ गते निर्वाचन मिति तोकिए पनि कुनै पनि राजनीतीक दलले खासै चुनावी गतिविधि सुरु गरेका छैनन्। जेन्जी आन्दोलनपछि राजनीतिक गतिविधिमा शून्य देखिएका दलले विस्तारै सक्रिय हुन थालेका छन्। नेपाली कांग्रेस डडेल्धुराका सचिव शेरबहादुर भण्डारी चुनावकेन्द्रित कुनै गतिविधि सुरु नगरेको बताउँछन्। ‘बैठक, सदस्यता वितरण लगायत नियमित गतिविधि भैरहेका छन्’, उनले भने, ‘चुनावकेन्द्रित काम सुरु भएको छैन।’

नेकपा एमालेले भने केन्द्रीय कार्यक्रमअनुसार प्रतिनिधिसभा पुनस्र्थापनाको माग राखेर शनिबार र वडास्तरीय र मंगलबार पालिकास्तरीय कार्यक्रम गरेको छ। अन्य कार्यक्रमको पनि तयारी भइरहेको एमाले डडेल्धुराका नेता गजेन्द्र शाहीले बताए।

के भन्छन् मतदाता?

दलतन्त्र अन्त्य हुनुपर्छ

 कृष्णप्रसाद भट्ट, प्राध्यापक

– कृष्णप्रसाद भट्ट, प्राध्यापक

डडेल्धुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो। जनताले उहाँको कार्यशैली मन पराएको अवस्था थिएन। जेनजी आन्दोलनका क्रममा उहाँको घरमा आगो लगाइयो, उहाँको घरमा धेरै पैसा जलेको तस्बिर र भिडियो सार्वजनिक भए। भिडियो एआईले बनाएको भन्ने कुरा जनताले पत्ताएका छैनन्।

हुन त अनुसन्धानले देखाउँला। नेपालको इतिहासमा अनुसन्धान पनि कति सही हुन्छ भन्ने प्रश्न छ। अनुसन्धान गर्ने पनि नेताकै आशीर्वादले पदमा पुगेका व्यक्ति छन्। पार्टीहरुमा भ्रष्टीकरण भयो। लोकतन्त्रभन्दा पनि दलतन्त्र बलियो भएर आयो। यो कांग्रेसको मात्र कुरा नभएर सबै दलमा लागु हुन्छे। जेनजी आन्दोलनअघि नेकपा एमालको अध्यक्ष दुई कार्यकाल मात्र हुने प्रावधानलाई केपी ओलीले हटाएर आफूअनुकूल बनाए। नेकपा माओवादीमा पुष्पकमल दाहाल ३५ वर्षदेखि नेतृत्वमा छन् तर पुराना नेताले नेतृत्व हस्तान्तरण गर्न छाँटकाँट देखिँदैन।

पुराना दलले केही नगरेको भन्नेचाहिँ होइन। लोकतन्त्र स्थापना, अभिव्यक्ति स्वतन्त्रता र संविधान बनाउन उनीहरूको योगदान छ। पछिल्लो समयमा जनताको अपेक्षाबमोजिम काम नहुदाँ युवा निराशामा छन्। युवा जनशक्ति पलायन भइरहेको छ।

युवा आक्रोश जेनजी ओन्दोलनमा प्रकट भयो तर जेनजीको पार्टी बनेको छैन। निर्वाचनमा पुरानै राजनीतिक दलले जितेमा त्यसले जेनजी आन्दोलनले चाहेको परिवर्तन सम्भव छैन। पुराना राजनीतिक दलको सरकार बनेमा जेनजी आन्दोलनमा सहभागीलाई अपराधी करार गरेर दमन गर्ने र घर जलेकालाई राज्य कोषबाट लाखौं रकम उपलब्ध गराउने अवस्था हुनसक्छ।

यही अवस्थामा फागुन २१ गते निर्वाचन होला जस्तो लाग्दैन। चुनाव भए पनि जेनजी आन्दोलनले अपेक्षा गरेबमोजिमको नतिजा आउँला जस्तो लाग्दैन। डडेल्धुरामा अब कांग्रेसले कसलाई उम्मेदवार बनाउँछ भन्ने कुराले पनि अर्थ राख्ला।

गाउँमा पुरानै सोच छ

–रमेशप्रसाद जोशी, अध्यक्ष नागरिक समाज

रमेशप्रसाद जोशी, अध्यक्ष नागरिक समाज

डडेल्धुरामा प्रहरीको मनोबल गिरेर हो कि किन हो जेनजी आन्दोलनपछि विभिन्न स्थानमा प्रहरीको उपस्थिति र सक्रियता कमजोर देखिन्छ। प्रहरीको मनोबल बढाउन सामाजिक संघसंस्थाले समन्वय गरिरहेका छन्। जेनजी आन्दोलनमा प्रहरी कार्यालय जोगाउन नागरिक समाजका व्यक्तिले प्रयास गरे। डडेल्धुरा राजनीतिक चेत भएको जिल्ला नै हो। राजनीतिक दलका गतिविधि निरन्तर भैरहन्थे तर पछिल्लो अवस्थामा राजनीतिक गतिविधि भएका छैनन्। अहिलेको अवस्था हेर्दा निर्वाचन हुनेमा द्विविधा छ। नयाँ दलहरुको पनि गतिविधि केही छैन। ग्रामीण बस्तीका मान्छेको सोच धेरै बदलिएको छैन। युवा पुस्तामा जोश र जाँगर भने धेरै देखिएको छ। पुराना राजनीतिक दललाई पहिलेको जस्तो सहज भने चुनावमा हुने देखिन्न। तोकिएको समय फागुनमै निर्वाचन हुन्छ भनेर ढुक्क हुने अवस्था छैन।

प्रधामन्त्री चुन्न पाउनुपर्छ

–दानबहादुर भण्डारी, व्यवसायी

–दानबहादुर भण्डारी, व्यवसायी

फागुन २१ गते निर्वाचन होला भन्ने विश्वास मलाई छैन। चुनावी गतिविधि पनि छैन। जेनजी आन्दोलन भयो। उनै पुराना दल, उनै नेताहरु रहेको यही अवस्थामा निर्वाचन भएर पनि कुनै अर्थ छैन। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ। जनताले प्रधानमन्त्री चुन्न पाउनुप¥यो। कमिसन खाने र भ्रष्टाचारको अखडा प्रदेश संरचना खारेज हुनुपर्छ। भर्तीकेन्द्र बनाइएको समानुपातिक निर्वाचन प्रणाली हट्नुपर्छ। यही अवस्थामा निर्वाचन भयो भने पनि बहुमत कसैको आउँदैन। फेरि खिचडी सरकार, अस्थिरता हुने निश्चित छ। युवा पुस्ताले पुराना राजनीतिक दललाई मत दिँदैन। यसअघिको निर्वाचनमा मेरो छोरा मतदाता थिएन्, अब मत दिन पाउँछ। उसले कुनै पनि हालतमा पुराना दललाई मत दिन मान्दैन।

नयाँ दल आउनुपर्छ

–यज्ञराज जोशी, अधिवक्ता

–यज्ञराज जोशी, अधिवक्ता

शेरबहादुर देउवाप्रति डडेल्धुरामा जनताको सहानुभूति थियो। डडेल्धुरामा व्यक्तिकेन्द्रित राजनीति हुन्थ्यो। जेनजी आन्दोलनपछि अवस्था बदलिएको छ। पुराना दलप्रति अहिले मतदाता सन्तुष्ट छैनन्। निर्वाचनमा नयाँ दलबाट राम्रो छवि भएको व्यक्ति उम्मेदवार भएर जितेमा  परिवर्तनको सम्भावना देखिन्छ। नयाँमा पनि रास्वपामा रवि लामिछानेप्रति मतदाता सकारात्मक छैनन्। उहाँका गतिविधि त्यस्तै देखिए। त्यो पार्टीमा युवा छन तर रविलाई देवता मान्नुपर्ने रहेछ। रविको नेतृत्वमा रास्वपाले जित्ने सम्भावना हुँदैन। पहिलेका अजयमेरु राजा कोट छाडेर गएका हुन, अहिले रुहाखोलाका राजा (देउवा) सिगांपुर गए भनेर मतदाताले हाँसो गरिरहेका छन्।

पुराना दलप्रति युवाको विश्वास छैन

दिनेश बाहुन, विद्यार्थी

दिनेश बाहुन, विद्यार्थी

पुराना राजनीतिक दलहरुले जरा गाडेका छन्। अहिले अवस्था बदलिएको छ। जनताको समस्या के हो भन्ने सबैलाई थाह छ। जनताको समस्याको समाधान गर्ने नेता हामीलाई चाहिएको छ। पुराना राजनीतिक दलप्रति युवाको बिलकुलै विश्वास छैन। नेताको घरमा पैसा जलेको भिडियोलाई एआईबाट बनाएको भनेर प्रचार गरिँदैछ। गाउँतिर शिक्षा र चेतना अझै पनि कम छ। शेरबहादुर देउवाले अब सम्मानका लागि पनि चुनाव लड्नु हुँदैन। उहाँले पार्टीमा अभिभावक बन्नुपर्छ।

युवा उमेरको शेरबहादुर देउवा मलाई धेरै मन पर्छ। हामी जस्तै युवा उमेरमा ग्रामीण क्षेत्रबाट उठेर उहाँले सुदूरपश्चिमको आवाज उठाउनु भयो, यो क्षेत्रलाई चिनाउनु भयो। लोकतन्त्र स्थापनामा उहाँले राम्रो भूमिका निर्वाह गर्नुभयो। शक्तिमा पुगेपछि उहाँ भ्रष्टाचारमा लिप्त हुनुभयो, जनताका समस्या भुल्नुभयो। अहिले उहाँ उपचारका लागि सिंगापुर जानुभएको छ। देउवा मात्र अगाडि बढ्नुभयो तर डडेल्धुराका जनताको अवस्था जस्ताको तस्तै छ। अब हामी युवाले जनताको अवस्था बदल्ने परिवर्तन खोजेका छौं।

प्रकाशित: २६ कार्तिक २०८२ ०७:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App