लोकतन्त्रको सबैभन्दा बलियो आधार निर्वाचन प्रक्रिया हो। जनताले आफ्ना प्रतिनिधि छान्ने, नीति–निर्माणमा सहभागिता जनाउने र राज्य सञ्चालनको दिशानिर्देश तय गर्ने मुख्य माध्यम नै चुनाव हो। जेनजी आन्दोलनले युवा पुस्तामा ल्याएको राजनीतिक तरंगले चुनावप्रति युवाहरूको आकर्षण बढ्दो क्रममा देखिएको छ । “मेरो भोटले के फरक पर्छ र रु” भन्ने युवाहरु एकैपटक लाखौंको संख्यामा मतदाताको सूचीमा थपिएका छन् । निर्वाचन आयोगको तथ्यांकअनुसार, जेनजी आन्दोलनपछि मात्र ८ लाख ३७ हजार बढी मतदाता थपिएका छन् । यसले चुनावको आवश्यकता र त्यसले युवाको भविष्यमा अब गम्भीर बहस आवश्यक देखाएको छ।
लोकतन्त्र जनताको शासन हो, जहाँ सत्ता जनताबाट निर्वाचित प्रतिनिधिमार्फत सञ्चालन हुन्छ। निर्वाचन बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन। चुनावले सरकारलाई वैधता मात्र दिँदैन, जनताको आवाज नीति र योजनामा समेट्ने अवसर पनि प्रदान गर्छ। नियमित, निष्पक्ष र पारदर्शी चुनावले राज्यमा उत्तरदायित्व र सुशासन सुनिश्चित गर्छ।
युवामा बढ्दो बेरोजगारी, विदेश पलायन, शिक्षा र सीप अनुसारको अवसरको अभावले राजनीतिक प्रणालीप्रति निराशा जन्माएको छ। यही निराशाले चुनावमा सहभागिता घटाउँदै लगेको विश्लेषकहरू बताउँछन्।
नेपालजस्तो लोकतान्त्रिक अभ्यासमा नयाँ–नयाँ चुनौती झेलिरहेको देशका लागि निर्वाचन झन् महत्त्वपूर्ण विषय हो। राजनीतिक स्थायित्व, विकासको निरन्तरता र सामाजिक न्याय कायम गर्न जनताको सक्रिय सहभागिता अपरिहार्य छ। यही सहभागिताको मेरुदण्ड युवापुस्ता हुन्।
युवास् संख्या मात्रै होइन, शक्ति
नेपालको कुल जनसंख्याको ठूलो हिस्सा युवाले ओगटेका छन्। उनीहरू केवल मतदाता मात्र होइनन्, परिवर्तनका संवाहक हुन्। इतिहास हेर्दा पनि राजनीतिक परिवर्तन, सामाजिक आन्दोलन र लोकतान्त्रिक उपलब्धिमा युवाको भूमिका निर्णायक रहँदै आएको छ। तर विडम्बना, आज धेरै युवा चुनावलाई बोझ, औपचारिकता वा निरर्थक प्रक्रियाका रूपमा हेर्न थालेका छन्। युवामा बढ्दो बेरोजगारी, विदेश पलायन, शिक्षा र सीप अनुसारको अवसरको अभावले राजनीतिक प्रणालीप्रति निराशा जन्माएको छ। यही निराशाले चुनावमा सहभागिता घटाउँदै लगेको विश्लेषकहरू बताउँछन्। तर चुनावबाट टाढा बस्नु समस्या समाधान होइन, बरु समस्या गहिरिँदै जाने संकेत हो।
चुनाव र युवाको भविष्यबीचको सम्बन्ध
चुनावले प्रत्यक्ष रूपमा युवाको भविष्य निर्धारण गर्छ। शिक्षा नीति, रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, डिजिटल नेपाल, खेलकुद, कला–संस्कृति तथा प्रविधि विकास जस्ता विषयमा बन्ने नीति निर्वाचित नेतृत्वकै हातमा हुन्छ। यदि युवाले आफ्नो मत प्रयोग गरेनन् भने, उनीहरूको आवश्यकता र सपना नीति–निर्माणमा समेटिन सक्दैन। आजको विश्व प्रतिस्पर्धात्मक छ। सीप, नवप्रवर्तन र प्रविधिमा आधारित अर्थतन्त्रतर्फ नेपाललाई लैजान युवा–मैत्री नीति आवश्यक छ। यस्ता नीति तब मात्र सम्भव हुन्छन्, जब युवाले सचेत भएर नेतृत्व छान्छन् र निर्वाचित प्रतिनिधिलाई निरन्तर प्रश्न गर्छन्।
चुनाव लोकतन्त्रको उत्सव हो र युवा त्यसका मुख्य नायक। युवाको सहभागिता बिना लोकतन्त्र अधुरो रहन्छ, र युवाले राजनीति त्यागेमा भविष्य अनिश्चित बन्छ। अबको आवश्यकता चुनावप्रति विश्वास पुनःस्थापना गर्नु, युवामैत्री राजनीति निर्माण गर्नु र युवालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनु हो।
राजनीतिक दलहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ। घोषणापत्रमा युवा शब्द समेटेर मात्र पुग्दैन, व्यवहारमा अवसर दिनुपर्छ। नेतृत्व तहमा युवाको सहभागिता बढाउन, निर्णय प्रक्रियामा उनीहरूको आवाज सुन्न र नयाँ सोचलाई स्वागत गर्न राजनीतिक संस्कार परिवर्तन आवश्यक छ। युवा केवल चुनावको बेला भोट बैंक होइनन्। उनीहरू नीति सह–निर्माता, आलोचक र साझेदार हुन्। युवालाई बेवास्ता गर्ने राजनीति दीर्घकालीन रूपमा असफल हुन्छ।
चुनावप्रति उदासीन हुनु भनेको आफ्नो भविष्य अरूको हातमा सुम्पिनु हो। सचेत, शिक्षित र सक्रिय युवाले मात्र सबल लोकतन्त्र निर्माण गर्न सक्छन्। मतदान मात्र होइन, राजनीतिक बहस, नागरिक निगरानी र सामाजिक संवादमा युवाको सहभागिता आजको आवश्यकता हो। आज गरिएको एक मत प्रयोगले भोलिको शिक्षा, रोजगारी र जीवनस्तर निर्धारण गर्न सक्छ। त्यसैले चुनावलाई केवल एक दिनको प्रक्रिया नभई, दीर्घकालीन लगानीका रूपमा हेर्नु जरुरी छ।
निष्कर्ष
चुनाव लोकतन्त्रको उत्सव हो र युवा त्यसका मुख्य नायक। युवाको सहभागिता बिना लोकतन्त्र अधुरो रहन्छ, र युवाले राजनीति त्यागेमा भविष्य अनिश्चित बन्छ। अबको आवश्यकता चुनावप्रति विश्वास पुनःस्थापना गर्नु, युवामैत्री राजनीति निर्माण गर्नु र युवालाई निर्णय प्रक्रियाको केन्द्रमा ल्याउनु हो।
युवा जागे भने, लोकतन्त्र बलियो हुन्छ। लोकतन्त्र बलियो भयो भने, युवाको भविष्य सुरक्षित हुन्छ।
प्रकाशित: २६ माघ २०८२ १६:५३ सोमबार

