२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

बिनापैसा नेपालका ७७ जिल्ला भ्रमण गर्ने सीतालाई सम्मान

सीतालाई सम्मानपत्र प्रदान गर्दै उपाध्यक्ष खड्का र प्रमुख प्रशासकीय अधिकृत भक्त चामलिङ राई। तस्बिरः महेश्वर

बिनाखर्च देशभरि घुम्न सफल भएकी एक युवती सम्मानित भएकी छिन्। पैसाबिनै देशका ७७ वटै जिल्ला घुमेर गृहजिल्ला फर्केकी युट्युबर तथा भ्लगर उदयपुरगढी गाउँपालिका ८ नेपालटारकी सीता चामलिङ राईलाई उदयपुरगढी गाउँपालिकाले सम्मान गरेको हो।  

पर्यटनोन्मुख गाउँपालिका उदयपुरगढीकी ती युवती आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यकै लागि देशदेशावर घुम्न चाहेको तर, खर्च जुटाउन नसक्दा उनको योजना अपूरै थियो। एक वर्षअघि पैसाबिना पनि घुम्न सकिन्छ भन्ने आँट र साहस बटुलेर जिल्ला छाडेकी उनी ६ महिना लगाएर पूरै देश घुमेर फर्केको बताउँछिन्।

खर्चबिना पनि घुमफिर गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न सफल भएको भन्दै गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी सम्मन गरेको हो। आइतबार गाउँपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जीतबहादुर खड्काले दोसल्ला ओढाए भने प्रमुख प्रशासकीय अधिकृत भक्त चामलिङ राईले सम्मानपत्र तथा मायाको चिनो प्रदान गरे।

सम्मान गर्दै उपाध्यक्ष खड्काले बिनापैसा पनि देशका ७७ वटै जिल्ला भ्रमण गरी पर्यटन प्रवर्द्धनमा अमूल्य योगदान गरेको भन्दै उनको प्रशंसा गरे। यस्ता हिम्मतिला चेलीहरू उदयपुरगढीमा भएको भन्दै त्यस्ता साहसी चेलीहरूको सम्मान गर्नु स्थानीय सरकारको कर्तव्य भएको बताए।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राई र अन्य जनप्रतिनिधिहरूले राईको साहसिक यात्राको प्रशंसा गर्दै यसले उदयपुर र उदयपुरगढी गाउँपालिकाको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न मद्धत गर्ने बताए। सीता राईजस्ता साहसी नारीहरूबाट यहाँका युवा र सिंगो समाजले प्रेरणा लिनुपर्ने धारणा राख्दै राईको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए।

कार्यक्रममा सम्मानित राईले आर्थिक अभावका बाबजुद पनि इच्छा, आँट र अटल आत्मविश्वास भए देश चिन्ने र घुम्ने सपना पूरा गर्न सकिने रहेछ भन्ने अनुभव सुनाइन्। यो सन्देश दिनकै लागि आफू देशव्यापी यात्रामा निस्केर बिना अवरोध सबै जिल्ला घुमेर फर्कन सफल भएको बताइन्।  

आफ्नो यात्राको मुल उदेशय आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुका साथै देशका युवापुस्तामा नेपालमै सम्भावना छ भन्ने सकारात्मक सन्देश दिनु तथा ऊर्जा थप्नु रहेको उनले बताइन्। यात्रामा साथ, सहयोग गर्ने स्थानीयवासी तथा शुभेच्छा प्रकट गर्ने सबैप्रति उनले आभार व्यक्त गर्दै आगामी दिनमा पनि पर्यटन प्रवर्द्धन क्षेत्रमा सक्रिय भइरहने प्रतिबद्धता व्यक्त गरिन्।

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार उदयपुरगढीको गढी क्षेत्रलाई नेपाल सरकारले देशभरका १ सय पर्यटकीय गन्तव्यमध्येमा सूचिकृत गरेको छ। त्यसैले गढीक्षेत्रलाई जिल्लाको प्रमुख पर्यटन स्थलको रूपमा विकास गर्न विगत ८ वर्षअघि ०७४ मा आफू अध्यक्ष जितेर आएदेखि नै गाउँपालिकाले पर्यटन प्रवर्द्धनमा लगानी गर्दै आएको मगरले बताए।  

०२८ सालसम्म जिल्ला सदरमुकाम रहेको उदयपुगढीको पुरानो गढी जहाँ उदय सेन नामक राजाले शासन गरेको तथा पृथ्वीनारायण शाहले राज्य विस्तार गर्ने क्रममा कोत (हात हतियार राखेको)बंकरलाई पुनर्संरचना गरी नयाँ र आकर्षक बनाइएको छ। गाउँपालिकाले पर्यटन मन्त्रालय तथा प्रदेश सरकारको पर्यटन मन्त्रालयसमेको सहयोगमा पुनर्संचना गरेको गढीक्षेत्र आकर्षक र रमणीय बनाइएकाले पछिल्लो केही समययता आन्तरिक तथा बाह्य पर्यटक बाक्लो रूपमा आउन थालेका छन्।  

गाउँपालिकाका प्रवक्ता सहेक विश्वकर्माका अनुसार पुरानो गढीलाई चालु आर्थिक वर्षदेखि ठेक्कामा लगाएर आमदानीको स्रोत बनाउन थालिएको छ। विहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएको पुरानो गढीमा सेनाको तत्कालीन सेनाको षटकोणाकारको कोतखाना, गढीभित्र काली मन्दिर, मन्दिर परिसरमा दुईटा (एकजोर) तोप राखिएको छ।

त्यसैगरी कोत परिसरबाहिर सेल्फी पार्क, फलामे लिङ्गे पिङ, भ्युटावर, उदय सेन राजाको घोड सवार शालिक, खुल्ला मञ्च, फुलबारीसहितको पार्क, बाल उद्यान, विश्राम गृह (गोलघर), सार्वजनिक शौचालय र खानेपानीको सुविधा छ। यी सबै अवयवहरू पर्यटकलाई आकर्षण दिनका लागि बनाइएको प्रवक्ता विश्वकर्माले बताए।

प्रकाशित: २६ माघ २०८२ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App