२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

सहमतिको विकल्प खोज्दै शेखर

नेपाली कांग्रेसको १५औं महाधिवेशनको मितिलाई लिएर पार्टीभित्र तीव्र विवाद भइरहेका बेला नेता शेखर कोइराला सहमतिका लागि छलफल अघि बढाएका छन् । पार्टीको महाधिवेशन फागुन २१ गतेको निर्वाचन अघि की पछि भन्ने प्राविधिक विवादमा कांग्रेस केन्द्रीय समिति झन्डै एक महिनादेखि जारी छ । 

भदौ २३को हिंसा र २४ गतेको विध्वंशपछिको अवस्थामा मुलुकलाई कसरी निकास दिने भन्नेमा कांग्रेस बैठक केन्द्रीत हुने धेरैको अपेक्षा थियो । तर, कांग्रेस प्राविधिरुपमा अल्झनुको साथै विभाजनमै पुग्ने त होइन आशंका भइरहेका बेला कोइरालाले कार्यवाहक सभापति पूर्व बहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल थालेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरू फागुन २१ गतेको निर्वाचनपछि  मात्र महाधिवेशनको पक्षमा छन् । 

महामन्त्रीद्वय थापा र शर्मा मंसिरभित्र नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनको पक्षमा उभिएका छन् । पार्टी विधानको व्यवस्था अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गरिसकेको अवस्थामा त्यसलाई नजरअन्दाज गर्न नसकिने उनीहरूको तर्क छ ।  

महामन्त्रीहरूको अडान कायमै रहे विशेष महाधिवेशन पक्षधरको हस्ताक्षर सनाखत गराएर प्रक्रिया अघि बढाउनु पर्ने माग उनीहरूले गरिसकेका छन् । त्यसका लागि कानुनी परार्मशमा उनीहरू जुटिरहेका बेला संस्थापन पक्ष हस्ताक्षर सनाखतको पक्षमा देखिएका छन् । त्यसले पार्टी विभाजनसम्मको अवस्था पु¥याउन सक्ने कोइरालाले बताउँदै आएका छन् । ‘विशेष महाधिवेशनको माग गर्ने ५५ प्रतिशत साथीहरू जो हुनुहुन्छ । त्यसमा हस्ताक्षर प्रमाणीकरण शुरु गरेको दिनदेखि नै विभाजन हुने सम्भावना हुन्छ,’ कोइरालाले मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीसँग भने,‘४० प्रतिशत मात्रै पुगेर महाधिवेशनमा गयौं भने पनि विभाजन त भयो नि । बाँकी ६० प्रतिशत विभाजित हुने सम्भावना देखियो । पार्टी विभाजनतिर नजाओस् भनेर हामीले केन्द्रीय समिति बैठकबाटै निर्णय खोजेका हौं ।हामी सहमतिका लागि प्रयासरत छौ ।’  

कोइरालाले निर्वाचनपछि महाधिवेशन गर्ने र अहिले नै विशेष महाधिवेशन गर्ने दुबै पक्षलाई आआफ्नो अडानबाट पछि हट्न भेटेरै पटक पटक आग्रह गरेका छन् । कार्यवाहक सभापति खड्कासँगको भेटमा कोइरालाले निर्वाचन अघि महाधिवेशन गरेर जानु पर्ने जनाउँदै बैठकमा पेस भएका दुई कार्यतालिकाबाट सहमतिबाट अर्को कार्यतालिका ल्याउन सुझाएको स्रोतको दाबी छ ।  

पुसको अन्तिमसम्ममा नियमित महाधिवेशन गर्नेगरी तयारी गर्नुपर्ने सोही अनुसार अघि बढ्न कार्यवाहक सभापति खड्कालाई आग्रह गर्दै आएका छन् । त्यस्तै, महामन्त्रीद्वयलाई पनि विशेष महाधिवेशनको माग गर्ने महाधिवेशन प्रतिनिधिहरूको भावनालाई समेटर पुस अन्तिमसम्म नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । विशेष महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ताले चाहेको अनुसार रुपान्तरण परिर्वतन नहुने जनाउँदै कोइरालाले तल देखि माथिसम्म र माथि देखि तलसम्म नेतृत्व परिर्वतनका लागि नियमित महाधिवेशन गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर, महामन्त्रीहरूले अहिलेसम्म कुनै निर्णय वा धारणा नदिएको निकट स्रोतको दाबी छ । कार्यवाहक सभापति खड्काले सहमतिबाटै पार्टीलाई निकास दिने आश्वासन दिएको निकट स्रोतको दाबी छ ।

पार्टी अनिर्णयको बन्दी बन्न पुगेपछि नेता कोइरालाले पार्टीलाई निकास दिनका लागि अन्य नेताहरूसँगको छलफलाई पनि तीब्र बनाएको निकट स्रोतको दाबी छ । फागुन २१ गतेको निर्वाचनअघि नै महाधिवेशनको कार्यतालिका ल्याउने र विशेष महाधिवेशनको माग गर्नेहरूलाई पनि चित्त बुझाएर अघि बढ्ने गरी कोइरालाले छलफल थालेको निकटहरूको दाबी छ ।  

असोज २८ गते देखि १५औं महाधिवेशनका साथै बदलिएको अवस्थामा पार्टीले लिने नीतिका विषयमा छलफल गर्न बोलाइएको बैठक मंगलबार केन्द्रीय कार्यालयमा जारी छ । मंगलबारको  

बैठकमा सहमहामन्त्रीद्वय— बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, डा। मीनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित: २५ कार्तिक २०८२ १८:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App