नेपाली राजनीतिमा धेरैले आफ्नो स्वभाव र अवस्था स्वीकार्न चाहँदैनन्। तर कतिपय अवस्थामा उनीहरूले सत्य बोल्छन्। त्यस्तै सत्य बोलेका छन्, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले। मुखैमा आएको प्रधानमन्त्री पद छोडेर त्याग गर्ने गरेको पार्टी महामन्त्रीको आग्रहलाई पचाउन नसकेपछि उनले भने, ‘म छोड् भनेर छोड्ने मान्छे होइन। म अप्ठ्यारो मान्छे हो है।’
सोमबार नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा देउवाले यस्तो बताएका हुन्। सो क्रममा शर्माले देउवाको प्रशंसा गर्दै २०८३ सालको असारमा प्रधानमन्त्रीमा पार्टीभित्रबाटै अरू कुनै व्यक्तिलाई अघि सारेर त्याग गर्न सुझाव दिएका थिए।
सभापति देउवाले हालै चितवनमा पुगेर ’मेरो रिटार्यड हुने समय आयो, कांग्रेसलाई एक बनाउने इच्छा छ’ भन्दै दिएको अभिव्यक्तिको शर्माले प्रशंसा समेत गरे। केही साताअघि सगरमाथाको टुप्पोमा पुग्न नसकेर फर्किएका महामन्त्री शर्माले ०८३ को असारमा प्रधानमन्त्री पद त्याग गरी सगरमाथाको उचाइ कायम राख्न दिएको सुझाव सम्भवत: देउवाले रुचाएनन्।
देउवाले आफू ‘छोड् भनेर छोड्ने मान्छे’ नभएको बताए। ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो। म छोड् भनेर छोड्ने मान्छे होइन। म अप्ठ्यारो मान्छे हो है,’ देउवाले सुनाए।
प्रकाशित: २४ असार २०८२ ०७:५६ मंगलबार





