नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू ‘छोड् भनेर छोड्ने मान्छे’ नभएको बताएका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरूले उठाएको प्रश्नहरूको जवाफ दिने क्रममा देउवाले यस्तो बताएका हुन्।
‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो। म छोड् भनेर छोड्ने मान्छे होइन। म अप्ठ्यारो मान्छे हो है,’ देउवाले भनेका छन्। उनले कसको प्रश्नको जवाफमा यसो भनेका हुन्, बुझिँदैन। तर, उनले सोलोडोलो रूपमा जवाफ दिँदा यसो भनेका छन्।
उनले पार्टीको १५औं महाधिवेशन सम्भव भएसम्म समयसीमाभित्रै गरिने पनि बताए। संविधान र विधानअनुसार १ वर्षसम्म समय थप गर्न सकिने उल्लेख गर्दै देउवाले सबै तयारीमा जुट्नुपर्ने बताएका छन्।
‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ। नेपालको पार्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो। नेपालको संविधानको कुरा गरेको हो मैले। संविधान मान्ने मान्छे हो,’ देउवाले भनेका छन्।
पार्टीको खासगरी संस्थापनइतर पक्षका नेताहरूले देउवालाई पार्टी सभापति तथा संसदीय दलका नेताबाट हटाउनेसम्मको छलफल गर्ने गरेको चर्चा छ। यही पृष्ठभूमिमा उनले यसो भनेका हुन्। उनीहरूलाई लक्षित गरेर देउवाले यसो भनेको हुनसक्ने बताइन्छ।
प्रकाशित: २३ असार २०८२ २१:०० सोमबार





