२९ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

मेयर साम्पाङसँग योजनाको भुक्तानी दिन उपमेयर र वडा अध्यक्षहरूको माग

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्लाई चालु आर्थिक वर्षका योजनाको भुक्तानी दिन माग गर्दै उपमेयर आइन्द्रविक्रम बेघासहितको टोली ध्यानाकर्षण बुझाउँदै।

धरान उपमहानगरपालिकाका  मेयरसँग असन्तुष्ट उपमेयरसहित २९ जना कार्यपालिका सदस्यले चालु आर्थिक वर्षमा सम्पन्न भएका योजनाको भुक्तानी दिन माग गरेका छन् ।

चालु आर्थिक वर्ष २०८१-८२ मा सकिएका योजनाको भुक्तानीका लागि लेखा शाखामा पुगेको झण्डै ४० वटा फायल नगर प्रमुख साम्पाङले असार १६ गते लेखा शाखाबाट आफ्नो कब्जामा लिएकाले गर्दा ती योजनाको भुक्तानी दिन माग गरिएको हो ।

आइतबार उपप्रमुख अईन्द्रविक्रम बेघा, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूले प्रमुख साम्पाङ्लाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै भुक्तानी दिन माग गरेका हुन् । सो क्रममा साम्पाङले भने फायल हेर्ने अधिकार आफ्नो भएको र भुक्तानी दिने भए सबैको दिनुपर्छ नत्र कसैको नहुने बताए ।

असारको सुरुवातमा धरान वडा नं. १६ मा रहेको बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माणमा जाली लगाएको रकम निकासा गर्नुपर्ने पक्षमा मेयर साम्पाङ् र रकम निकासा गर्न नसकिने उपमेयर बेघाको अडानले दुवै जनाबिच विवादले उग्र रूप लिएको थियो । साम्पाङ्ले विपद् जोखिम नियन्त्रणका लागि प्रयोग गरिएको जालीको पैसा दिन्न भन्न नमिल्ने बताउँदै आएका छन् ।  उनले असार १९ गते मात्र प्रमुख प्रशासकीय अधिकृतलाई चिठी लेख्दै बहुभाषिक पाठालाको ग्याबिन पर्खाल निर्माण गर्दाको भुक्तानी विलम्ब गर्नुको कारण खुलाएर पठाउन निर्देशन दिएका छन् ।

आइतबार उपमेयर बेघा नेतृत्व टोलीले ध्यानाकर्षण पत्र बुझाउँदा पनि प्रमुख साम्पाङले भने ‘धरान वडा नं. १६ बहुभाषिक पाठशालाको पर्खाल लगाएको फायल प्रमुख प्रशासकीय अधिकृतले किन रोक्यो ? त्यसको जवाफ चाहियो मलाई ।’ उनले प्रमुख प्रशासकीय अधिकृतले पत्र पठाएपछि सबैको भुक्तानी अघि बढ्ने बताएका थिए ।

उपप्रमुख बेघासहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरूले लेखाबाट फायल किन अपहरण गर्नु भयो ? भनी प्रश्न गरेका थिए । सो क्रममा बेघा नेतृत्व समूहले ‘असार २४ गते रातको १२ बजे भित्र भुक्तानी नदिए मेयर (तपार्ईं) आफै जिम्मेवार हुनु पर्छ’ भनेर फर्किएका थिए  ।

मेयर साम्पाङसँग उपमेयर, वडाध्यक्षसहित कार्यपालिका सदस्य असन्तुष्ट हुँदा आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट समेत पेस हुन सकेको छैन । असार ८ गते सबै प्रक्रिया पुरा गरेर बैठक बोलाउने भनेर असन्तुष्ट पक्षले मेयरलाई लिखित पत्र दिएका थिए ।

प्रकाशित: २२ असार २०८२ १८:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App