२९ असार २०८२ आइतबार
image/svg+xml
राजनीति

बहराइनबाट कुलमानका तीन सन्देश: साथ दिनुस्, अगाडि बढ्न तयार छु

'सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान'

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले बहराइनको भ्रमणमा छन्। ‘उज्यालो नेपाल' अभियान लिएर गत असार १७ गते बहराइनतर्फ लागेका घिसिङलाई त्यहाँस्थित नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ।

गत २०८१ चैत ११ गते कार्यकाल सकिनु चार महिनाअगावै सरकारले बर्खास्त गरेपछि राजनीतिमा आउने छनक दिइरहेका घिसिङले बहराइन पुगेर ‘जनताको साथ’ खोजेका छन्। उनले साथ पाए आफू अगाडि बढ्ने बताएका छन्।

खासगरी विदेशी भूमिमा कार्यरत नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायलाई लक्षित गरेर भ्रमणमा निस्केका घिसिङ दुबई, कतारलगायतका देश पनि पुग्दैछन्। ती देशहरूमा पनि उनले एवम्-रीतले नेपाली युवा र त्यहाँस्थित नेपाली समुदायसँगै अन्तर्क्रिया गर्नेछन्। यता नेपालमा विभिन्न पार्टी तथा मोर्चाबाट आउँदो उपनिर्वाचनमा रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलिरहँदा घिसिङ भने डायस्पोराकेन्द्रित छन्। उनले आफ्ना कुरा राख्ने र उनीहरूलाई पनि सुन्ने गरिरहेका छन्।

यसैबीच बहराइनमा उनलाई नेपाली समुदायले संयुक्त अभिनन्दन गरेको छ। अभिनन्दनपछि आफ्ना कुरा राख्दै ‘उज्यालो नेपाल’ अभियानमा सरिक हुनका लागि आह्वानसमेत गरेका छन्। आफ्नो कुरा राख्ने क्रममा उनले मुख्यत: तीन विषय भनेका छन्।

पहिलो- सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान

घिसिङले नेपालमा सम्मान गर्नुपर्ने व्यक्तिलाई अपमान गर्नुपर्छ भन्ने भाष्य सृजना हुँदै गएको औँल्याएका छन्। आफ्नो धारणा राख्ने क्रममा उनले भनेका छन्, ‘वास्तवमा नेपालमा जसलाई सम्मान गर्नुपर्ने हो, त्यसलाई सम्मान गरिँदैन। जसलाई कारबाही गर्नुपर्ने हो, त्यसको सम्मान हुन्छ भन्ने एउटा भाष्य क्रियट हुँदै गयो भने कसरी नेपाल बन्छ, कसरी नेपाली युवाहरू देशभित्र रहन्छन् ?'

उनले देशभित्र केही हुन्छ, केही आस जगाउँछौँ भनेर केही युवाहरू राजनीतिमा आएको पनि बताएका छन्। 'केही आत्मविश्वास जनाउँछौँ भनेर केही युवाहरू राजनीतिक क्षेत्रमा पनि आएको देखिन्छ। बालेनजी, हर्क साम्पाङ, गोपाल हमाललगायत केही आस जगाएर आउनुभयो। उहाँहरूले पनि केही समस्याहरू बेहोरिरहनुभएको छ, तपाईंहरूलाई जानकारी छ। रविजी पार्टी नै खोलेर आउनुभयो, उहाँहरूका समस्याहरू पनि तपाईं आम दाजुभाइ-दिदीबहिनीहरूलाई थाहा भएकै कुरा हो। मैले यसमा धेरै कुरा गर्न चाहन्नँ तर, जति पनि आस, सम्मान र आत्मबललाई अगाडि बढाउनुपर्ने विषयहरूमा राज्यले कतिको महत्त्व दिएको छ भन्ने विषयले हामी दाजुभाइ दिदीबहिनीहरू देशभित्र रहने कि नरहने भन्ने विषय छ,’ उनले भनेका छन्।

 

संयुक्त अभिनन्दनका क्रममा कुलमान घिसिङ।

त्यसो त घिसिङ सरकारको बर्खास्तीमा परेका हुन्। नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको कार्यकाल सकिनु चार महिना मात्रै बाँकी रहँदा सरकारले उनलाई गत २०८१ चैत्र ११ गते पदबाट बर्खास्त गर्‍यो। उनले यही विषय उधिन्दै यो विषय बोलेका हुन्।

‘विद्युत् प्राधिकरणबाट निस्कनु ४ महिना हुँदा मलाई निकाल्नुपर्ने बाध्यता के पर्‍यो ? आज जनताले सोधिरहनुभएको छ, म पनि सोधिरहेको छु। म निस्किनेबित्तिकै विद्युत् प्राधिकरण त घाटामै थियो, यो त फेब्रिकेटेड नाफाको बनाइएछ, जति पनि डेटा छन्, त्यो त म्यानिपुलेटेड डेटा रहेछन् भनेर जुनखाले मेसेज बाहिर पठाउन खोजियो, त्यो राम्रो थिएन,’ उनले भने।

उनले आफूले प्राधिकरणबाट सम्मानपूर्वक बहिर्गमनको अपेक्षा राखेको पनि बताए। ‘राज्यले एउटा सम्मानपूर्वक बिदाइ गर्छ जस्तो लागेको थियो तर, ४ महिना हुँदा बर्खास्त गर्‍यो। ४ महिनाभन्दा अगाडि ९ महिनासम्म हरेक दिन, हरेक महिना स्पष्टीकरण सोधियो, किन राम्रो काम गर्‍यौ भनेर,’ उनले भने।

दोस्रो- नेपालको लिडरसीपले आशा जगाउनै सकेनन्

घिसिङले नेपालमा लिडरसीपले आशा जगाउनै नसकेको बताएका छन्। तर, यसबेला नेपालमा आशा, आत्मविश्वास लगाउने खाले लिडरसीपको आवश्यकता रहेको उनले औँल्याए। ‘अब नेपालको अभियान उज्यालो अभियान हुनुपर्छ। समृद्धिको अभियान, सामाजिक न्याय, सुशासन र डेलिभरीको अभियान हुनुपर्छ। कुरा मात्रै गरेर हुँदैन, रिजल्टमा दिनुपर्‍यो। अब सबैका लागि विश्वास, आत्मविश्वास आवश्यक छ। तर, नेपालका लिडरसीपले आशा जगाउनै सकेनन्। अब त्यस्तो लिडरसीपको आवश्यकता छ,’ उनले भनेका छन्।

कुलमान घिसिङ अभिनन्दन कार्यक्रमा सहभागीहरू।

अब आर्थिक क्रान्ति, सामाजिक न्याय, सुशासका र समृद्धिका लागि अभियान हुनुपर्ने उनले बताएका छन्। यो अभियानले मात्रै आशा, आत्मविश्वास र भरोसा जगाउन सक्ने भनाइ घिसिङको छ। त्यस्ता खाले लिडरसीपका लागि पनि अभियान अगाडि बढाउनुपर्ने जोड उनको थियो।

तेस्रो- साथ दिनुस्, अगाडि बढ्न तयार छु

घिसिङले आफ्नो अभियानलाई साथ दिनका लागि आह्वानसमेत गरेका छन्। उनले अभियानले आशा जगाउने बताएका छन्। ‘यो अर्थतन्त्र, सामाजिक जीवन र आत्मविश्वास जागृत गर्ने अभियान हो। यो भएन भने युवाहरूको पलायन रोकिँदैन,’ उनले भने।

आफ्नो कुरा राख्दै कुलमान घिसिङ।

उनले साथ पाए आफू अगाडि बढ्ने पनि बताए। त्यसका लागि अभियानमा जोडिनका लागि उनले आह्वान गरे। ‘उज्यालो अभियान लिएर अगाडि बढौँ, यो अभियान भनेको देशलाई उज्यालो बनउने, तपाईंको अनुहार उज्यालो बनाउने, हाम्रा बा-आमा, बालबच्चाहरूको अनुहार उज्यालो बनाउने अभियान हो, तपाईंहरू साथ दिनुस्, म अगडि बढ्न तयार छु,’ उनले प्रतिबद्धता जनाए।

प्रकाशित: २२ असार २०८२ १७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App