तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दिउँसो र साँझ भएका छुट्टाछुट्टै कारबाहीका क्रममा उनीहरूको साथबाट जम्मा १ लाख ३१ हजार ९ सय ८० रुपैयाँ नगद र १५ बुक तास बरामद गरिएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-३ तल्लो बजार बस्ने ४० वर्षीय नवराज कोईरालाको घरमा जुवा खेलिरहेको अवस्थामा कोईरालासहित १० जनालाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीको टोलीले शुक्रबार साँझ पक्राउ गरेको हो। प्रहरीले उनीहरूको साथबाट ३६ हजार २ सय ६५ रुपैयाँ नगद र ४ बुक तास बरामद गरेको छ।
यसैगरी, म्याग्दीको बेनी नगरपालिका-१० वाखेतबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय घन बहादुर मगरसहित ७ जनालाई शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोलीले पक्राउ गरेको छ।
उनीहरूको साथबाट प्रहरीले ५२ हजार ८ सय १० रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।
नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टागिकोटस्थित ‘एच.ओ.पी.ई.’ (हस्पिटालिटी लेजर रिसोर्ट) मा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय अमन अधिकारीसहित ८ जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ४२ हजार ९ सय ५ रुपैयाँ नगद र ८ बुक ताससहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैलाई सम्बन्धित जिल्लाका प्रहरी हिरासतमा राखेर थप आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित: २ श्रावण २०८३ १९:३१ शनिबार



-600x400.jpg)

