दलहरूलाई आसन्न उपनिर्वाचनले छोइसकेको छ। कात्तिक १७ गते मिति तोकिएको उपनिर्वाचनकेन्द्रित भएर दलहरूले छलफल थालिसकेका छन्। सत्तासीन दल नेकपा (एमाले) ले त उम्मेदवार नै तोकिसकेको छ, उसले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।
यसबाहेक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले उपनिर्वाचनकेन्द्रित छलफल सुरु गरिसकेका छन्। कतिपय दलहरूले परिचालन समितिसमेत बनाइसकेका छन् भने पार्टीको जिल्ला समितिलाई उम्मेदवारको सूची पठाउन निर्देशन दिइसकेका छन्।
तर, नेकपा (माओवादी केन्द्र) ले भने उपनिर्वाचनकेन्द्रित छलफल सुरु गरिसकेको छैन। आउँदो हप्ता पदाधिकारी बैठक बस्ने र बैठकले निकालेको निष्कर्षअनुरूप छलफल अगाडि बढाएर तयारीमा जुट्ने माओवादी सचिव दीनानाथ शर्माले जानकारी दिए। ‘हाम्रो पार्टीलाई उपनिर्वाचनले छोइसकेको छैन। आउँदो हप्ता पदाधिकारीको बैठक बस्छ, त्यहाँ छलफल हुन्छ। त्यसपछि हामी सक्रिय हुन्छौँ,’ शर्माले भने।
यो पनि पढ्नुहोस्
कुलमान घिसिङ भन्छन्- राजनीतिमा लाग्नेबारे सोचिरहेको छु
यता सामाजिक सञ्जालहरूमा भने माओवादीले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उम्मेदवार बनाउने चर्चा चलेको छ। यसबारे बुझ्दा शर्माले भने, ’पहिलो कुरा त हाम्रो पार्टीमा उपनिर्वाचनबारे छलफल नै सुरु भएको छैन। अब पात्रका बारेमा त अलि पछि नै कुरा हुन्छ। कुलमानजीको नामको चर्चा त चलेको छ तर, पार्टीले यसबारे अहिल्यै सोचेको छैन।’
त्यसो त कुलमान माओवादी निकट मानिन्छन्। माओवादी नेतृत्वकै सरकारले उनलाई रसुवाको चिलिमे जलविद्युत्बाट प्राधिकरणमा ल्याएको थियो। उनी २०७३ भदौ २९ गते पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए। ०७७ भदौ २९ गते आफ्नो कार्यकाल सकाएका उनलाई पुन: २०७८ साउन २७ गते दोस्रोपटक माओवादीकै सरकारले नियुक्त दियो। त्यतिबेला ऊर्जामन्त्री रहेकी माओवादी उपाध्यक्ष पम्फा भुसालको प्रस्तावमा कुलमान प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएका थिए। तर, २०८१ चैत ११ गते केपी शर्मा ओली नेतृत्वको सरकारले बर्खास्त गर्यो।

सरकारले गरेको बर्खास्तको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गए तर, अदालतले उनको पक्षमा आदेश दिएन। यसपछि राजनीतिमा आउने छनक दिइरहेका उनी अहिले विदेश भ्रमणमा छन्। मध्यपूर्वी देशहरू बहराइन, कतार, ओमन, दुबईलगायतका देशहरू घुमिरहेका छन्। असार १७ गते नेपालबाट उडेका कुलमान अहिले बहराइनमा छन्। अब उनी दुबई, ओमन र कतारसमेत पुग्नेछन्। उनले मुख्यत: त्यहाँ कार्यरत नेपाली युवाहरूलाई भेट्ने लक्ष्य राखेका छन्।
बाहिर माओवादीबाट रुपन्देही-३ मा उम्मेदवार बन्ने चर्चा चलाइए पनि स्वयम् उनले भने निर्णय गरिसकेका छैनन्। केही हप्ता पहिले नागरिकसँग संक्षिप्त कुराकानी गर्दै उनले भनेका थिए, ‘जनताले जे चाहन्छन्, त्यही गर्ने हो। के गर्ने भन्नेबारे निर्णयमा पुगिसकेको छैन।’
स्रोतका अनुसार कुलमानले अहिलेसम्म स्वतन्त्र रूपमा अगाडि बढ्ने, कुनै पार्टीमा समाहित हुने वा पार्टी गठन गरेर जाने भन्नेबारे निर्णय लिइसकेका छैनन्। तर, बाहिर भने उनलाई माओवादीले उम्मेदवार बनाउने चर्चा चलाइएको छ। ‘कुलमानजीलाई जुनसुकै पार्टीले पनि उम्मेदवार बनाइहाल्छ नि, कांग्रेस बाहेक। कांग्रेसले चाहिँ बनाउँदैन जस्तो लाग्छ। तर, उहाँ आफैँ एउटा सांसदका लागि जाने कि २०/२५ जना सांसदको नेता हुने भन्ने छ। उहाँ माओवादीको तर्फबाट उम्मेदवार बन्नुहुन्छ भन्ने लाग्दैन,’ स्रोतले भन्यो, 'अहिले उज्यालो अभियान मात्रै चलिरहेको छ। बाहिरको चर्चा झुटो हो।'
त्यसो त यसअघि उनले आफू माओवादीको मान्छे नभएको बताएका थिए। पहिचानवादी मोर्चाका नेता डकेन्द्रसिंह थेगिमसँगको भेटमा उनले भनेका थिए, ‘मलाई सबैले माओवादीसँग जोडेर हेर्नुहुन्छ तर, त्यस्तो होइन। माओवादी नेतृत्वको सरकारमा प्राधिकरणमा आएको चाहिँ हो।’
यो पनि पढ्नुहोस्
राजनीतिमा आउन पनि सकिन्छ: कुलमान घिसिङ (अन्तर्वार्ता)
प्रकाशित: २० असार २०८२ १६:४२ शुक्रबार