नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बारा र पर्साका अधिकांश पेट्रोल पम्प बन्द राखिएका छन्। बढी मूल्यमा किनेर सस्तोमा बेच्नुपरेको भन्दै पेट्रोल पम्प सञ्चालकहरूले पम्प नै बन्द गरेका देखिन्छन्।
पम्पहरू बन्द गरिएपछि डिजेल र पेट्रोल लिन पम्पमा पुगेका उपभोक्ताहरू रित्तै हात फर्किन बाध्य बनेका छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर रु २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु ३० ले मूल्य घटाएको छ।
मूल्य घटाइएपछि पम्प सञ्चालकहरूले “पेट्रोल, डिजेल छैन” भनेर बाहिर बोर्ड राखेर पम्प बन्द गरेका छन्। पम्प बन्द गरिएपछि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरिएको छ।
निगमले यसअघि मूल्य बढाउँदा पम्प खुला राखेर पम्प सञ्चालकहरू पेट्रोलियम पदार्थ बिक्री गरी नाफा कमाउँदै आएका थिए। निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको थियो।
नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रतिलिटर रु १९७ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १९५ कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रतिलिटर रु २१७ र डिजेल प्रतिलिटर रु २२५ रहेको थियो।
यसैगरी विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर रु १९४.५० तथा डिजेल प्रतिलिटर रु १९२.५० कायम गरिएको छ। भने सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु १९६ र डिजेलको मूल्य प्रतिलिटर रु १९४ तोकिएको छ।
प्रकाशित: १७ असार २०८३ १२:५७ बुधबार





