नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले कांग्रेसको काम माओवादी केन्द्रबाट धोका खाने मात्रै भएको टिप्पणी गरेका छन्। चार दिन देखि जारी पार्टीको केन्द्रीय समिति बैठकअन्तर्गत बिहीबार आफ्नो धारणा राख्दै कोइरालाले अब धोका नखान आत्मनिर्भर बन्नुपर्ने बताए।
‘निर्वाचनमा हामी माओवादीसँग मिल्यौँ । माओवादीले धोका दिएपछि एमालेसँग मिल्यौँ,’ कोइरालाले भने, ‘हाम्रो काम नै धोका खाने भयो । धोका नखानका लागि पार्टीलाई आत्मनिर्भर बनाउनुपर्छ ।’ कांग्रेसले दूरदर्शिता देखाउन नसकेको पनि उनले बताए। ‘हामीले भविष्य हेरेनौँ । नेतृत्वले गल्ती गर्ने अनि कार्यकर्तामाथि कारबाहीको डन्डा बर्साउने ? यो हुँदैन,’ उनले भने।
कांग्रेसका उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिन नपाइने बताउँदै कोइरालाले ‘पार्टीलाई धोका दिने गठबन्धन विरुद्ध उम्मेदवार बनेकाहरूलाई कारबाही गर्न नहुने’ । ‘उनीहरूको कारबाही फुकुवा हुनुपर्छ’, उनले भने।
स्वयं कोइराला पनि ०७९ को प्रतिनिधिसभा निर्वाचनमा चितवन–३ मा गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवारविरुद्ध बागी उठेका थिए। त्यति बेला काङ्ग्रेसबाट निष्कासनमा परेका उनी चितवन–२ मा उपनिर्वाचन हुँदा कारबाही फुकुवामा परेका हुन्।
२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरको टिकट कांग्रेसले यीनै कोइरालालाई दिएको थियो। त्यो बेला माओवादी केन्द्रसँग गठबन्धन भएपछि अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेनु दाहाललाई आधिकारिक उम्मेदवार बनाउँदा कोइरालाको टिकट खोसिएको थियो।
अर्को प्रसंगमा केन्द्रीय सदस्य कोइरालाले आजकाल विश्वभरि हाइपर सोनिक मिसाइलको खुबै चर्चा रहेको बताउँदै कांग्रेसका कार्यकर्ताहरूले यस्ता हाइपर सोनिक मिसाइल धेरै पटक देखेको टिप्पणी गरे। उनले भने, ‘चुनावका बेला एक जना अब्बल मानिस आकाशबाट हाइपर सोनिक मिसाइल जसरी फ्याट्ट झर्छ । उ त्यतिकै झरेको हुँदैन, साथमा टिकट पनि बोकेर झरेको हुन्छ ।’
प्रकाशित: १९ असार २०८२ १८:३० बिहीबार





