१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

देउवाको ‘चितवन चिन्ता’मा केसीको साथ: भने–यो सामूहिक चिन्ता हुनुपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही दिनअघि चितवनमा पहिलो पटक आफू ‘रिटायर्ड हुन लागेको’ भन्दै अभिव्यक्ति दिँदा पार्टीलाई एक ढिक्का बनाएर जाने चाहना रहेको भन्दै अभिव्यक्ति गरेका थिए। त्यसयता कांग्रेसको आन्तरिक राजनीतिमा यसको व्यापक चर्चा परिचर्चा भइरहेको छ। 

असार १३ गते पुरानी कांग्रेस नेतृ गौरीदेवी प्रधानको निधनमा आयोजित  श्रद्धाञ्जली सभामा देउवाले पहिलो पटक आफ्नो रिटायर्डमेन्टबारे बोलेका थिए। 

‘मेरो त अब रिटायर्ड  एजमा भइसक्या छु, अरू के छ र!,’ देउवाले भनेका थिए, ‘तर यो पार्टीको कारणले म प्रधानमन्त्री भएँ, म यो पार्टीको कारणले पार्टी सभापति पनि भएँ। त्यसै कारण यो पार्टीलाई अझैँ राम्रो–बलियो बनाउनुबाहेक मेरो अर्को उद्देश्य छैन। त्यस कारण यो पार्टीलाई एक बनाउनु छ।’ 

देउवाले यो कुरा भन्नु पूर्व पृष्ठभूमिमा कांग्रेसभित्र एकता हुन नसकेको, चुनावमा कांग्रेसले नै कांग्रेस उम्मेदवारलाई हराउने गरेको प्रसङ्ग बोलेका थिए। 

‘अहिलेको संविधान धेरै राम्रो संविधान छ, समावेशी छ, समानुपातिक छ । सब्बै जातिहरूको प्रतिनिधित्व हुन्छ। तर कुनै पार्टीको बहुमत आउन गाह्रो छ हेर्नुस् । एक्लै कुनै पार्टीको पनि बहुमत ल्याउनु धेरै गाह्रो छ। फेरि हाम्रो पार्टीमा रोग अलिअलि छँदै छ, एक अर्कालाई हराऊ भन्ने रोग,’ देउवाले भनेका थिए। 

देउवाको यो चिन्ताबारे चारदेखि जारी केन्द्रीय समिति बैठकमा पनि नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। 

यस क्रममा बिहीबार धारणा राखेका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले पनि देउवाको त्यो ‘चितवन चिन्ता’लाई साथ दिएका छन्। ‘पार्टी र सरकारको सम्बन्ध जीवन्त बनाउन सभापतिजीले हालै चितवनमा जुन चिन्ता व्यक्त गर्नुभएको छ, त्यो हामी सबैको सामूहिक चिन्ता हुनुपर्छ,’ केसीले भने, ‘तदनुसार व्यापक एकता र विधिसंगत ढङ्गले पार्टी सञ्चालन गर्ने प्रक्रियामा सभापतिज्यूलाई पूर्ण सहयोग हुने विश्वास दिलाउन चाहन्छु।’ 

प्रकाशित: १९ असार २०८२ १५:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App