राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक अहिले भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेको भन्दै छाडातन्त्र रोक्नको लागि अभिभावकको रूपमा राजसंस्था जरुरी भएको बताएका छन्।
पार्टीको नीति तथा अनुसन्धान विभागद्वारा काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै थापाले देशमा संस्थागत भ्रष्टाचार डरलाग्दो रूपमा बढेको दाबी गरे। उनले मुलुक अभिभावकविहीन भएको चर्चा गर्दै यसैका कारण विदेशी हस्तक्षेप तथा चलखेल बढेको पनि बताए।
अहिले कसैको डरभर नभएकाले राष्ट्रद्रोही कामहरू समेत गर्न पछि नपरेको अवस्था देखिएको उनको धारणा थियो। धर्म निरपेक्षताको आडमा धर्मान्तरणको डढेलो सल्किएकोमा थापाले चिन्ता प्रकट गरे।
यी सबैका कारण आफूहरूले राजसंस्थाको आवश्यकता महसुस गरेको उनको स्पष्टोक्ति थियो। उनले भने, ‘राष्ट्रिय एकता, अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रताको संरक्षणको लागि राजसंस्था हामीहरूको आस्था र विश्वाससहितको वैचारिक अवधारणा हो।’
प्रकाशित: १९ असार २०८२ ११:०६ बिहीबार





