नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउँदै आक्रोश पोखेका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै कोइरालाले महाधिवेशनको सुनिश्चितता, अस्पष्ट गठबन्धन नीति, अनुशासन समितिको मनपरी र भातृ संस्थाको अलपत्र अवस्थाबारे एकपछि अर्को प्रश्न गर्दै सभापति र पदाधिकारीबाट चित्तबुझ्दो जवाफ माग गरेका हुन्।
उनले १४ औं महाधिवेशनपछि आफूले देखाएको संयमता र एकताको प्रयासलाई नेतृत्वले कमजोरीको रूपमा लिएको भन्दै अब चुप नलाग्ने संकेत दिएका छन्।
कोइरालाले पार्टीको १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने अडान दोहोर्याए। ‘म अहिले पनि दृढ छु, २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्छ,’ उनले भने, ‘यदि हुन सक्दैन भने के कारणले र किन हुन सक्दैन, सभापतिज्यू र पदाधिकारीले चित्त बुझ्दो जवाफ दिनुपर्यो।’
नेता कोइरालाले गठबन्धन निर्माण र विघटनमा पार्टीले स्पष्ट नीति लिन नसकेको भन्दै नेतृत्वलाई प्रश्न गरे। ‘२०७९ मा माओवादीसँग गठबन्धन गर्यौँ, अहिले एमालेसँग सरकारमा छौं। के कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ?’ उनले थपे, ‘संविधान संशोधनका लागि यो गठबन्धन हो भने सात बुँदे सहमतिमा भएको त्यो बुँदा कहाँ पुग्यो ? सभापतिज्यूले यसको चित्त बुझ्ने जवाफ दिनुपर्छ।’
कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ र दलित संघ पूर्ण रूपमा निष्क्रिय र विवादित बनेको बताए। ‘नेविसंघ र तरुण दलका ठुला समितिले अधिवेशन गर्न सक्दैनन्, पार्टीले जिम्मा लेओस्,’ उनले भने, ‘महिला संघको सदस्यता नवीकरण नभई अधिवेशन असम्भव छ। दलित संघका ४२ जिल्ला समिति विघटन गर्ने अधिकार अध्यक्षलाई कसले दियो ?’
उनले इलाममा महिला संघको कार्यक्रममा पुरुषले महिलामाथि हातपात गरेको घटनाप्रति सभापतिको ध्यानाकर्षण गराए।
डा. कोइरालाले आफू भागबन्डाको राजनीतिबाट टाढा रहेर पार्टी एकताको पक्षमा उभिँदा त्यसलाई कमजोरीको रूपमा व्याख्या गरिएकोमा दुःख व्यक्त गरे।
‘मैले आज बाध्य भएर भनिरहेको छु। पार्टीमा एकता होस्, गुटबन्दी र भागबन्डाले कांग्रेस कमजोर नबनोस् भनेर चुप बसेँ,’ उनले भने, ‘मेरो त्यही सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।’
प्रकाशित: १६ असार २०८२ १८:४४ सोमबार





